२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना नियन्त्रणमा सरकारको अव्यवहारिकता

कोरोना नियन्त्रणमा सरकारको अव्यवहारिकता


यतिबेला विश्वमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र गतिमा बढिरहेको छ । चीनको वुहान सहरबाट सुरु भएको संक्रमणले चीनसँगै इटली, अमेरिका, ब्राजिललगायतका आर्थिक तथा भौतिक रुपमा समृद्घ देशहरुमा समेत ठूलो संख्यामा मासिनको ज्यान लिइसकेको छ ।

दक्षिणी छिमेकी देश भारतमा दिनहुँ संक्रमण बढ्दो क्रममा छ । धेरैले ज्यान समेत गुमाइसकेका छन् । यस्तो अवस्थामा भौगोलिक विकटता, स्रोत साधनको कमी र राजनीतिक खिचातानी भैरहने नेपालमा समेत कोरोनाको संक्रमण तीव्र गतिमा बढिरहेको छ । संक्रमणकै कारण मृत्यु हुनेको संख्या दैनिक रुपमा बढिरहेको छ ।

खुला सीमाना, सरकारले कोरोना नियन्त्रणमा लागि भनेर ल्याएका अव्यवहारिक नीति, देखावटीपन र सरकार तथा तथा राजनीतिक दलहरू कोरोना संक्रमण नियन्त्रणभन्दा पनि सत्ता केन्द्रित भइदिदा संक्रमणको दर बढ्दो क्रममा रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा हाल कोरोना संक्रमितको संङ्ख्या २३ हजार नाघिसकेको अवस्था छ भने मृत्यु हुनेको संख्या ७५ पुगिसकेको छ ।

नेपालमा दोस्रो व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएलगत्तै सरकारले लकडाउनको घोषणा गरेको थियो । अहिले संक्रमितको संख्या २३ हजार नाघिसक्दा भने अब के गर्ने भन्नेमा ठोस नीति बनाउन सकेको छैन । नेपालजस्तो हुँदा खाने र हुने खाने वर्ग भएको देशमा शिक्षा, यातायात, सञ्चारलगायतमा आम मानिसको राम्रो पहुँच छैन् । भौगोलिक विकटता, भाषिक विविधता भएको राष्ट्रका लागि सोहीअनुरुपको नीति तथा कार्यक्रम बनाएर त्यसलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने कुरामा सरोकारवाला निकाय तथा सरकार मौन छ ।

एकातिर नागरिकमा कोरोनाको संक्रमण र सन्त्रास बढ्दै गइरहेको छ । अर्कोतर्फ, कोरोना संक्रमण भएको हो कि होइन भन्ने थाहा पाउन पनि आम मानिसहरुलाई सहज छैन् । सामान्य रुघाखोकी लाग्दा, ज्वरो आउँदा पनि मानिसहरुमा कारोना पो हो कि ? अब के गर्ने ? अन्य परिवारका सदस्यहरूमा पनि सर्ने हो कि ? पिसिआर टेष्ट गराउन कहाँँ जाने ? कुन अस्पतालले गराउँछ ? महंगो मुल्य ? लगायतका कुराले शिक्षित जान्ने बुझ्ने भनिएका सहरमा बसोबास गर्ने मानिसहरूलाई नै पिरोलेको पाइन्छ । जाँच नगराउँदा मनमा डरैडर गराउन जाने चाहना हुँदा यस्ता कुराहरुको अन्योलता छ । शिक्षा तथा चेतना नभएका, ग्रामीण तथा दुर्गम भेगमा बसोबास गर्ने, बिहान कमाएर बेलुकाको छाक टार्ने वर्गका मानिसहरुको अवस्था के होला ? सहजै अनुमान लगाउन सकिन्छ ।

नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि स्पष्ट नीति बनाएर त्यसलाई कार्यान्वयन नगरिएसम्म कोरोना संक्रमण नियन्त्रण गर्न असम्भव प्रायः देखिन्छ । मुलुकमा भएको संघीय व्यवस्थाले त झनै सहज र सरल पहुँच सर्वसाधारणलाई हुनुपर्ने हो । तर, त्यस्तो भइरहेको पाइदैन् । यदि सरकारले कोरोना संक्रमणको दरलाई घटाउँदै ठूलो धनजनको क्षति हुनबाट मुलुकलाई जोगाउने हो भने पिसिआर परीक्षणमा जनताको पहुँच सहज बनाउनुपर्दछ ।

कोही कसैले पनि पिसिआर परीक्षण गराउन चाहेमा तुरुन्तै नजिकैको अस्पताल वा स्वास्थ्य संस्थामा गएर निःशुल्क वा न्यून शुल्कमा जुनसुकै समयमा पनि गराउन सक्ने व्यवस्था गर्नुपर्छ । पिसिआर परीक्षण कहाँ–कहाँ हुन्छ भन्ने कुराको स्पष्ट जानकारी विभिन्न सञ्चारमाध्यमहरूमार्फत सर्वसाधारणलाई गराउनुपर्दछ । संक्रमण भएमा के–कस्ता लक्षण देखिन्छन् ? संक्रमण भइहालेमा के गर्ने, कहाँ जाने ? अरुलाई संक्रमण सर्न नदिन के–कस्ता सावधानीहरू अपनाउने भन्नेजस्ता कुराहरू जनताले बुझ्ने गरी जानकारी दिनुपर्दछ ।

त्यसको पालना नगर्नेहरुलाई कडाइका साथ नियन्त्रण गर्नुपर्दछ । संक्रमण रोकथामका लागि प्रयोग गरिने सामाग्रीहरु जस्तैः मास्क, स्यानिटाइजर, पञ्जाको सहज पहँुच हुनुपर्दछ भने यस्ता सामाग्रीहरू सरकारले निःशुल्क वितरण वा अति न्युन शुल्कमा उपलब्ध गराउनुपर्छ । यस्ता सामाग्रीहरूमा कालोबजारी गर्नेलाई हदैसम्मको कारबाही गरिनुपर्छ ।

राजधानी काठमाडौंलगायत भक्तपर र ललितपुरमा पनि संक्रमणको दर बढिरहेको छ । तर, बिडम्बना के छ भने स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्ने तथ्याकंमा काठमाडौंमा यति, भक्तपुरमा यति, ललितपुरमा यति भनेर संख्या मात्र तोक्ने गरेको पाइन्छ । काठमाडौंको कुन ठाउँ, भक्तपुर तथा ललितपुरको कुन–कुन ठाउँमा ?

संक्रमण देखिएको हो भनेर स्पष्ट उल्लेख नगरिदिँदा यसले एकातिर जिल्लावासीहरूमा सन्त्रास, भय, अन्यौलता छाएको छ भने संक्रमित भेटिएका ठाउँका मानिसहरूमा अनविज्ञताका कारण संक्रमितसँगको भेटघाट र सम्पर्कमा रहनाले संक्रमणको जोखिम उच्च छ ।

नेपालमा तीब्र रुपमा फैलिरहेको कोरोना संक्रमणको दरलाई बेलैमा व्यवहारिक तरिकाबाट नियन्त्रण गर्न पहल गरिएन भने ठूलो जनधनको क्षति राष्ट्रले ब्यहोर्नुपर्ने कुरा निश्चितप्रायः छ । कोरोना संक्रमण दर बढ्न नदिन रोकथामका उपायहरू अपनाउँदै संक्रमितहरूको उपचार तथा व्यवस्थापनमा ध्यान दिनुका साथै विज्ञहरुसँग परामर्श लिएर सोहीअनुसारले नीति तथा कार्यक्रमहरू ल्याउनुपर्छ ।

नेपालमा रहेका सरकारी तथा निजी अस्पतालहरू, विभिन्न एनजिओ÷आईएनजिओका साथै अन्य संघसंस्थाहरूकोे समेत सहयोगमा सरकार राजनीतिक दलहरू र सरोकारवाला एक ठाउँमा उभिएर नियन्त्रणमा जुट्नुपर्दछ । यतिबेला राजनीति दलका नेताहरुले देखाइरहेको सत्तामोहमा सबैभन्दा गलत काम हो । विशुद्घ कोरोना संक्रमण नियन्त्रण नीति ल्याएर त्यसलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्दछ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ