२०८३ असार १७, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपूर्व सचिव भीम उपाध्याय विरुद्ध नेपाल मेडिकल काउन्सिलद्वारा साइबर ब्यूरोमा उजुरी

पूर्व सचिव भीम उपाध्याय विरुद्ध नेपाल मेडिकल काउन्सिलद्वारा साइबर ब्यूरोमा उजुरी


काठमाडौं—नेपाल मेडिकल काउन्सिलले पूर्व सचिव भीम उपाध्याय विरुद्ध साइबर ब्यूरोमा उजुरी दिएको छ । बुधबार काउन्सिलले उपाध्यायले फेसबुकमार्फत काउन्सिल विरुद्ध निरन्तर भ्रामक प्रचार गरेर मानहानी गरेको भन्दैं साइबर ब्यूरो उजुरी दिएको हो ।

काउन्सिलका कार्यबाहक अध्यक्ष डा. कुन्जाङ शेर्पाले नेपाल मेडिकल काउन्सिलजस्तो प्रतिष्ठित संस्था र यसका पदाधिकारीविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेखेका कारण उपाध्याय विरुद्ध आफूहरुले कानुनी उपचार खोज्न साइबर ब्यूरो गएको बताए । ‘प्रतिष्ठित संस्थालाई त्यसरी बदनाम गर्ने छुट कसैलाई छैन,’ डा. शेर्पाले भने ।

काउन्सिलको उजुरीमा निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डे र काउन्सिलका पदाधिकारी तथा सदस्यहरुका बारेमा उपाध्यायले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ विपरितको कार्य गरी जथाभावी लेख्ने र घृणा फैलाउने काम गरेको उल्लेख छ । यस्तै, उनले ‘भीम प्रसाद उपाध्याय’ नामको भेरिफाइड फेसबुकबाट काउन्सिलका रजिष्ट्रारको तस्विर अनधिकृत रुपमा प्रयोग गरी भ्रामक, कपोलकल्पित पोष्ट गरेर पेशागत मर्यादा, व्यक्तिगत चरित्र र पदको गरिमामा गम्भीर आँच पुग्ने गरी नक्कली डाक्टर भन्दैं झुटो, भ्रामक र चरित्रहत्या गर्ने उद्देश्य दूािष्त नियत राखी गालीगलौज र साइबर बुलिङ गरेको उल्लेख छ ।

‘काउन्सिलको संस्थागत नियमनकारी कामलाई व्यक्तिगत रिसइबीमा चित्रण गर्दै सामाजिक सामाजिक सञ्जालको दुरुपयोग गरी आम नागरिकमाझ संस्थाप्रति भ्रम फैलाउने र हतोत्साहित गर्ने मनसायले निजले उक्त कार्य गरेको देखिएको हुँदा यस्ता अत्यन्त अमर्यादित कार्य, हैरानी, अपमान गर्ने सामाजिक सञ्जाल फेसबुकको अनलाइनमार्फत सामाजिक असुरक्षा पैदा गर्ने निजको फेसबुक प्रोफाइल भीम प्रसाद उपाध्यायका सञ्चालक विरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ तथा प्रचलित कानुन बमोजिम निजलाई तत्काल आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाउन हुन अनुरोध गरिन्छ,’ काउन्सिलको उजुरीमा छ ।

डा. चेतना पौडेललाई नेपाल मेडिकल काउन्सिलको प्रतिवेदन आधारमा ९ असारमा प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो । उनी पक्राउ परेयता पूर्व सचिव उपाध्यायले आफ्नो फेसबुकमार्फत काउन्सिल र त्यसका पदाधिकारी विरुद्ध निरन्तर स्टाटस लेख्दैं आएका छन् । ‘नेपालका दास मनस्थितीका कमाउधन्दामा एलोपेथिक विधाका अल्लारे डाक्टरहरुको नेतृत्वको मेडिकल काउन्सिल नामको प्रतिगमनकारी संस्था, टाउकोमा लाउने तेल छैन, कुन्नि केलाई जाइफल भनेझै गर्छ,’ उनले मंगलबार लेखेको स्टाटसमा छ, ‘जनतालाई सेवाभावले होइन्, शोषण गर्नमा तल्लीन देखिन्छन्, यिनीहरुको सेवाबाट कोही जनता सन्तुष्ट पनि देखिदैंन् । निरन्तर अलोकप्रिय हुँदैंछन् । स्वास्थ्य मन्त्रालयलाई निकम्मा, निरिह र दुहुनो गाई बनाउँदैं लगियो ।’

यसैगरी, अर्को स्टाटसमा उपाध्यायले नेपाल मेडिकल काउन्सिलका निमित्त रजिष्ट्रार डा। दिपेन्द्र पाण्डेको फोटो नै राखेर लेखेका छन् । ‘प्रतिष्ठित विश्वविद्यालय एण्ड योग चिकित्साका स्नातक शिक्षा प्राप्त र त्रिविबाट समकक्षता प्राप्त डा। चेतना पौडेललाई नक्कली डाक्टर भन्दैं आरोप लगाई प्रहरीमा जाहेरी दिने र ७ दिन हिरासतमा राख्ने प्रपञ्च गर्ने नेपाल मेडिकल काउन्सिलका निर्वाचित सदस्य नेता डा. दीपेन्द्र पाण्डे,’ उनले लेखेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ