२०८१ असार ७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यमहिला शिक्षा र सोच परिवर्तनको आवश्यकता

महिला शिक्षा र सोच परिवर्तनको आवश्यकता


शिक्षाको माध्यमबाट मानिसले आफ्नो ज्ञान, वुद्धि र सीप वृद्धि गरी आनुवांशिक गुण (inherent character)लाई फस्टाउन मद्दत गर्छ । शिक्षाले मानिसको चेतनास्तरमा वृद्धि गरी उसको एउटा सोच निर्माण गर्नमा सघाउँछ । विगतमा पुरूषभन्दा महिलालाई शिक्षामा अवसर प्राप्त नहुँदा नारी शिक्षा निकै पछाडि रहँदै आएको छ ।

हुन त आजभोलि शिक्षाको महत्व बुझी छोरा सरह छोरीलाई पनि नेपाली समाजमा स्कुल–कलेज पठाउने चलन बढ्दो छ । तर, यस्तो बुझाइ सबैस्तरका समुदायमा समान रुपमा अझ पनि पुग्न सकेको छैन । गरिब, विपन्न तथा पछाडि परेको समुदाय र कतिपय मानिसमा अहिले पनि शिक्षा सम्बन्धी चेतना र त्यसमा पहुँचको समस्या छ ।

एउटा भनाइ पनि छ ‘एउटा पुरुषलाई शिक्षित बनाउँदा एउटा व्यक्ति शिक्षित हुन्छ । तर, एउटी नारीलाई शिक्षित बनाउने हो भने सिंगो परिवार र समाज शिक्षित हुन्छ ।’ यसै भनाइलाई ध्यानमा राखेर पनि होला पहिले घरको भान्छा कोठा र घाँस दाउरामा मात्र सिमित छोरीहरू अहिले विद्यालय तथा कलेजमा उच्च शिक्षा हासिल गर्नुका साथै समाजकै प्रतिष्ठित पेशामा कार्यरत छन् । अझै भन्ने हो भने आजकल बुहारी पनि शिक्षित नै खोज्ने चलन बढ्दो छ । समग्रमा यिनै कुराले नै महिला शिक्षामा नेपालले निकै फड्को मारेको बुझ्न सकिन्छ ।

यसो भनिरहँदा कता—कता महिलाहरूले आफ्नो पेशा, व्यवसायमा पुरुष बराबर सम्मान नपाउने मात्र नभएर उनीहरू शारिरीक अपमान साथै बलात्कारको शिकारसमेत बन्न परेका घटना हामी सबैलाई जानकारी नै छ । आखिर राम्रो शिक्षा पाएर पनि किन महिलाहरु आफ्नो पेशामा अपहेलित छन् त ? प्रश्न सुन्दा सरल लागे पनि अहिलेको अवस्थामा जटिल नै छ । कहिलेसम्म हामी प्रश्न गरेर मात्र बस्ने त ? समाधान खोज्नु पर्ने बेला आएको छ ।

एउटी छोरीलाई शिक्षा लिन सहज भएतापनि जब उनी कसैको घरकी बुहारी हुन्छिन्, उनको शिक्षामा लगभग पूर्णविराम लाग्छ । घरायसी कामकाज, छोराछोरीकी आमा भएर गर्नुपर्ने हेरचाह साथै परिवारबाट उचित्त साथ नपाउनाले पढ्ने इच्छा हुँदाहुँदै पनि उनीहरुलाई पढाइमा निरन्तरता दिनु फलामको चिउरा चपाएजस्तो हुन पुगेको छ । केही शिक्षित र बुझ्ने परिवारलाई अपवाद मानेर समग्र बुहारीहरु पढाइ र आफूले गरिरहेको पेशालाई निरन्तरता दिन असमर्थ छन् ।

स्वास्थ्य क्षेत्रमा नै हेर्ने हो भने पनि छोरीहरुलाई नर्स नै पढाएपनि चिकित्सक पढाउनेको संख्या निकै नै कम छ । महिला चिकित्सक बन्न तयार भएका छोरीहरुलाई सजिलो नै भएपनि अरु क्षेत्रजस्तै बुहारी भएर पढ्न र जागिर गर्न गाह्रो नै छ । महिला स्वभावैले बढी भावनात्मक हुन्छन् । तैपनि तिनले आफूलाई विचलित नगराइकन दिनरात नभनी बिरामीको सेवामा आफूलाई समर्पित गरेका हुन्छन् । शारिरीक÷मानसिक हिसाबले कष्टपूर्ण हुने महिनावारीको बेला पनि चिकित्सकीय धर्म पूरा गरिराखेका हुन्छन् । दुधे बच्चालाई समेत छाडेर बिरामीको सेवामा लागेका हुन्छन् । यसैले समाजबाट अझ सम्मान अपेक्षित रहन्छ ।

यथार्थमा अझै पनि हाम्रो समाजले महिला डाक्टरलाई त्यति विश्वास गर्न गाह्रो मान्छ, जति पुरुष डाक्टरलाई गर्छ । अस्पतालमा आउने अधिकांश बिरामीहरू महिला चिकित्सकलाई ‘सिस्टर’ भनेर सम्बोधन गर्छन्, पुरुष डाक्टरलाई चाहिँ डाक्टर भन्छन् । ओपिडीमा आउनेहरु पुरुष डाक्टर कहाँ जाने र महिला डाक्टरलाई विश्वासै नगर्ने परिपाटी पनि व्याप्त छ ।

एमबीबीएस सकेर एमडी गर्दैगर्दा एउटा महिला डाक्टरको उमेर ३० वर्ष कटिसकेको हुन्छ । उमेर बढ्दै जाँदा गर्भधारणमै समस्या देखिनुका साथै सो उमेर समूहका महिला अनेकौं स्वास्थ्य समस्याको जोखिममा हुन्छन् । बच्चा पाइसक्दा पनि ती महिला डाक्टर, जो अब आमा पनि हुन्, उनको पीडा आफ्नै छ । बाल रोगबारे अध्ययन गरिरहेकी एकजना आवासीय डाक्टर अस्पतालमा दिनरात अरू सबै बच्चाहरूको विकासक्रम (डेभलपमेन्टल माइलस्टोन) को सूक्ष्म मूल्यांकन गरिरहँदा आफ्नै दुधेबालकको वृद्धि हेर्न, ऊसँग खेल्न, बोल्न र रमाउन नपाउँदा चाहिँ मन पक्कै खिन्न हुन्छ । ६ महिनासम्म आमाको मात्र दुध खुवाउनु भनेर सबै सुत्केरी महिलालाई सल्लाह दिइरहँदा ती महिला चिकित्सक स्वयं आफैंले आफ्नो बच्चालाई दूध खुवाउन नपाउँदा उनको मन कस्तो हुँदो हो ?

यस्ता अनेकन् उदाहरण छन्, जहाँ बच्चा, आमा डाक्टर भएकै कारण मातृस्नेह र स्पर्शबाट वञ्चित हुनुपरेको छ । यस्ता समस्या स्वास्थ्य क्षेत्रमा मात्र नभएर अरु क्षेत्रमा पनि उत्तिकै छन् । त्यसैले महिला अधिकार भन्दै भाषण गर्ने र शिक्षा दिक्षा दिएका नै छौं भनी मख्ख पर्ने मात्र नभएर एउटी महिलालाई आफू छोरी हुँदा मात्र होइन कि बुहारी हुँदा पनि पढ्ने र काम गर्ने उचित्त वातावरण बनाउन जरूरी देखिन्छ ।

आशा गरौं, आउँदा दिनमा महिला चिकित्सक पनि डाक्टर भनी बोलाइनेछन् । बिरामीको हेरचाहमा दिनरात नभनी खट्टीने नर्सहरुले पनि उचित सम्मान पाउनेछन् । त्यसैले घरको काम महिलाको मात्र नभई दुवैले समय मिलाएर गर्ने परिपाटीको विकास गरी घरपरिवार साथै कार्यक्षेत्रमा पनि महिलालाई पनि पुरुष बराबर सम्मान र अवसर दिन सकेमात्र आउँदा दिनमा एउटा महिलाको मात्र विकास नभएर परिवार साथै सिंगो राष्ट्रको विकास हुनेछ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ