२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपाल नर्सिङ दिवसमा वीरगन्जमा नर्सहरुलाई नवजात शिशुको उपचार तालिम

नेपाल नर्सिङ दिवसमा वीरगन्जमा नर्सहरुलाई नवजात शिशुको उपचार तालिम


वीरगन्ज-नेपाल मेडिसिटी बयोधा अस्पतालले नेपाल नर्सिङ दिवसको अवसरमा नर्सहरूका लागि नवजात शिशुको पुनर्जीवन तालिम आयोजना गरेको छ । आइतबार वीरगन्जस्थित अस्पतालमा आयोजना गरिएको तालिममा ४० जना नर्सहरू सहभागी रहेका थिए ।

तालिम उद्घाटन सत्रमा प्रमुख अतिथिका रूपमा बोल्दै नेशनल मेडिकल टिचिङ हस्पिटलकी नर्सिङ निर्देशक गंगा गुरुङले नर्सहरू अस्पतालको मेरुदण्ड भएको बताइन् ।

नर्सहरूले आफ्नो ज्ञान र सीपलाई अभिवृद्धि गर्दै अस्पतालहरूमा दिगो सेवालाई प्रत्याभूत गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रमकी विशिष्ट अतिथि वीरगन्ज नर्सिङ क्याम्पसकी प्रमुख जमुना भट्टराईले नेपालमा ज्येष्ठ नागरिकहरूको सङ्ख्या वृद्धि भइरहेकाले नर्सहरू तथा अस्पतालहरूले पनि ज्येष्ठ नागरिकहरूको उपचारमा अझ बढी ध्यान दिनुपर्ने बताइन् ।

नर्सहरूको सेवा, सुविधा तथा जीवनयापनका लागि पर्याप्त पारिश्रमिकको व्यवस्था अस्पतालहरूले गरेको खण्डमा नर्सहरूको कार्यकुशलतामा अभिवृद्धि हुने उनको धारणा थियो ।

नेपाल मेडिसिटी बयोधा अस्पतालका प्रमुख विजय रिमालले नर्सहरूको ज्ञान र सीपलाई अभिवृद्धि गर्न नियमित रूपमा तालिमहरूको व्यवस्था गरिरहेको र स्वास्थ्यका अधिकांश सेवाहरूलाई वीरगन्जमै उपलब्ध गराइरहेको जानकारी दिए ।

सबै अस्पतालहरुसँग सहकार्य गरेर बिरामीहरूलाई प्राथमिक, माध्यमिक र विशिष्ट सेवा वीरगन्जमै उपलब्ध गराउने प्रयास गरिरहेकोले अब उपचारका लागि अन्यत्र जाने अवस्था न्यून हुने उनको दाबी थियो ।

उद्घाटन सत्र पश्चात् नवजात शिशुको पूर्नजीवन व्यवहारिक तालिममा वीरगन्जका अधिकांश अस्पताल तथा नेपाल मेडिसिटी बयोधा अस्पतालका गरी करिब ४० जना नर्सहरू सहभागी रहेका थिए । उक्त कार्यक्रममा नवजात शिशुहरूको अस्पतालमा गरिने उपचार तथा नवजात शिशुहरूको सघन उपचारका तरिकाहरूको व्यवहारिक तालिम दिइएको थियो ।

नेपाल मेडिसिटी बयोधा अस्पतालका बालरोग विशेषज्ञ डा. आनन्द रौनियार, डेपुटी नर्सिङ सुपरिन्टेन्डेण्ट विद्या गुप्ता, एसिस्टेन्ट नर्सिङ सुपरिन्टेन्डेण्ट रविन्द्र कानुले नर्सहरुलाई प्रशिक्षण दिएका थिए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ