काठमाडौं—स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । शुक्रबार विहान स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुलाई मन्त्रालयमा पद तथा गोपनीयताको सपथ गराएकी हुन् ।
बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा प्रा.डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. नवीसमान सिंह प्रधान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. स्मृति कार्की र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति डा. नारायणसिंह गुरुङलाई नियुक्त गरेका थिए । यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति डा. सूर्यमान म्याहाङम्बो तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. अजयकुमार मिश्र नियुक्त भएका छन् ।
नवनियुक्त सबै उपकुपतिहरुलाई स्वास्थ्यमन्त्री मेहताले पद तथा गोपनीयताको सपथ गराएकी हुन् ।
सरकारले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम गठित छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा नयाँ उपकुलपतिहरू नियुक्त गरेको हो ।