२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठपालिका स्वास्थ्यस्वास्थ्य स्वयंसेविकालाई १० हजार भत्ता दिएका छौं

स्वास्थ्य स्वयंसेविकालाई १० हजार भत्ता दिएका छौं


कञ्चनपुर जिल्लाको साविक सुडा र दैजी गा.वि.स मिलेर बेदकोट नगरपालिका बनेको छ । स्थानीय तहको संरचनापछि यस नगरपालिकामा अन्य विकासका गतिविधिसँगै स्वास्थ्य क्षेत्रमा पनि उल्लेख्य सुधार हुँदै आएको छ । हाल यहाँका हरेक नागरिक आधारभुत स्वास्थ्य सेवाको पहुँचमा पुगेका छन् । हरेक वडामा आधारभुत स्वास्थ्य केन्द्रहरु स्थापना भएका छन् । त्यस्तै ५० शैयाको नगर अस्पताल निर्माणको तयारीमा छ ।  यसैबिच स्वास्थ्यसँग सम्बन्धित विविध बिषयमा केन्द्रित रहेर बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्दसँग हेल्थआवाजकर्मी पदमराज भट्टले गरेको कुराकानी :

बेदकोट नगरपालिकामा स्वास्थ्य संस्था,स्वास्थ्य सेवा र जनशक्तिको अवस्था के छ ?

अहिले हामीले सबै वडामा स्वास्थ्य संस्था, आधारभुत स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य केन्द्रहरु स्थापना गरेर स्वास्थ्य सेवा सञ्चालन गरेका छौं । हामी कहाँ २ वटा स्वास्थ्य चौकी छन् । स्थानीय सरकार बनेपछि सबै वडामा १/१ वटा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरेर सेवा सञ्चालन भएको छ । आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणको कार्य भइसकेको छ भने केहि आधारभूत स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य केन्द्रका भौतिक संरचनाहरू निर्माणधिन छन् । अहिले बर्थिङ सेन्टर सञ्चालनमा ल्याएका छौं । बेदकोट नगरपालिकामा यो बर्ष थप २ वटा बर्थिङ सेन्टर संचालनमा ल्याउने तयारीमा छौं ।

जनशक्तिको सवालमा हाम्रो पालिकाभित्र पहिलेको स्वास्थ्य संरचना अनुसार दरबन्दी अनुसार कर्मचारीको व्यबस्था भएको छ र बाँकी बेदकोट नगरपालिकाले प्रत्येक वडामा आभारभूत स्वास्थ्य केन्द्र स्थापना गरेर सेवा सञ्चालन गरेकाले त्यो स्वास्थ्य स्थायी दरबन्दीको काम बाँकी रहेको छ । हामीले कुनै वडाको दुर्गम बस्तीलाई लक्षित गरी सोहि ठाउँमा स्वास्थ्य सेवा दिन कारारमा जनशक्ति राखेर सेवा संचालन गरेका छौं । बेदकोट नगरपालिकामा बेदकोट नगर अस्पताल बनाउने तयारी गरेर टेण्डर प्रक्रिया भई कार्य अगाडी बढेको छ । पछिल्लो चरणमा नेपाल सरकारको मंसिर १५ गते स्वास्थ्यचौकीको स्तरोन्नती गरी १५ शैयाको अस्पताल बनाउनका लागि जग्गा खोजि गरेर शिलान्यास गर्ने कार्य अगाडी बढाइएको छ र डिपीआरको काम सकिएर टेण्डर प्रक्रियामा छ ।  त्यस्तै, बेदकोट नगरपालिकाले ५० शैयाको नगर अस्पताल बनाउन डिपीआर, जग्गा खोजी र भवन निर्माणको कुराहरु अगाडी बढेको छ ।

तपाई निर्वाचित भएपछि स्वास्थ्य संस्थामा भएका सुधारहरु के के हुन ?

बेदकोट नगरपालिकामा हामी निर्वाचित भएर आउँदा वडा नं ७ मा सुडा स्वास्थ्य चौकी र वडा नं ३ मा दैजी स्वास्थ्य चौकी थियो । ती बाहेक स्वास्थ्य सेवा केन्द्रहरु थिएन्न् । हामी आएपछि सबै वडामा खोप केन्द्रहरु स्थापना ग¥यौं । त्यसपछि स्थानीयलाई सहजरुपमा स्वास्थ्य सेवा दिने उद्धेश्यले आधारभूत स्वास्थ्य सेवा केन्द्रका भवन निर्माणको प्रक्रिया अघि बढाएका छौं ।  त्यस्तै , बेदकोट नगरपालिकाको वडा नं १ मा एउटा खोप केन्द्र पहिले नै थियो र आभारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण लगभग सकिएको छ । अब बर्थिङ सेन्टर निर्माणको प्रक्रिया अघि बढाएका छौं ।  वडा नं २ मा बेदकोट नगरपालिकाको ५० लाखमा स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण गरी सेवा सुचारु भएको छ ।  बेदकोट नगरपालिका वडा नं ३ कञ्चनपुर र डडेल्धुरा जिल्लाको सिमानामा पर्ने दुर्गम बस्तीमा पनि स्वास्थ्य सेवा दिनका निम्ति जनशक्ति पठाएर स्वास्थ्य सेवा सुरु भएको छ । यस्तै, वडा नं ४ मा आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माण को कार्य सकिएको छ भने सेवा संचालनको तयारीमा छौं ।

वडा नं ५ मा स्वास्थ्य संस्थाको आफ्नै भवन रहेको छ । त्यो सँगै बर्थिङ सेन्टरको नयाँ भवन निर्माण गरेका छौं । त्यहाँबाट स्वास्थ्य सेवा र सामान्य किसिमको प्रयोगशाला संचालन पनि व्यबस्थापन गरेका छौं । बर्थिङ सेन्टरको भवन निर्माणको प्रक्रिया सकिएकाले छिट्टै सेवा सुचारु हुने र थप एउटा भवन निर्माणको निम्ति टेण्डर प्रक्रिया अगाडी बढेको छ । वडा नं ६ मा सामुदायिक स्वास्थ्य केन्द्रको भवन निर्माण गरेका छौं र स्वास्थ्य सेवा संचालन भएको छ । साथै अर्को भवन निर्माण गर्ने प्रक्रियामा छौं । वडा नं ७ मा स्वास्थ्य चौकी छ । त्यौ सँगै दुर्गम क्षेत्रका लागि स्वास्थ्य सेवा दिन स्वास्थ्य केन्द्र स्थापना गरी २ जना जनशक्ति राखि सेवा दिईरहेका छौं । वडा नं ८ मा स्वास्थ्य सेवा दिनको लागि भौतिक संरचना निर्माणको कार्य अगाडी बढेको छ ।

साथै तत्काल २ जना जनशक्ति खटाएर काम गरिरहेका छौं । त्यस्तै , वडा नं ९ मा स्वास्थ्य सेवा सुचारु भइरहेको छ भने थप भवन निर्माण को क्रममा रहेको छ । वडा नं १० मा पनि आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणको कार्य सकिने चरणमा रहेको वडा नं १० मा २ ठाउँमा स्वास्थ्य केन्द्र स्थापना गरी स्वास्थ्य सेवा दिने कार्य गरिरहेका छौं । यस्तै, स्वास्थ्यमा ध्यान दिएर नगरपालिकामा बिद्यालयहरुमा महिनावारी भएपछि छात्रा, शिक्षिका विद्यालय नआउने समस्यालाई ध्यानमा राखि प्रत्येक विद्यालय र स्वास्थ्य चौकीमा सेनिटरी प्याड मेसिन राखी सेवा संचालन गरिरहेका छौं ।

बेदकोट नरपालिकामा गर्भवती महिलालाई गुणस्तरीय सेवा प्रदान गर्न नवजात शिशु नगर स्वास्थ्य कार्यक्रम संचालन गरेको छ । नवजात शिशु र सुत्केरी आमाले पोषिलो खाना खाउन भनेर १ हजार रुपैयाँका साथै १ जोर कपडा समेत प्रदान गर्ने गरेको छ ।  गर्भवती महिला चेकजाँच र शिशुलाई खोप तथा स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य स्वयंसेविकामार्फत मेडिक मोवाईल सेवा संचालनमा ल्याएका छौं । बेदकोट नगरपालिकाले स्वास्थ्य स्वयंसेविकालाई १० हजार प्रोत्साहन भत्ता दिने गरेका छौं । यो सँगै विभिन्न गैरसरकारी संस्थासँग साझेदारी गरेर स्वास्थ्यसँग सम्बन्धित जनचेतनामुलक कार्यक्रम गर्दै आएका छौं ।

बाल स्वास्थ्य र मातृ स्वास्थ्यको अबस्था के छ ?

बेदकोट नगरपालिकामा बिगतको बाल स्वास्थ्य र मातृ स्वास्थ्यमा धेरै सुधार आएको छ । मातु मुत्युदर एकदमै कम छ र शिशु मृत्युदर पनि कम रहेको छ । यसमा अझै कम गर्ने गरी काम गरिरहेको छौं । विगतमा स्वास्थ्यका सेवाहरु, खोपका कुराहरु, स्वास्थ्य समस्याहरु, दक्ष–जनशक्तिहरु नभएकाले विभिन्न समस्याहरु थिए, अब त्यो छैन । दिगो विकासका लक्ष्यहरु प्राप्तिका लागि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार बर्थिङ सेन्टर स्वास्थ्य केन्द्र, प्रयोगशाला, आभारभुत स्वास्थ्य केन्द्र निर्माण गर्ने कार्य अघि बढाएका छौं ।

नेपालमा महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमण फैलिन नदिन के–के गर्नु भयो र थप योजनाहरु के छन् ?

कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणको लागि हामीले थुप्रै प्रयास र पहल गरेका छौं । यो प्रयास र पहल अझै कम गरेका छैनौं । यो महामारीको सुरुवातदेखि नै जनचेतना मुलक कार्यक्रमहरु गर्ने, स्वास्थ्य स्वयम्सेविका, स्वास्थ्यका कर्मचारी, सुरक्षाकर्मि, जनप्रतिनिधी, राजनितिक दलहरु यो कार्यमा लाग्यौं । खास गरी खुला सिमानाका कारणले भारतबाट आउने मानिसहरु ब्यवस्थापन गर्ने, क्वारेन्टाइनमा राख्ने, आईसोलेसनमा राख्ने, पीसीआर परीक्षण गर्ने, संक्रमण भएकालाई अस्पताल पठाउने कुरामा हामी लागेका छौं र यसले गर्दा नियन्त्रण भएको छ । हामीले आइसोलेसन भवन बनाएका छौं ।

सुरुमा नगरपालिकामा १९ वटा क्वारेन्टाइन संचालन गरेका थियौं । यो समयमा स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधी, सुरक्षाकर्मी, राजनीतिक दल, समाजसेवी, बुद्धिजिवीबाट सहयोग भयो । आगामी दिनमा कोभिड–१९ रोकथामका निम्ति भारत तथा अन्य देशबाट आएका सम्भावित लक्षण देखिएका मान्छेलाई निःशुल्क रुपमा पीसीआर परीक्षण गर्ने, होम क्वारेन्टाइनमा पठाउने, होम क्वारेन्टाईनमा बसेकालाई लक्षण देखिएमा तुरन्तै अस्पताल पु¥याउने काम गछौैं ।


क्याटेगोरी : पालिका स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ