२०८३ असार २८, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं क्यान्सर सेन्टरले नेपालमै पहिलोपटक सञ्चालनमा ल्यायो कार-टी सेल थेरापी सेवा

काठमाडौं क्यान्सर सेन्टरले नेपालमै पहिलोपटक सञ्चालनमा ल्यायो कार-टी सेल थेरापी सेवा

केही समयमै बोनम्यारो ट्रान्सप्लान्ट सेवा सुरु गर्ने घोषणा


काठमाडौं—काठमाडौं क्यान्सर सेन्टरले बोनम्यारो ट्रान्सप्लान्ट र कार–टी सेल थेरापी सेवा सुरु गरेको छ । शनिबार काठमाडौंमा आोजित पत्रकार सम्मेलनमा सेन्टरले नेपालमै अन्तर्राष्ट्रियस्तरको क्यान्सर उपचार सेवा विस्तार गर्दै अत्याधुनिक प्रविधिमा आधारित नयाँ सेवाहरू सञ्चालनमा ल्याएको जनाएको छ ।

पत्रकार सम्मेलनमा सेन्टरले नेपालमै पहिलोपटक कार–टी सेल थेरापी सेवा सुरु गर्ने तयारी पूरा भएको जानकारी दिएको छ । रक्तजन्य क्यान्सरका बिरामीका लागि प्रभावकारी मानिने यो सेवा भारत र जर्मनीका विशेषज्ञ संस्थासँगको सहकार्यमा सञ्चालन गरिने जनाइएको छ ।

यसैगरी, अस्पतालले बोनम्यारो ट्रान्सप्लान्टसेवा पनि सुरु गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । सेवा सञ्चालनपछि बोनम्यारो तथा रगतसम्बन्धी जटिल रोगका बिरामीले उपचारका लागि विदेश जानुपर्ने अवस्था उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ ।

रेडियोथेरापी सेवातर्फ पनि सेन्टरले अत्याधुनिक लिनियर एक्सेलेरेटर स्टेरियोट्याक्टिक प्रविधि जडान गरेको जनाएको छ । यस प्रविधिबाट मस्तिष्क, फोक्सो, कलेजो, मुख तथा अन्य जटिल अङ्गका क्यान्सरको उच्च सटीकतासहित उपचार गर्न सकिने अस्पतालको दाबी छ । साथै स्वस्थ तन्तुलाई न्यून क्षति पु¥याउँदै प्रभावकारी विकिरण उपचार उपलब्ध गराउन सकिने बताइएको छ ।

अस्पतालले पेन तथा प्यालिएटिभ केयर सेवालाई थप सुदृढ बनाउन अन्तर्राष्ट्रिय सहकार्यमा नयाँ अनुसन्धान कार्यक्रमसमेत सुरु गरेको जानकारी दिएको छ । क्यान्सर उपचारसँगै अनुसन्धान, आधुनिक प्रविधि र विशेषज्ञ सेवाको विस्तारले नेपालमै गुणस्तरीय उपचार उपलब्ध गराउने दिशामा काठमाडौं क्यान्सर सेन्टरले महत्वपूर्ण फड्को मारेको अस्पतालको भनाइ छ ।

भक्तपुरको ताथलीमा वि.सं. २०७६ मा स्थापना भएको सेन्टरले नेपाली बिरामीलाई उपचारका लागि विदेश जानुपर्ने बाध्यता घटाउने उद्देश्यसहित बहुविषयगत क्यान्सर उपचार सेवा प्रदान गर्दै आएको जनाएको छ । अस्पतालमा रेडिएसन अंकोलोजी, मेडिकल अंकोलोजी, सर्जिकल अंकोलोजी, रेडियोलोजी तथा प्याथोलोजीका विशेषज्ञ सम्मिलित ट्युमर बोर्डमार्फत जटिल बिरामीको उपचार योजना तयार गरिने व्यवस्था रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ