२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यनर्स र चिया चुस्कीको कुरा

नर्स र चिया चुस्कीको कुरा


नयाँ वर्ष वि.सं. २०७८ आगमन र वि.सं. २०७७ कोरोना महामारी साथै सम्पूर्ण क्षेत्र शिक्षा, पर्यटन, औद्योगिक, कृषि, यातायात आदि साथै स्वास्थ्यको कमजोर व्यवस्थापनको कारणले बेहाल भएको तीतो सम्झना बिर्सन भएपनि यो लेख लेख्दैंछु ।

समयको वेग भनौं या कोरोनाले आंतक मच्चाएको बेला नर्सिङ फ्याकल्टी तलबबिहिन हुन पुग्दा मनमा अस्थिरता सिर्जना हुनु स्वभाविकै हो ।
एक बिहानै पदीय दायित्व र उच्च अध्ययनले सज्जित घरानाको बुहारी, सम्पूर्ण नर्सहरुको आशाको केन्द्रविन्दुको मुखबाट कति बजे ड्युटी आउने ? कति बजे चिया खान चमेनाघर जाने ? हामी सबै नर्सिङ फ्याकल्टी त्यसको रुटिन बनाऔं भनिँदा आश्चर्य चकित हुन पुग्नु स्वाभाविक नै होला । त्यसो भन्दै गर्दा कोही बुज्रुक आफूलाई सर्वज्ञाता ठान्ने एक्कासी बाहिरिएको अवस्था पनि देखियो ।

नर्सिङ शिक्षकहरु जो भाडामा प्रति महिना १२ देखि १५ हजार तिरेर एक परिश्रमी, विवेकशील स्वालम्वी नागरिक कलेज र अस्पतालको शान बढाउने काम निरन्तर दिन र रात नभनी गरिरहेका छन् । त्यही नर्सिङ शिक्षकहरुलाई कोरोना महामारीको बहानामा नन क्लिनिकल सरह तलब बिहिन बनाउँदा त्यही रूप, त्यही चाल, त्यही सौन्दर्य भएकी शिक्षक रूपको त्यही नर्स किन चु पनि बोल्दैनन् ?

त्यस्तै, आफ्नो घरपरिवार साथ बस्ने अति सम्पन्न परिपूर्ण परिवारको सदस्य साथै एक पेशाले नर्स भएर पनि चासो देखाउँदैनन् किन ?
मैले भनी सके भनेर आफू पानी माथिको ओभानो बन्ने गर्दछ ।

यदि बोली हाले यानेकी कुरो राखी हाले भने आकाश झर्ने वा पृथ्वी भासिने जस्तो डर किन पाल्दछन् ?
के चेतनाका सम्पूर्ण द्धारहरु अति नै स्वार्थले भरिभराउ भएकाले बन्द भएको हो कि क्या हो ?
त्यसैले सोध्ने गर्दछ अचेतन मनले,
धर्म के हो ?
मानवीय चेतना के हो ?
मानवीय चेतनाबिहिन हुनेहरू के मानव वा एक पेशाकर्मी नर्स हुन सुहाउँछ ?
किन नर्सिङ शिक्षकहरुले नपाएको तलब पाएनौं भन्न आँट गर्न सक्दैनन् ?
किन, आफ्नो स्वाभिमान अपवित्र पैतालाले बेइज्जत हुन्जेल पनि बोल्न हिम्मत जुटाउन सक्दैनन् ?
जति घरपरिवार, सहकर्मी—साथीहरू, अन्य हितैषी मित्र बन्धुले सम्झाउँदा पनि यो समय—समयमा स्वतस्फूर्त आइरहन्छ मानसपटलमा । छटपटी गराइरहन्छ । त्यसैले यो लेख्ने जमर्को गर्दैछु ।

जिल्ला प्रशासन कार्यालयमा लिखित निवेदन दिँदा होस् वा नेपाल नर्सिङ परिषद्मा । स्वास्थ्य मन्त्रालयमा होस वा चिकित्सा शिक्षा सेवा आयोगमा । मेडिकल काउनसिलमा होस् वा उच्च शिक्षास्तर निर्धारण आयोगमा । त्रिभुवन विश्वविद्यालय महाराजगन्ज डीनको कार्यालयमा होस वा अख्तियार दुरुपयोग अनुसन्धान विभागमा होस्, जहाँ निवेदन दिएपनि यसको जरूर सुनुवाई हुन्छ ।

तर, त्यो निवेदन दिँदा अरु मानवीय विकृतिको पनि चलखेल हुन्छ । त्यस्तै, जुन थालमा खायो, त्यही थालमा दुलो बनाउने काम एक विवेकशील स्वाभिमानी नर्सलाई कदापी अन्तर हृदयले निर्देश गर्ने काम गर्दैन ।

यो सादगी जीवन, सहनशील व्यवहार र सकारात्मक सोच आदिलाई नर्सहरुको कमजोरीको रुपमा कसैले नलियोस् ।

गुण्डाहरु र सुलसुलेको भरमा कुनै पनि घर, समाज, संस्था र राज्य कदापी चल्दैन् । यदि चलाउँछु भन्ने कसैले सोच राखेको छ भने त्यो ठूलो कमजोरी हुनेछ । यसले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई ठूलो घात गर्नेछ ।

यो सोच एक बिहानै मिटिङमा निकालिएको चिया कुन समयमा खान गयो, आफ्नो आत्म साक्षी राखी भन्नुहोस् भन्ने शिलसिलामा निक्सिएकोले त्यसको सम्झनामा स्वतस्फूर्त लेख्न मनमा आएको हो ।

यसैको निरन्तरतामा प्रश्न उब्जिन्छ मनमा,
आमा को हो ?
आमाको किन ठूलो महिमा ?
आमालाई किन प्रकृतिको अति दुर्लभ मानव जीवनको उपजको रुपमा लिने गरिन्छ ?
के कुनै पनि व्यक्तिले आमामाथि व्यभिचार गर्न सक्दछ ?
के कुनै पनि व्यक्तिले नारीको यो अथाह शक्तिको श्रोतलाई अनादर गर्न सक्दछ र?

आज यही मानवीय समवेदना जो मातृत्व, मानवीय दया, माया, सहनशील, सकारात्मक सोच, सिर्जनात्मक व्यवस्थापन, चिकित्सा विज्ञान, सामाजिक शिक्षा, अनुसन्धान, आदि सबैको समिश्रणको साथ अति नै उच्च विज्ञान र प्रविधिको संयुक्त मिश्रण गराई नर्सिङ पढाउने गरिन्छ । तर, त्यसैलाई ओझेलमा पार्ने गरिएको वर्तमान आफूलाई सफल सक्षम उद्यमी भन्ने व्यवसाय, व्यवस्थापकहरुमा छाएको आभास गरेको छौं ।
व्यक्तिको वाक स्वतन्त्रता, व्यक्तिको सूचना प्राप्त गर्ने मौलिक अधिकार, के सही के गलत छुट्याउने मौलिक अधिकार हनन गर्न जो कसैलाई यहाँ सम्म कि एक नर्सिङ शिक्षकलाई छुट छ र ?

तलब नदिएको बेलामा आफ्नो मातहतका कर्मचारीको मलिन मुहार देखेर पनि नदेखेको जस्तो गरी नाटक मञ्चन गर्न सक्ने, कति कुरो सुनेर पनि नसुनेको जस्तो बहिरो बन्न सक्ने, अनि भावविहिन जिउँदो लाशझै चेतनाविहिन हुने । तर, चिया खान किन एक बिहान गयौ भन्ने कुरो कसरी बैठकमा छलफलको विषय बनाउन आँट गर्न सकेको हो ?

मानवीय सेवामा समर्पित यो नर्सिङ पेशाले के सही के गलत छुट्याउन नसक्दा त्यस्तालाई नर्स हो भन्ने अधिकार पनि छ भन्ने छुट होला भनेर अन्तर्राष्ट्रिय नर्सिङ परिषदको मूल्य र मान्यताले स्वीकार्दैन भन्ने लाग्दछ ।

यो यसकारण उल्लेख गर्न परेको छ कि एउटा छोरीलाई नर्स बनाउन धेरै नै पढाउनु पर्दछ । त्यही छोरीलाई जागिर खाने क्रममा आत्मनिर्भर हुन, आत्मसम्मान उच्च राख्न धेरै नै कुरो सिक्नु पर्दछ । त्यही छोरी राम्रो घरमा विवाह गरेर दुई सन्तानकी आमा पनि भएकी हुन्छिन् । साथै नर्सिङमा स्नातकोत्तर र विधावरिधी गरेर अध्यापन गराएको हुन्छिन् ।

कति बहु—आयामिक भूमिका निभाउन सफल भएकी छन्, यसरी जेजस्ता आएका उल्झनहरु दैनिक रुपमा सामना गर्दै आइरहेको छन् । त्यो स्पष्ट रुपमा अति नजिकबाट नियाल्दै सबैले आएको छ । अझ स्वमं म आफै नर्सिङ सङ्घको केन्द्रीय सदस्यदेखि वरिष्ठ उपाध्यक्षको भूमिका निभाउने क्रममा देश—विदेश सबैतिरका नर्सहरुको समस्या सुन्दै आउने क्रममा, त्यस्तै कैयौ समस्या समाधान गर्ने क्रममा अनुभूति गरिएका कुराहरूले धेरै नै पाठ पढाएको छ । तर, विडम्बना यस्तो कुरो आफै प्रत्यक्षदर्शी भएर सुन्ने दिन पनि आयो ।

केही फटाहाहरु छन्, जो आफूलाई संसारको मालिक सम्झने गर्दछन् । अरु एक बिहानै चिया नपियोस् । बन्धुवा मजदुर जस्तै हस हजूर, हुन्छ हजुर, दर्शन, ढोग गरे नर्सिङ फ्याकल्टीहरुले भनोस् भन्ने चाहन्छन् । त्यस्तै, आफूहरु होस् वा अन्य विज्ञ हुन उनीहरूको हकमा यो लागू हुँदैन । यसबाट स्पष्ट हुन आउँदछ उनीहरू कस्तो हैसियतका हुन भन्ने चुरो कुरो यहाँ उल्लेख सबै गर्न वा सत्यतथ्य राखेर छताछुल्ल गर्न नमिल्ला । व्यक्तिको आफ्नो इज्जतको कुरा आउनेछ । आगामी दिनमा यस्ताहरुले यो कुरा उल्लेख गर्ने नगरुन् भन्ने हेतुले लेख्दै पनि छु ।

बिरामी ओछ्यानमा बाँच्न संघर्ष गर्दैछ । चिकित्सक, नर्स, प्रशासन, पारामेडिक आफ्नो बलबुत्ताले भ्याएसम्म हर कोसिस बिमारी बचाउन प्रयास गर्दैछ । तर, यो माझ केही फटाहा, गुण्डाहरुले लुट मच्चाउने ध्येयले अनर्गल प्रचार चिकित्सक, अस्पताल विरुद्ध गरिरहेको छ । डर, धम्की दिइरहेको छ । अस्पतालका झ्याल ढोका फोडी रहेको छ । तर, त्यही समूहका केही सुलसुले विडम्बना व्यवस्थापनले पालिएका एकदम नजिकका कारिन्दा चियापान गरिरहेका छन् । उनीहरुमध्ये केही व्यक्ति हुन्, जसले नर्सले एक बिहानै चिया पिउने गर्दछन् भनेर कुरा लगाएको छ । कस्तो दोहोरो भूमिका । साथै त्यो सुलसुलेको कुरो सुनेर बैठकमा छलफलको विषय बनाउने नर्स पो कस्तो ? दुःख यस्तै कारणले लाग्दछ । कतिसम्म एक नर्स अर्को नर्सको खेदो खन्न प्रयोजन हुने हो ?

त्यस व्यक्ति यानी सुलसुलेको हैसियत के हो ? त्यसको त्यो कुरो लगाउने, गलत सल्लाह दिने भूमिका कसरी र कहाँबाट ठडियो ?
यदि चिकित्सक र नर्सहरुले अथक प्रयास नगरेको भए त्यसले काम गर्ने वातावरण पाउँथ्यो र ? जटिल प्रश्न यही नै छ । हिजो त्यसको हैसियत के थियो । आज के हुने थियो यदि चिकित्सक, नर्स, पारामेडिक्स आदिहरुले आफ्नो पौरख इमान्दारीपूर्वक न निभाएको भए ?

अब पनि नर्सिङ संघ चुप लागेर बस्न मिल्दैन् । नर्सिङ शिक्षकहरु चुप लागेर सहनशील बन्न सुहाउँदैन् । परेको बेला चट्टानझैं अडान लिएर सरोकारवालाहरुसँग छलफल चलाउनु पर्दछ ।

यो वि.सं. २०७७ साल विशेषतः नर्सहरुको लागि अति नै पीडादायी रह्यो । धेरै अस्पतालहरूले कोरोनाको बहानामा जागिरबाट निकाले । कतिले पारिश्रमिक दिएका छैनन् । कतिलाई लाग्दो हो खै किन मात्र पारिश्रमिकको कुरो मात्र किन बारम्बार गर्दछ ?

किनकी एक नर्स त्यो पनि पदीय हिसाबले सबै नर्सहरूबाट उहाँहरुको लागि काम गर्नेछु भनेर अभिमत लिएर आएको नर्स हो । यो कुरा टुंगोमा पुर्याउने उत्तर दायित्व वहन गरेको हुनाले त्यो गरी नै छाड्ने छु । देशभरिका नर्सहरुले नर्सकै पीडाबारे स्पष्ट भाषामा बोल्ने गर्दछ, यसबारे राज्यलाई कडा कदम चाल्न बाध्य पार्नेछ भन्ने विश्वास छ ।

त्यही अनुरुप नै चैत्रमा गृह मन्त्रालयले तीन महिना तलब नरोक्नू, खाईपाई आएको सेवा सुविधा उपलब्ध गराउनु भनी परिपत्र नै गर्यो । त्यस्तै, स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीहरुको तलब बैंकमार्फत भुक्तानी गर्नु भनेर परिपत्र जारी गर्यो ।

हामीलाई विश्वास छ इज्जत हुनेले अरूको पनि इज्जत गर्नेछ । असल आमाको सन्तानले जरूर यो कुरा बुझ्नेछन् ।

हामी चाहन्छौं, प्रत्येक स्वास्थ्य सेवामा समर्पित संघसंस्थाको प्रगति होस्, स्थायित्व प्राप्त गरुन, सुरक्षित महसुस गर्न सफल होऊन् । यसैको लागि दिन रात खटिने गरिएको छ ।

नयाँ वर्ष २०७८ को सम्पूर्ण पाठक वर्गमा हार्दिक मंगलमय शुभकामना ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ