काठमाडौं—नेपाल मेडिकल काउन्सिल पूर्व सचिव भीम उपाध्याय विरुद्ध साइबर ब्यूरो जाने भएको छ । काउन्सिल स्रोतकाअनुसार उपाध्यायले फेसबुकमार्फत काउन्सिल विरुद्ध निरन्तर भ्रामक प्रचार गरेर मानहानी गरेको भन्दैं काउन्सिल साइबर ब्यूरो जान लागेको हो ।
काउन्सिलका कार्यबाहक अध्यक्ष डा. कुन्जाङ शेर्पाले नेपाल मेडिकल काउन्सिलजस्तो प्रतिष्ठित संस्था र यसका पदाधिकारीविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने विरुद्ध आफूहरुले कानुनी उपचार खोज्न लागेको जानकारी दिए । ‘यस्तो प्रतिष्ठित संस्था र यसका पदाधिकारी विरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने विरुद्ध हामी कानुनी उपचार खोज्दैंछौं,’ डा. शेर्पाले भने ।
काउन्सिलका एक सदस्य डा. सम्राट पराजुलीले पूर्व सचिवजस्तो व्यक्तिले सामाजिक सञ्जालमार्फत भ्रमको खेती गरेको बताउँदैं देशको कानुन सबैले मान्नुपर्ने बताए । ‘देशको कानुन सबैले मान्नुपर्छ, काउन्सिलले आफ्ना काम कारवाही कानुनभित्र रहेर तथ्य र प्रमाणका आधारमा अगाडि बढाएको हो,’ उनले भने, ‘देशको पूर्व सचिवजस्तो मान्छेले फेसबुकमार्फत मानहानी गर्ने र भ्रम फैलाएर कानुन मिच्ने काम त गर्नुभएन नि ।’ उनले काउन्सिलको गरिमालाई बचाउन पनि आफूहरुले कानुनी उपचार खोज्न लागेको बताए ।
डा. चेतना पौडेललाई नेपाल मेडिकल काउन्सिलको प्रतिवेदन आधारमा ९ असारमा प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो । उनी पक्राउ परेयता पूर्व सचिव उपाध्यायले आफ्नो फेसबुकमार्फत काउन्सिल र त्यसका पदाधिकारी विरुद्ध निरन्तर स्टाटस लेख्दैं आएका छन् । ‘नेपालका दास मनस्थितीका कमाउधन्दामा एलोपेथिक विधाका अल्लारे डाक्टरहरुको नेतृत्वको मेडिकल काउन्सिल नामको प्रतिगमनकारी संस्था, टाउकोमा लाउने तेल छैन, कुन्नि केलाई जाइफल भनेझै गर्छ,’ उनले मंगलबार लेखेको स्टाटसमा छ, ‘जनतालाई सेवाभावले होइन्, शोषण गर्नमा तल्लीन देखिन्छन्, यिनीहरुको सेवाबाट कोही जनता सन्तुष्ट पनि देखिदैंन् । निरन्तर अलोकप्रिय हुँदैंछन् । स्वास्थ्य मन्त्रालयलाई निकम्मा, निरिह र दुहुनो गाई बनाउँदैं लगियो ।’
यसैगरी अर्को स्टाटसमा उपाध्यायले नेपाल मेडिकल काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेको फोटो नै राखेर लेखेका छन् । ‘प्रतिष्ठित विश्वविद्यालय एण्ड योग चिकित्साका स्नातक शिक्षा प्राप्त र त्रिविबाट समकक्षता प्राप्त डा. चेतना पौडेललाई नक्कली डाक्टर भन्दैं आरोप लगाई प्रहरीमा जाहेरी दिने र ७ दिन हिरासतमा राख्ने प्रपञ्च गर्ने नेपाल मेडिकल काउन्सिलका निर्वाचित सदस्य नेता डा. दीपेन्द्र पाण्डे,’ उनले लेखेका छन् ।


