२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेत्र ज्योति संघ र पत्रकार महासंघबिच सम्झौता, सञ्चारकर्मीहरूको निःशुल्क आँखा जाँच हुने

नेत्र ज्योति संघ र पत्रकार महासंघबिच सम्झौता, सञ्चारकर्मीहरूको निःशुल्क आँखा जाँच हुने


नेपाल नेत्र ज्योति संघ र नेपाल पत्रकार महासंघका बिचमा आपसी सहकार्य गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बुधबार महासंघको केन्द्रिय कार्यालयमा दुई संस्थाहरूका बिचमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

आँखा उपचार सम्बन्धी आम जनतामा जनचेतना फैलाउने र पत्रकारहरूका लागि निःशुल्क आँखा जाँच शिविर सञ्चालन गर्ने सम्बन्धी सम्झौता पत्रमा संघका तर्फबाट अध्यक्ष प्रा.डा चेतराज पन्त र महासंघका तर्फबाट अध्यक्ष बिपुल पोख्रेलले हस्ताक्षर गरेका छन् ।

उक्त हस्ताक्षर कार्यक्रममा बोल्दै नेपाल नेत्र ज्योति सङ्घ नेपालका अध्यक्ष प्रा.डा. चेतराज पन्तले जनचेतना र सूचनाको अभावले आँखासम्बन्धी समस्या भएका बिरामीहरूले उपचार पाउन नसकेको बताए । उनले निको हुने आँखाका रोगीको समेत उपचार हुन नसकेको भन्दै त्यसको निराकरण गर्न संस्था लागिपरेको बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले प्रविधिको विकाससँगै लामो समय कम्प्युटर लगायतका उपकरणको प्रयोगले पत्रकारहरूमा आँखाको स्वास्थ्य समस्या देखिन थालेको बताउँदै उनले दुई संस्थाबिचको सम्झौताले देशभरिका पत्रकार लाभान्वित हुने जनाए ।

वि.स २०३५ सालमा स्थापना भएको गैरनाफामुलक संस्था नेत्र ज्योति सङ्घले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५० वटा आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरू मार्फत नागरिकहरूलाई सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ ।

सङ्घले आर्थिक अभावका कारण कोही पनि नागरिकले दृष्टिविहीन जीवन यापन गर्न बाध्य नहुन भन्ने हेतुले जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रूपमा गुणस्तरीय सेवा प्रदान गरिरहेको र सोका लागि विभिन्न निकायहरूसँगको साझेदारीमा उज्यालो अभियान कार्यक्रम समेत सञ्चालन गदै आएको छ जसबाट धेरै गरिबीको रेखा मुनी नेपाली नागरिकहरूले निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सेवा समेत पाइरहेका छन् ।

कार्यक्रममा नेत्र ज्योति संघका महासचिव भरत बहादुर चन्द, कोषाध्यक्ष द्रोण प्रसाद गुरागाई, कार्यकारी निर्देशक शैलेस कुमार मिश्र र महासंघका सचिव गोविन्द चौलागाई, कोषाध्यक्ष कलेन्द्र सेजुवाल, लेखा समिति संयोजक लेखनाथ न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ