काठमाडौं—गरिब, विपन्न तथा सीमान्तकृत बालबालिकाको गुणस्तरीय मुटु रोग उपचारका लागि शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रलाई एभरेष्ट बैंकले ५० लाख रुपैयाँ सहायता उपलब्ध गराउने भएको छ ।
शुक्रबार शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रका निमित्त कार्यकारी निर्देशक डा. रविन्द्र भक्त तिमला र एभरेष्ट बैंकका सहायक महाप्रबन्धक विष्णुप्रसाद ज्ञवालीले उपचार खर्च जुटाउनै नसक्ने अवस्थाका विपन्न र गरिब बालबालिकाको मुटु उपचारमा खर्च गर्ने गरी ५० लाख रुपैयाँ रकम अस्पताललाई उपलब्ध गराउने सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
उक्त रकम अस्पतालले पेडियाट्रिक कार्डियोलोजिष्ट डा. शिल्पा अर्याल संयोजक रहेको ‘होपिङ इन इभ्री हर्ट बिट’ च्यारिटी कार्यक्रममार्फत उपचार रकम जुटाउनै नसक्ने आर्थिक रुपमा कमजोर र विपन्न बालबालिकाको मुटुको उपचारका लागि खर्च गर्नेछ ।
‘सरकारले बालबालिकाको मुटुको उपचारका लागि उपलब्ध गराएको रकम पनि कहिलेकाहीँ महंगो उपचार भएको खण्डमा पर्याप्त हुँदैन्,’ उक्त च्यारिटी कार्यक्रमकी इनिसियटर समेत रहेकी डा. अर्यालले भनिन्, ‘सरकारको सहायताबाट उपचार खर्च नपुगेर उपचार नै गर्न नसक्ने विपन्न र गरिब बालबालिकाको मुटुको उपचारका लागि हामी यो रकम खर्च गर्नेछौं ।’
डा. अर्यालकाअनुसार एभरेष्ट बैंकको यो सहयोगले उपचार गर्नै नसक्ने बालबालिकाको मुटुको उपचारमा पहुँच विस्तार गर्न र आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थालाई न्यूनीकरण गर्न सहयोग पुग्नेछ ।
एभरेष्ट बैंककी डेपुटी म्यानेजर अन्जु पौडेलले उपचार गर्न नसक्ने गरिब तथा विपन्न बालबालिकाको मुटुको उपचारका लागि बैंकले आफ्नो सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत उक्त सहयोग उपलब्ध गराएको जानकारी दिइन् ।
‘हामीले गंगालाल अस्पतालसँगको समन्वयमा मुटुको उपचार गर्न नसक्ने गरिब तथा विपन्न वर्गका बालबालिकाको मुटु उपचारका लागि सीएसआरअन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएका हौं,’ पौडेलले भनिन्, ‘गंगालालले उपचार खर्च जुटाउनै नसक्ने भनेर पहिचान गरेका बालबालिकाको उक्त सहयोग रकममार्फत उपचार हुनेछ ।’
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले एभरेस्ट बैंकप्रति यस महत्वपूर्ण सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वमूलक सहकार्यले थप निरन्तरता पाउने अपेक्षा गरेको छ ।
यसअघि यो च्यारिटी कार्यक्रमलाई ग्लोबल आईएमई बैंकले पनि ४ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग गरिसकेको डा. अर्यालले जानकारी दिइन् ।