२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यहैजा (कोलेरा) किन हुन्छ, कसरी बच्न सकिन्छ ?

हैजा (कोलेरा) किन हुन्छ, कसरी बच्न सकिन्छ ?


हैजा  एक संक्रामक रोग हो । यसलाई अंग्रेजीमा कोलेरा भनिन्छ । भिब्रियो कोलेरा नामको ब्याक्टेरियाको संक्रमणबाट मानिसलाई हैजा हुने गर्दछ । यो सामान्य डाइरिया नभएर विनासकारी खालको हुन्छ ।

यो रोग प्राय  वर्षाको समय र गर्मीयाममा बढी फैलिने गरेको छ । सरसफाइ र सफा पिउने पानीको अभावले यसको जोखिमलाई बढाउने गर्दछन् । दिसाको परीक्षण गरेर हैजाको पहिचान गर्न सकिन्छ ।

हैजा २०० वर्ष पहिला नै पत्ता लागेको रोग हो । अहिलेसम्म विश्वव्यापी रुपमा ७ पटक यसले महामारी ल्याइसकेको छ । नेपालको सन्दर्भमा हैजा समय–समयमा देशको विभिन्न भू–भागमा देखिने गरेको छ । तर, वृहतस्तरमा भने सन् २००९ मा जाजरकोट जिल्लामा देखिएको थियो । जहाँ करिब ३० हजार जनामा हैजा देखिएको थियो । जसमध्ये ५ सय जनाले ज्यान गुमाए । त्यसपछि रौतहट जिल्लामा सन् २०१४ सालमा ६ सय जनाभन्दा बढी हैजाका बिरामी भएका थिए ।

हालै पनि कपिलवस्तु जिल्लामा २ सय ५० जनाभन्दा बिरामीमा हैजासँग मिल्दोजुल्दो लक्षण देखिएका छन् । उपचारकै क्रममा २ जनाको मृत्युसमेत भैसकेको बताइएको छ । त्यसबारे हालै परीक्षण चलिरहेको छ ।

हैजा हुने कारण के हो ?

दूषित पानी र दूषित भोजन गर्दा जीवाणुले आन्द्रामा विष छाड्ने गर्छ र हैजाको संक्रमण हुने गर्छ । अशुद्ध पानीबाट उमारेको तरकारीहरु राम्रोसँग नपखाली खाँदा पनि यसको संक्रमण हुनसक्छ ।

राम्रोसँग नपाकेको माछाको मासु खाँदा पनि यो रोग लाग्ने गर्छ । हैजाका लक्षणः हैजाको लक्षण केही दिन या केही घण्टामा देखिने गर्दछ । केही व्यक्तिमा गम्भीर अवस्था पनि उत्पन्न गराउँछ ।

झाडापखाला हुने

चौलानीजस्तो निरन्तर पातलो दिशा हुने

वाकवाकी लाग्ने

इलेक्ट्रोलाइटको असन्तुलन गराउँछ

छालाको लचकतामा कमी आउने

सही समयमा उपचार नपाउँदा मृत्युसमेत हुने गर्छ

आँखाहरु गाडिने

मांसपेशी दुख्ने

शरीर कमजोर हुने हैजाको कीटाणु शरीरमा प्रवेश गरेको दुई घण्टादेखि पाँच दिनसम्ममा लक्षणहरू देखिने गर्दछन् ।

यसको लक्षण केही व्यक्तिमा मध्यम खालको देखिन्छ  । केहीमा अति गम्भीर हुन्छ भने केहीमा लक्षण नै नदेखिने हुन्छ । जीवाणुबाट संक्रमित अधिकांश व्यक्तिमा हल्का लक्षण या कुनै पनि लक्षण नदेखिने पनि हुनसक्छ । हैजाको उपचार  उचित समयमा नगर्दा बिरामीका लागि गम्भीर अवस्था बन्न सक्छ ।  हैजाका बिरामीको मूल्यांकन गरी उचित उपचार गराएर गम्भीर बिरामीलाई बचाउन सकिन्छ ।

यसको उपचार विधि :-

रिहाइड्रेशन – उम्लिएको मनतातो पानीमा जीवनजल मिलाएर खाँदा यसको लक्षण कम हुन्छ ।गम्भीर रुपको बिरामी जसको शरीरमा पानीको मात्रा कम हुन्छ । उनीहरुलाई चिकित्सकले नसाको माध्यमबाट पानी दिइने गरिन्छ ।

एन्टीबायोटिक्स – गम्भीर लक्षणको प्रभाव कम गर्नको लागि चिकित्सक केही एन्टीबायोटिक औषधीको डोज दिइन्छ । (केही एन्टीबायोटिक्स औषधीमा अहिले रेसिस्टेन्स  विकास  छ । अर्थात एन्टीबायोटिक्स विरुद्ध जीवाणुले रेसिस्टेन्स विकास गरेको हुँदा औषधीले काम नगर्ने अवस्था सृजना भएको छ । त्यसैले चिकित्सकको सल्लाह अनुसार मात्रै औषधी खानुपर्ने हुन्छ ।)

१० वर्ष र त्यसमाथिको उमेरवर्गका जसमा हैजाको सामान्य लक्षण देखिएको व्यक्तिहरुले घरमा नै  साढे २ लिटर जीवन जल पानी खाने गर्दा पनि विस्तारै निको हुने हुन्छ । त्यस्तै,  ३० केजी वजनभन्दा माथिका बालबालिकालाई साढे ३ देखि ४ लिटर दैनिक जीवन जल दिनुपर्छ ।

गम्भीर बिरामी जसको रिहाइड्रेशनको समस्या छ । उनीहरुलाई नसा पानी नै चढाउनुपर्ने हुन्छ । निरन्तर अत्याधिक दिसा लागेको कारण ‘हाइपो भोल्युमिक सक’ हुने पनि हुन्छ । हैजाबाट मृत्यु गराउने ‘हाइपो भोल्युमिक सक’ नै हो । सक हुँदा मुटुले सक्रिय रुपमा रगत पम्प गर्न सक्दैन् । यसले पनि शरीरको प्रमुख अङ्गलाई ड्यामेज गर्ने देखिन्छ । पर्याप्त मात्रामा टाउकोमा रगत नपुग्दा मस्तिष्कको तन्तुहरु मर्ने हुन्छ । सबैभन्दा जोखिम भनेको किड्नीको हुन्छ । यसले किड्नीलाई पनि ड्यामेज गराउने गर्छ । हैजाबाट मृत्यु गराउने ‘हाइपो भोल्युमिक सक’ नै हो ।

कसरी बच्ने ?

हैजाविरुद्ध भ्याक्सिन बनेको छ । सेन्ट्रल फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सामान्य रूपमा यसको सिफारिस गर्दैन् । किनभने यो प्राप्त गर्ने आधा मानिसको पूर्ण रुपले रक्षा गर्न सक्दैन् । केही महिनासम्म मात्रै यसले सुरक्षा दिन्छ । यद्यपी उम्लिएको पानी उपयोग गरी आफू र आफ्नो परिवारको रक्षा गर्न सकिन्छ ।

  • शुद्ध पानी खाने,
  • साबुनपानीले पटक–पटक हातखुट्टा राम्रोसँग धुने,
  • अन्य कामकाज, खेलकुद र बाहिरबाट आउँदा राम्रोसँग साबुनपानीले हातखुट्टा धोएरमात्र घरभित्र पस्ने,
  • खानका लागि प्रयोग गर्ने भाडाहरु राम्रोसँग सफा गर्ने,
  • सागसब्जी राम्रोसँग पखालेर/ जोखिमयुक्त क्षेत्रमा उमालेर मात्र खाने
  • सफा शौचालयको प्रयोग गर्ने

सरकारले यस महामारी नियन्त्रणका लागि जोखिमपूर्ण मानिएको स्थानमा जनचेतना फैलाउने, खुल्ला दिशापिसाबमुक्त अभियानलाई शशक्त बनाउने र विकट क्षेत्र जहाँ औषधी अभाव छ, त्यहाँ हैजाको औषधी र जीवनजलहरु बेला–बेलामा पठाइरहनुपर्ने देखिन्छ । त्यसबाहेक प्रत्येक घरमा सफा पिउने पानीको व्यवस्था पनि गर्नुपर्ने देखिन्छ ।

पटक–पटक दुषित पानीकै कारणले यस्तो महामारी फैलिरहने भएकोले सरकारले यसको पूर्वतयारीका लागि ठोस कदम चाल्न पर्ने देखिन्छ । नेपालमा सरकारले कुल ग्राहस्थ उत्पादनको जनस्वास्थ्यका लागि २ प्रतिशत मात्रै खर्च गरेको तथ्यांकले देखाउँछ । जुन पर्याप्त छैन ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ