२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठपालिका स्वास्थ्य‘नगर क्षेत्रका स्वास्थ्य संस्थाहरुलाई सुदृढीकरण गरेर सबैको पहुँचमा ल्याउँछु’

‘नगर क्षेत्रका स्वास्थ्य संस्थाहरुलाई सुदृढीकरण गरेर सबैको पहुँचमा ल्याउँछु’


कैलाली–कैलाली घोडाघोडी नगरपालिका जिल्लाको मध्य क्षेत्रमा छ । ३५४.४४ वर्ग मिटरमा फैलिएको नगरपालिका १२ वटा वडाहरु मिलेर बनेको छ । नगर क्षेत्रको जनसंख्या ८६ हजार ६७९ रहेको छ । जसमध्ये अधिकांश जनता गरिबीको रेखामुनि छन् ।

घोडाघोडी नगरपालिकाको पूर्वाधार विकासमा खासै सुधार भएको पाइँदैन् । पालिकामा नेतृत्व गरेर आउनेहरुले शिक्षा र स्वास्थ्यलाई प्रथामिकतामा राखिएका प्रतिवद्धताहरु व्यक्त गरे पनि शिक्षा, स्वास्थ्य, खानेपानी, यातयात विद्युत तथा सञ्चारको सुविधा सबै वडामा पुग्न अझै सकेको छैन ।

पालिकाले अहिले नयाँ नेतृत्व पाएको छ । २०७९ सालको स्थानीय तहको निर्वाचनबाट खडकबहादुर रावत नगर प्रमुखमा निर्वाचित भएका छन् । नगरको समग्र विकास र नगरवासीको सेवा गर्ने उद्देश्य लिएका रावतले आफ्नो कार्यकालमा सबै वडाका जनतालाई स्वास्थ्यको पहुँचमा पुर्याउने बताएका छन् ।

नगरपालिकामा सरकारी अस्पताल छैन । नगर अस्पताल निर्माणको प्रक्रिया अघि बढाइएको छ । आर्थिक वर्ष २०७९/८० को सुरुवातमै नगरपालिकाले नगर अस्पताल दर्ता गराइसकेको छ । निर्माणका लागि संघीय सरकारले ठेक्का गरेको थियो । उक्त अस्पतालको जग निर्माण गरिसकेको नगर प्रमुख रावतले बताए । ‘जग निर्माण भएको दुई तीन वर्ष बितिसक्यो । अब भने हामीले पालिकाबाट आफ्नै खर्चमा स्ट्रक्चरहरु निर्माण गरी अबको केही महिनाभित्रमै वरिष्ठ रोग विशेषज्ञहरु सहित अस्पताल सञ्चालनमा ल्याउन जोड दिएका छौँ,’ उनले भने ।

नगरपालिकामा शिक्षा र स्वास्थ्यलाई पहिलो प्रथामिकतामा राखेर काम गर्ने आफ्नो योजना रहेको नगर प्रमुख बताउँछन् । ‘मेरो पालिकाका नागरिकहरुलाई शिक्षित र स्वस्थ बनाउनु मेरो कर्तव्य हो । नागरिक स्वस्थ र शिक्षित भएनन् भने त्यहाँ भौतिक निर्माणको कुनै अर्थ रहँदैन । भौतिक पूर्वाधार उपभोग गर्ने मानिस शारीरिक तथा मानसिक रुपमा स्वस्थ हुँदैन भने त्यो उपभोग कसले गर्ने ?,’ उनी थप्छन्, ‘यही कारण पनि हामीले स्वास्थ्य र शिक्षालाई प्रथामिकतामा राखेर काम गरिरहेका छौँ ।’

नगर प्रमुख रावतले निर्वाचन अघि स्वास्थ्य र शिक्षालाई एजेण्डा बनाए पनि ठूलो प्रतिवद्धता भने नगरेको बताउँछन् । नगरपालिकाको स्रोतले जे योजना ल्याउँछ त्यसलाई पारदर्शी ढङ्गले नगरपालिकालाई अघि बढाउने योजना रहेको र सोहीअनुरुप काम अघि बढाइएको उनी बताउँछन् । उनी भन्छन्, ‘नगरपालिकामा स्वास्थ्य सुधारका लागि ५०० शैय्याको अस्पताल बनाउँछु भनेको छैन् । असम्भव खालका ठूला सपना देखाउँदिन । तर, नगर क्षेत्रभित्र भएका स्वास्थ्य संस्थाहरुलाई सुदृढीकरण गर्ने, स्वास्थ्य संस्थामा जनशक्तिको अभाव हुन नदिने र जनतालाई समय सापेक्ष स्वास्थ्य सुविद्या दिने व्यवस्था लागु गराउने मेरो मुख्य उद्देश्य हो ।’

नगर प्रमुख रावतका अनुसार उनको आगमनसँगै नगर क्षेत्रका स्वास्थ्य संस्थामा आवश्यकताअनुसार कर्मचारी दरबन्दी तथा पदपूर्ति भएको छ । नगरपालिकामा प्रत्येक वडामा स्वास्थ्य संस्था रहेका छन् । भौगोलिक विकटता भएका वडा नम्बर तीन र चारमा दुई वटा स्वास्थ्य संस्था रहेका छन् ।

पालिकामा स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारी तथा स्वयंसेविकालाई जिम्मेवार बनाई परिचालन गरिएको नगर प्रमुख बताउँछन् । सेवाग्राहीको हकहितका लागि कार्यालय समयमा कर्मचारीहरुलाई कार्यालय समयमा सेवा प्रदान गराउन निर्देशन तथा बेलाबेला अनुगमन समेत गरिने उनको भनाइ छ ।

त्यसैगरी, नगर प्रमुख रावतले आफ्नो कार्यकालको सुरुवातसँगै स्वास्थ्य क्षेत्रको तल्लो स्तरमा काम गर्ने महिला स्वास्थ्य स्वयंसेविकालाई पालिकाबाट मासिक एक हजार रुपैयाँ भत्ताको व्यवस्था गरेका छन् । उक्त पालिकामा ८४ जना स्वयंसेविकाले सेवा दिँदै आएका छन् ।


क्याटेगोरी : पालिका स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ