२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठपालिका स्वास्थ्य‘मेरो कार्यकालमा महानगरको स्वास्थ्य क्षेत्रमा धेरै परिवर्तन भएको अनुभूति हुनेछ’

‘मेरो कार्यकालमा महानगरको स्वास्थ्य क्षेत्रमा धेरै परिवर्तन भएको अनुभूति हुनेछ’


भीम पराजुली विराटनगर महानगरपालिकाका मेयर हुन् । नेपाल पूर्वी तराई क्षेत्रको औधोगिक नगरीमा रहेको विराटनगर ठूलो सहर हो । संघीय नेपालमा स्वास्थ्य, शिक्षाजस्ता आधारभूत विकासका कामहरु स्थानीय तहले गर्न सक्ने गरी अधिकार प्रत्योजन गरिएको छ । नेपालका मुख्य सहरमध्ये एक विराटनगर महानगरका मेयर पराजुलीसँग हेल्थआवाजले  उनी नेतृत्वमा आएपछि स्वास्थ्य क्षेत्रमा भएका कामहरु, आगामी स्वास्थ्य योजनालगायतका यावत विषयमा केन्द्रित रहेर गरेको कुराकानीः

विराटनगर महानगरको नेतृत्वमा आएपछि स्वास्थ्य तर्फ के—के काम भइरहेका छन् ?
महानगरका १९ वडामा उपस्वास्थ्य चौकीको स्थापना गर्ने काम अगाडि बढाएका छौं । विराटनगरको वडा नम्बर १५ र १९ मा प्रसुति गृह र १५—१५ शैय्याको अस्पतालको भवन निर्माण गर्ने काम अगाडि बढिरहेको छ । महानगरपालिकाको सुदूरपश्चिम, उत्तर र दक्षिणको भौगोलिक क्षेत्रलाई समेट्ने गरी अस्पताल निर्माण कार्यको तयारी अन्तिम चरणमा पुगेको छ । यस्तै, विराटनगर—५ मा नगर स्वास्थ्य केन्द्र बनाउने कार्य भैरहेको छ ।

त्यस्तै, नगरपालिकाले यसपटकको बजेटअनुसार विराटनगर—१९ मा ‘हटलिस्ट सेन्टर’ बनाउने भएको छ । जसलाई डाक्टरलले उपचारको सम्भव छैन, जीवनको अन्तिम समय आइपुगेको भनिएको हुन्छ, घरमा पनि स्याहार पुग्न नसक्ने अवस्थाको बिरामीले खुशी जीवनयापन गर्ने सकुन भन्ने उद्देश्यको हटलिस्ट अस्पतालको निर्माण प्रकिया अघि बढिरहेको छ । जहाँ २४ घण्टा चिकित्सकीय सेवा दिइनेछ ।

विराटनगर— ९ मा नगरपालिकाको आफ्नै फार्मेसी स्थापना गर्ने कामको प्रारम्भ गर्ने जमर्को गरेका छौं । यस्तै, वडा नम्बर १५ मा भिडियो एक्स—रे सेवा, रेडियोलोजी र घुम्ती शिविरलगायतका थप सेवाहरुका कार्यक्रमलाई जोडेका छौं ।

हामीले कार्यकालको सुरुवातदेखि नै ८४ वर्षकाभन्दा माथिका वृद्धलाई स्वास्थ्य परीक्षण गर्ने र पोषण भत्ता दिने कार्यक्रमलाई निरन्तरता दिइरहेका छौं । विराटनगरले कोरोनाकालमा पनि क्वारेन्टाइन, आइसोलेसन, पिसिआर प्रयोगशाला स्थापना गर्ने, नागरिक केयर सेन्टरको नाममा पहल गरी र १ सय १० बेडको कोरोना अस्पताल निर्माण गरेर प्रदेशलाई हस्तान्तरण पनि ग¥र्यौं । स्वास्थ्यका हिसाबमा प्रदेश सरकार र संघीय सरकारसँग साझेदारी गरेर कार्यक्रमलाई अघि बढायौं ।

स्वास्थ्यका कार्यक्रम गर्ने क्रममा प्रदेश सरकार र संघीय सरकार साझेदारी गर्दा जटिलता आए कि आएनन् ?
हाम्रो अपेक्षाअनुसार बजेटको पाटोमा खासै सहयोग भएको छैन । यद्यपि, हामीले योजना बनाइरहेका छौं । हरेक वडामा स्वास्थ्य केन्द्रको लागि जग्गा उपलब्ध भएको ठाउँमा टेन्डर प्रक्रियालाई अघि बढाएर काम सुरु भएको छ । बजेटको हिसाबमा प्रदेश सरकार र संघीय सरकारको पर्याप्त सहयोग भएको छैन । स्थानीय सरकारलाई प्रदेश एवं संघीय सरकारको सहयोग हुँदा परिणाम राम्रो आउने भएकोले हामीहरुले हरेक कार्यक्रममा सधैँ जोड्ने प्रयास गरिरहेका छौं ।

स्थानीय तहले चिकित्सक र स्वास्थ्य जनशक्तिको अभाव खेपिरहेका छन् । विराटनगर महानगरपालिकाले जनशक्तिको व्यवस्थापन कसरी गरिरहेको छ ?
नगरपालिकाले आन्तरिक स्रोतबाट विज्ञापन गरेर स्टाफ नर्स, मेडिकल अफिसरहरु ल्याएका छौं । केही जनशक्ति सरकारले छात्रवृतिमा पढेका विद्यार्थीहरुलाई पठाइदिएको छ । जुन एउटा अवधिभरको लागि काम गर्नुहुन्छ । केही समयअघि भ्याकेन्सी खोलेर २२ जना स्वास्थ्य कर्मचारी थपेका थियौं । अहिले पनि हामीले स्वास्थ्यकर्मीको लागि भ्याकेन्सी खोलिरहेका छौं ।

भारतसँग सीमा जोडिएको महानगरले कोभिड—१९ नियन्त्रणका लागि कसरी काम ग¥यो ?
कोभिड—१९ को पहिचान गर्न सकियोस भन्ने उद्देश्यले दक्षिण सीमामा हामीले कोरोनाको महामारीदेखि स्वास्थ्य केन्द्र खोलेका छौं । अहिले विश्व स्वास्थ्य संगठनको सहयोगमा त्यो अस्थायी क्याम्पको रुपमा संचालन भैरहेको छ । अब त्यसलाई स्थायी बनाउने प्रक्रियामा काम गर्दैछौं ।

कोरोनाको दोस्रो लहरलाई रोक्नका लागि महानगरका तयारीहरु के—के छन् ?
कोरोना कालको सुरुमा नै प्रोटोकलमा नहुँदा पनि संघ र प्रदेशले गर्ने काम पनि गरिरहेका थियौं । कोरोनाको पहिलो लहरको समयमा संघ र प्रदेशले ल्याब स्थापना गर्न नसकेको अवस्थामा पनि महानगरले निजीस्तरबाट ४ दिनको अवधिमा कोशी अस्पतालमा पिसिआर ल्याब बनायो । मेरो आफ्नो एक वर्षको पारिश्रमिकको सेवा सुविधा पनि हालेको थिए । प्रदेश सरकारसँग मिलेर पनि कोभिड अस्पताल निर्माण भयो ।

अहिले दोस्रो लहर नआओस् भन्ने हेतुले हामीले पूर्व तयारी गरिरहेका छौं । अहिले कोरोनाको केस पनि फाट्टफुट मात्रै छ । पहिलाको अनुभव र जनशक्ति पनि पर्याप्त भएकोले दोस्रो लहर आएमा पनि यसको नियन्त्रणको लागि महानगरपालिका तयार छ ।

अहिले सहरमुखी भेला र राजनीतिक गतिविधि बढिरहेका छन् । कोभिड—१९ नियन्त्रण उन्मुख रहेका बेला यस्ता जमघट उपयुक्त हुन्छ ?

अहिले देश नै संकटमा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा नभएको असंवैधानिक कदम चाल्नुभयो । यो समयमा भिडभाड गर्न नहुने थाहा हुँदाहुँदै पनि भिडभाड गर्नुपर्ने बाध्यता छ । तर, हामीले स्वास्थ्यको सावधानी अपनाउनुपर्छ भनेर महानगरपालिकाले जनतालाई सूचित गरिरहेको छ । आफू नै सचेत हुनुबाहेकको कुनै विकल्प छैन । खोप आउँदा मात्रै कोरोना नियन्त्रण हुँदैन । त्यसैले हामी आफै आत्मबोध गरेर अघि बढ्नुपर्ने हुन्छ ।

महानगरपालिका सरकारका लागि स्वास्थ्य प्राथमिकताको कुन तहमा पर्छ ?
स्थानीय तहको पूर्वधारपछि दोस्रो प्राथमिकता स्वास्थ्य र शिक्षा हो । प्राथमिकताको आधारमा नै स्वास्थ्य क्षेत्रमा काम भैरहेको छ ।

स्वास्थ्यसँग खानपिन पनि जोडिन आउँछ । यसको लागि महानगरपालिका के व्यवस्था गरेको छ ?

जाइकासँगको सहकार्यमा स्वच्छ खानेपानीको लागि ‘एक घर एक धारा’को अवधारणामा कार्य भैरहेको छ । दीर्घकालीन पानीको समस्यालाई हटाउनको लागि खानेपानी परियोजना डिपीआरको चरणमा छ । लगभग साढे ३ अर्बको लगानीमा खानेपानीको प्रोजेक्ट चलिरहेको छ । शुद्ध पानी पिउन पाउनुपर्छ भन्ने कुरालाई मध्यनजर गर्दै सम्बन्धित निकायसँग मिलेर कार्य गरिरहेका छौं । यससँगै पूरानो पाइपलाई हटाएर नयाँ पाइपको विस्तार गर्ने काममा पनि अघि बढिरहेका छौं । फोहोर व्यवस्थापनका लागि पनि कामहरु भइरहेका छन् । फोहोरबाट उर्जाका लागि कोरियन मन्त्रालयसँगको सहकार्यमा ५० करोड रुपैयाँ पनि विनियोजन भैसकेको छ । यसको लागि महानगरपालिकाको मास्टरप्लान पनि छ ।

महानगरमा वातावरण संरक्षणका क्षेत्रमा के-कस्ता प्रयास भइरहेका छन् ?
विभिन्न वातारवरणविदहरु राखेर फोहोर व्यस्थापन गर्न र वातावरण प्रदुषण रोक्न वा कम गर्न के—कस्ता कार्य गर्न सकिन्छ भनेर निरन्तर रुपमा छलफल गरिरहेका छौं । प्रदूषण नियन्त्रणका लागि प्रत्येक वडा र टोलमा विभिन्न सूचना सम्प्रेषण गर्ने, उद्योग, कलकारखानालाई दूषित पानी फ्याक्न नदिने, धुवाँ प्रदुषणलाई कम गर्नेजस्ता सचेतना दिने काम भैरहेको छ । संघ र प्रदेशलाई पनि यसमा काम गर्नको लागि विभिन्न समयमा उत्प्रेरित गरिरहेका छौं ।

अबको १५ महिनापछि महानगरमा नयाँ नेतृत्व आउँछ । नेतृत्व हस्तान्तरण गर्दासम्म महानगरको स्वास्थ्यलाई कहाँ पु¥याउने लक्ष्य छ ?
हिजोको अवस्थामा महानगरमा उप—स्वास्थ्य चौकी समेत थिएन । हामी आएपछि उप—स्वास्थ्यचौकी, अस्पताल, फार्मेसीहरुको निर्माण कार्य भैरहेको छ । गर्भवती महिलाको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने कार्यहरु भएको छ । हामी हुनसक्ने सबै आवश्यक कामहरु गरिरहेका छौं । हाम्रो डेढ वर्षको कार्यकालमा स्वास्थ्यका क्षेत्रमा धेरै नै परिवर्तन भएको अनुभूति हुनेछ । हामीले छोड्दै गर्दा स्वास्थ्यमा यहाँका नागरिकले पनि धेरै परिवर्तन भएको अनुभूति गर्ने विश्वास दिलाउछौँ ।


क्याटेगोरी : पालिका स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ