२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यभेन्टिलेटरको अभाव भएपछि दाङ र पर्साबाट कोरोना संक्रमितलाई एयर लिफ्ट गरेर झापा लगियो

भेन्टिलेटरको अभाव भएपछि दाङ र पर्साबाट कोरोना संक्रमितलाई एयर लिफ्ट गरेर झापा लगियो


काठमाडौं-भेन्टिलेटरको अभाव भएपछि कोभिड-१९ का गम्भीर बिरामीलाई दाङ र पर्साबाट एयर लिफ्ट गरेर झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा लगिएको छ। भेन्टिलेटरसहित आईसीयुको अभाव भएपछि दाङ र पर्साका  संक्रमितलाई ‘एयर लिफ्ट’ गरी उपचारका लागि बिएण्डसी अस्पताल लगिएको हो।

काठमाडौंको एक निजी अस्पतालमा उपचाररत संक्रमित पनि बिएण्डसी लैजाने तयारी भइरहेको छ। उत्कृष्ट भौतिक पूर्वाधार, दक्ष स्वास्थ्यकर्मी तथा अन्तर्राष्ट्रिय गुणस्तर अस्पताल भएकाले गम्भीर बिरामीले उपचारका लागि बीएण्डसी रोजेको सञ्चालक दुर्गा प्रसाईले बताए । अस्पतालमा कोरोनाका जटिल बिरामीलाई थप उपचार गर्न अत्याधुनिक भेन्टिलेटरसहित आईसीयुको अलग्गै शैय्या व्यवस्थापन गरिएको उनले बताए ।

बिएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल ६५ भेन्टिलेटरसहित आइसीयु शैय्या छ। तीमध्ये २५ भेन्टिलेटरसहित आईसीयु शैय्या कोभिडका बिरामीलाई छुट्याएको र बिरामीको आवश्यकताअनुसार थप गर्दै जाने प्रसाईले बताए ।

अस्पतालका सूचना तथा जनसम्पर्क अधिकृत प्रमिश गिरीले दिएको जानकारीअनुसार दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत ९ दिनदेखि उपचाररत ४५ वर्षीय पेमा योगी र वीरगञ्जस्थित अली अस्पतालमा उपचाररत २९ वर्षीय हरि पौड्याललाई ‘एयर लिफ्ट’ गरी बिएण्डसी अस्पतालमा लगिएको हो। ती बिरामीका आफन्तले ती अस्पतालमा भेन्टिलेटरको अभाव भएपर्छि एयर लिफ्ट’ गरेका हुन्।

बीएण्डसीमै १५ र २० वैशाखमा काठमाडौंस्थित ह्याम्स र मनमोहन अस्पतालमा उपचारार्थ दुई संक्रमितलाई थप उपचारार्थ ‘एयर लिफ्ट’ गरिएको थियो । ती बिरामीका आफन्तले भेन्टिलेटर सहितको आईसीयु शैय्या नपाएपछि बिएण्डसी लगिएको थियो। अहिले ती दुवै बिरामीको स्वास्थ्यावस्था सन्तोषजनक रहेको चिकित्सकले जनाएका छन्।

भेन्टिलेटरसहित आईसीयुका लागि देशभरबाट बिएण्डसीमा सम्पर्क गर्ने क्रम बढिरहेको जनसम्पर्क अधिकृत गिरीले बताए । बीएण्डसीमा कोभिडका बिरामीलाई क्रिटिकल केयर र एनेस्थेसियाका वरिष्ठ चिकित्सक डा. राजु श्रेष्ठ, फिजिसियन चिकित्सकद्वय डा. लक्ष्मण ठाकुर र डा. करण पोखरेल लगायतले सेवा प्रदान गरिरहेका छन्।

पूर्वाञ्चल क्यान्सर अस्पताल र बिएण्डसी अस्पताल गरी कुल ९०० शैय्या छ। अस्पतालमा दैनिक १ हजार ३ सयभन्दा बढी बिरामीले अन्तरंग तथा बहिरंग सेवा लिन्छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ