२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यअमेरिकी डाक्टरले रचे इतिहास : पहिलो पटक मानिसमा सुँगुरको मुटु प्रत्यारोपण

अमेरिकी डाक्टरले रचे इतिहास : पहिलो पटक मानिसमा सुँगुरको मुटु प्रत्यारोपण


अमेरिकी शल्य चिकित्सकहरूले ठूलो सफलता हासिल गरेका छन् । उनीहरुले आनुवंशिक रूपले परिमार्जित सुँगुरको मुटु मानिसमा प्रत्यारोपण गरेर इतिहास रचेका छन् ।

यो विश्वको चिकित्सा जगतको लागि ठूलो उपलब्धि हो। यसले मुटु प्रत्यारोपणको क्षेत्रमा क्रान्ति ल्याउन सक्ने विज्ञहरुको दावी छ। यसले हृदयघातका गम्भीर रोगबाट पीडित लाखौं मानिसहरूका लागि मुटु प्रत्यारोपणको नयाँ बाटो खोलेको छ। अमेरिकी औषधी नियामक निकाय (एफडीए)ले नयाँ वर्षको पूर्वसन्ध्यामा यो शल्यक्रियाका लागि स्वीकृती दिएको थियो। सुँगुरको मुटु प्रत्यारोपणको लागि यो आपतकालीन स्वीकृती  ५७ वर्षीय मेरिल्याण्डमा बस्ने डेभिड बेनेटको जीवन बचाउने अन्तिम उपाय थियो।

युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल स्कूलले सोमबार एक विज्ञप्ति जारी गर्दै यस शल्यक्रियाको बारेमा मिडियालाई जानकारी गराएको छ । यो ऐतिहासिक शल्यक्रिया शुक्रबार सम्पन्न भएको हो । शल्यक्रिया जनावरको अंगलाई मानिसमा प्रत्यारोपण गर्ने दिशामा कोसेढुङ्गा साबित हुने विज्ञहरुले उल्लेख गरेका छन् ।

युनिभर्सिटीका अनुसार पीडित डेभिडको अवस्था नाजुक थियो। त्यसैले उनको जीवन बचाउन आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मुटु प्रत्यारोपण गर्ने निर्णय गरियो। डेभिडको अवस्था अहिले सुधार भइरहेको र नयाँ अंगले कसरी काम गरिरहेको छ भन्नेबारे नजिकबाट निगरानी भइरहेको छ। बेनेटले परम्परागत मुटु प्रत्यारोपण गर्न नसक्ने भएकाले अमेरिकी डाक्टरहरूले यो ठूलो निर्णय लिएर सुँगुरको मुटु प्रत्यारोपण गरेका हुन्।

शल्यक्रियाको अघिल्लो दिन आफ्नो अगाडि दुईवटा मात्र बाटो रहेको बताएका थिए। ‘एकातिर मृत्यु थियो अर्कोतिर यो प्रत्यारोपणबाट नयाँ जीवनको आशा थियो,’उनले भने,’अँध्यारोमा पछ्याउने मेरो अन्तिम विकल्प थियो।’ बेनेट विगत केही महिनादेखि मुटु र फोक्सोको बाइपास मेसिनको सहायताले ओछ्यानमा बस्दै आएका थिए । अब फेरी उभिने आशामा उनी छन्।

बेनेटमा सुँगुरको मुटु प्रत्यारोपण गर्ने डा. बार्टले ग्रिफिथले उक्त मुटुको शल्यक्रियामा ठूलो सफलता भएको बताए। यसले अंग दानको समस्या समाधान गर्न मद्दत गर्ने उनको दावी छ।

यसअघि पनि अमेरिकाको एनवाईयू ल्याङ्गोन हेल्थ न्यूयोर्कका चिकित्सकहरूले विश्वमै पहिलोपटक मानव शरीरमा सुँगुरको मृगौला  सफलतापूर्वक प्रत्यारोपण गर्न सफल भएका थिए।

एजेन्सी

यो पनि पढ्नुहोस् :

  चिकित्सा क्षेत्रमा ठुलो उपलब्धि : सुँगुरको मृगौला मानव शरीरमा प्रत्यारोपण सफल


क्याटेगोरी : अन्य, विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ