२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्य३१ वर्षीया बिन्दाको हातमा पाटन प्याथ ल्याबको कमाण्ड

३१ वर्षीया बिन्दाको हातमा पाटन प्याथ ल्याबको कमाण्ड


ललितपुर लगनखेल महालक्ष्मीमार्ग जीएम कम्प्लेक्सस्थित पाटन प्याथ ल्याबको कमाण्ड बिन्दा शाहीले लिएकी छन् । ३१ वर्षीया युवा उद्यमी विन्दाले पाटन ल्याबको नेतृत्व लिएसँगै ल्याबलाई नयाँ किसिमले गुणस्तरीय सेवासहित ब्राण्डिङ गर्न सुरु गरिसकेकी छन् ।

‘मैले पाटन प्याथ ल्याबको स्वामित्व लिए,’ उनले हेल्थआवाजसँग भनिन्, ‘अब ल्याबको गुणस्तर र सेवा विस्तारमा विशेष ध्यान दिएर लैजाने योजना बनाएकी छु ।’ ल्याबको स्वामित्व लिएसँगै व्यवस्थापनतर्फको सम्पूर्ण कमाण्ड पनि विन्दाको हातमा आएको छ ।

‘यो नयाँ जिम्मेवारी हो । मैले यसलाई अवसर र चुनौती दुवै रुपमा लिएकी छु,’ उनले थपिन्, ‘तर, चुनौतीसँग जुध्नु मेरो स्वभाव हो । मलाई मजा पनि लाग्छ ।’ गार्मेन्ट, सहकारी र घरजग्गालगायतका व्यवसायमा समेत संलग्न विन्दा ललितपुरको चापागाउँमा जन्मिएकी हुन् ।

वुद्धिबहादुर शाही र सावित्री खड्काका दुई जना छोरीहरुमध्ये विन्दा कान्छी हुन् । बज्रबाराहीको स्थानीय स्कुलबाटै प्रारम्भिक शिक्षा लिएकी हुन् । कक्षा ४ सम्म पढेपछि उनले त्यसपछि थप शिक्षा अगाडि बढाउन सकिनन् । पढाइ छोडेपछि उनी भक्तपुरमा आफ्नो फुपुको पसलमा सघाउन थालिन् ।

त्यसपछि ह्याण्डी क्राप्टमा कम्पनीमा कामदारका रुपमा गर्न थालिन् । उनले काम सिकिन् र त्यहाँ काम गरिन । त्यहाँ काम गर्दागर्दै उनले १ लाख रुपैयाँ कमाएर आफ्नै व्यापार सुरु गरिन् । वि.सं. २०६४ सालमा १ लाखबाट सुरु गरेको ह्याण्डी क्राप्टको व्यापार २०७२ सालमा महाभूकम्प अघिसम्म राम्रो लयमा चलिरहेको थियो । झण्डै एक करोड हाराहारीको कम्पनी बनेको थियो, सयौं कामदारहरुको रोजीरोटी चलेको थियो । ‘चीन, अष्ट्रेलियालगायतका देशहरुमा हाम्रो सामान जान्थ्यो,’ उनले भनिन् । त्यही क्रममा उनको प्रगेन देसारसँग विवाह भयो ।

महाभूकम्पसँगै उनको कम्पनी डुब्यो । झण्डै ५०—६० लाख रुपैयाँ क्षति भयो । त्यही भुँइचालोमा परेर उनको कम्पनीमा काम गर्ने ६ जना कामदारको मृत्यु भयो । त्यसपछि ब्यापार भताभुंग भयो । त्यसपछि उनले त्यो व्यापार बन्द गरेर जग्गा कारोबार गर्न थालिन् ।

जग्गा कारोबारकै क्रममा लगनखेलमा पाटन प्याथ ल्याबका सञ्चालकसँग उनको भेट भयो । त्यही भेटघाटका क्रममा उनले २ वर्षअघि पाटन प्याथ ल्याबमा लगानी सुरु गरिन् । र, हालैमात्र उनले पाटन प्याथ ल्याबको पूर्ण स्वामित्व लिएकी छन् । अहिले ल्याबमा एक दर्जन बढी कर्मचारी काम गर्छन् । ३१ वर्षकै उमेरमा ल्याबको व्यवस्थापकीय कमाण्ड गर्न लागेकी विन्दालाई अहिले उनका श्रीमान र नजिकका आफन्त दाइले ल्याब सञ्चालनमा सहयोग गरिरहेका छन् । उनी पाटन ल्याबलाई त्यो क्षेत्रलाई नम्बर वान ल्याब बनाउने योजनामा छिन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ