२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. दिलिप शर्माको सल्लाहः कलेजो कसरी बलियो बनाउने ?

डा. दिलिप शर्माको सल्लाहः कलेजो कसरी बलियो बनाउने ?


हेपाटाइटिस बी भाइरस पत्ता लगाउने वैज्ञानिक बोम्बर्डका जन्मदिनको अवसर पारेर प्रत्येक वर्ष आजका दिन वा जुलाई २८ का दिन ‘विश्व हेपाटाइटिस दिवस’ मनाइन्छ । यो दिवस मनाउनुको कारण आम मानिसमा जनचेतना जगाउनु र नीति निर्मातालाई अझ बढी चनाखो बनाउनु एवं सचेत गराउनु हो ।

कलेजोसँग जोडिएका रोगहरु धेरै प्रकारका हुन्छन् । योे आफैमा एक ठूलो अंग हो । यसका विभिन्न रोगहरुमध्ये भाइरसले सिर्जित गर्ने रोगलाई भाइरल हेपाटाइटिस भनिन्छ । त्यसैगरी कलेजोको क्यान्सर हुन्छ । कलेजोमा अटो इम्युन डिजिज भन्ने देखिन्छ । यस्तै, कलेजोसँग जोडिएका विभिन्न खानपानसँग सम्बन्धित रोगलाई फ्याटी लिभर डिजिज भनिन्छ ।

संसारमा आजको मितिमा करिब ४० करोड मानिसलाई हेपाटाइटिस सम्बन्धि समस्या कुनै न कुनै कालखण्डमा भएको छ । तर, २९ करोड हाराहारी मानिस आफूलाई हेपाटाइटिस छ भन्ने थाहा नभइकनै बाँचिरहेका छन् । हेपाटाइटिस डे हामीले मनाउँदैं गर्दा ती २९ करोड संक्रमितको टेस्टिङ गरेर रोग पत्ता लगाएर उपचारमा लाग्नु मुख्य उद्देश्य हो ।

हाम्रो देशमा कलेजो सम्बन्धि सबैभन्दा बढी लामो समय रक्सीजन्य पदार्थ सेवनबाट देखिने क्रोनिक डिजिज, अल्कोहोलिक लिभर डिजिज, अल्कोहोलिक लिभर सेरोसिस हो । दोस्रोमा भाइरल हेपाटाइटिस हो । यी दुई किसिमका हुन्छन् । त्यसमध्ये फोहोर पानीबाट फैलिने हेपाटाइटिस ई र ए हुन्छ भने अर्काे भनेको रगतजन्य पदार्थ एवं आमाबाट बच्चामा देखिने अथवा लागु पदार्थ दुव्र्यसनीहरुमा देखिने बी र सी हो ।

जण्डिस के हो ?

हामी सबैले के बुझ्न जरुरी छ भने जन्डिस भनेको रोग होइन । जन्डिस भनेको कुनै समस्याको लक्षण हो । आयुर्वेदले जन्डिसलाई कमलपित्त भनेर रोगको रुपमा लिन्छ तर एलोपेथिक मेडिकल चिकित्सामा यो रोगको लक्षण हो । मेडिकल साइन्सले पित्तमा पत्थरी भएर कलेजोमा पुग्दा पनि जन्डिस देखिन सक्छ ।

लिभर क्यान्सर हुँदा पनि जन्डिस हुन सक्छ । भाइरल हेपाटाइटिसमा पनि साधारण मानिसले बुझ्ने ए र ई बाट सर्ने हेपाटाइटिसमा पनि जन्डिस देखिन्छ । त्यस्तै, अन्य क्रोनिक रोगीहरुमा पनि जन्डिस देखिन्छ । विविध कारणले देखिने जण्डिसलाई कारणअनुसार फरक विधीबाट उपचार गर्नुपर्छ । स्टोनका कारण भएको छ नै त्यसको आफ्नै उपचार पद्धति हुन्छ ।

भाइरसका कारण देखिएको हेपाटाइटिस ए र ई छ भने खाना खाएर निको हुन्छ । बी र सीका लागि छु्ट्टै उपचार विधी छ । क्यान्सर उपचारको विधी अर्कै रहेको छ । जन्डिसको पर्यायवाची भनेको खानावाद हो । जन्डिसको मुख्य उपचार भनेको खाना राम्ररी खानु हो । हेपाटाइटिस भएर जन्डिस देखियो भने सबैभन्दा पहिलो एक पाउ (२०० ग्राम) मिश्रीलाई पानीमा हालेर काडा बनाएर खानुपर्छ । यो बेला ग्लुकोजलाई स्टोर गर्ने क्षमता कमजोर हुन्छ, मिश्री पानीले ग्लुकोजको अभावलाई पूर्ति गर्छ ।

जण्डिस देखिदा काँक्रा, गाजर, मेवा, मुला जसलाई औषधि नै मानेर खाइन्छ । त्यो औषधिको रुपमा खान हुँदैन्, १/२ टुक्रा सामान्य हो । त्यसले केही फाइदा गर्दैन । बरु, मौसमी फलफूल सुन्तला, आँप, स्याउ जे खादा हुन्छ ।

हामी कहाँ नुन र बेसार खान हुँदैन भन्ने चलन रहेको छ । जबकी बेसारलाई एन्टिसेप्टिक पनि भनिन्छ । यसले भएको किटाणुलाई पनि मार्ने काम गर्छ । उमालेको पानी खानुपर्छ, सफा पानी पिउनुपर्छ । आयुर्वेदमा पनि आफ्नै पद्धतिको विज्ञान छ । तर, यो विषयमा हाम्रो मुलुकमा के अपवाह फैलाइएको छ, जण्डिस लागेमा मेडिकल चिकित्सालाई विश्वास गर्नु हुँदैन् । आयुर्वेदमा भएको औषधिले साइड इफेक्ट गर्दैन । यी औषधिको डल्ला घोलेर खानुहोस् निको हुन्छ भनिन्छ । यो चाहिँ विल्कुल गलत हो ।

हेपाटाइटिस ई र ए बढी देखिने जन्डिस हो । यो कारण हुने जन्डिस लिएर आउने बिरामीले खाना राम्रो खाए स्वतः निको हुन्छ । अर्काे भनेको बी र सीका लागि चाहिँ औषधि उपलब्ध छन् । हेपाटाइटिस सी को पनि धेरै सजिलो भएको छ । जटिल मानिने यसको निर्मुल हाल १२ हप्ता औषधि खाएपछि आफै निको हुन्छ ।

किन भएन जनस्वास्थ्यको विषय ?

संसारभर एचआईभीको तुलनामा हेपाटाइटिस बी करिब २८ गुणा र हेपाटाइटिस सी ८ गुणा बढी रहेको छ । तर, सरकार र दातृ निकायहरुले एचआईभीले जति प्राथमिकता पाएको छ, त्यो तुलनामा हेपाटाइटिसले पाएको छैन । यसको प्रमुख कारण भनेको नीतिगत तहमा बसेका व्यक्तिहरुलाई यसले नछुनु हो । हेपाटाइटिस सम्बन्धि रोगले पार्ने प्रभाव र समय घर्किसकेपछि उपचारमा लाग्ने खर्चको अनुमान कसैले गरेको छैन । देशको स्वास्थ्य अर्थव्यवस्थामा कति असर गरेको छ ?

त्यसको लेखाजोखा भएकै छैन । राज्यले जनस्वास्थ्यको रुपमा लिएर यो रोग सम्बन्धि फैलाउनुपर्ने चेतना पुगेकै छैन । केही विज्ञले सन् २०१५ मा विश्व स्वास्थ्य संगठनमा कार्यपत्र पेश गरेपछि मात्र एउटा स्ट्राटेजी बनेको हो । सन् २०१६ देखि २१ सम्मको पञ्चवर्षीय कार्ययोजनामा २०३० सम्म हेपाटाइटिसलाई संसारबाट निर्मुल पार्ने उद्धेश्य राखिएको छ । हाम्रो देशमा पनि एउटा गाइडलाइन बनाइएको थियो । त्यो मन्त्रालयबाट स्वीकृत हुने क्रममा रहेको छ । तर, अझै पनि हाम्रो देशका जनस्वास्थ्यमा कार्यरत निकायहरुले यसको प्राथमिकता बुझेका छैनन् ।

यसलाई स्वास्थ्य नीतिमै जनस्वास्थ्यको विषयको रुपमा राख्नुपर्ने केही तथ्यहरु छन् । नेपालमा कुनै पनि व्यक्तिले क्यान्सर देखियो भने राज्यबाट १ लाख बराबरको औषधि सहयोग पाउँछ । त्यस्तै हेपाटाइटिस बी अथवा सीका कारण कलेजो क्यान्सर देखियो भने उसले १ लाख रुपैैयाँ त पाउँछ । त्यहि व्यक्तिको क्यान्सर हुने कारक तत्व हेपाटाइटिसको सुरुमै उपचार गरिदिने हो भने त्यति रकम खर्च नहुने त छदैंछ । उसलाई क्यान्सर पनि हुँदैन । जबकी आजको दिनमा हेपाटाइटिस सीको उपचारका लागि ५० देखि ६० हजार खर्च लाग्छ । त्यसकारण राज्य यस विषमा गम्भीर हुन आवश्यक छ ।

दोस्रो, कलेजो प्रत्यारोपण गर्नुप¥यो भने सोच्दै नसोचेको खर्च हुन्छ । कलेजो प्रत्यारोपण गर्दा सुरुका दिनहरुमा राज्यले दिने रकम जति छ, पछिल्ला दिनहरुमा त्यसमा वृद्धि गर्नुपर्छ । किनभने, प्रत्यारोपण एक जटिल प्रकारको सर्जरी हो । यसमा प्रविधि, जनशक्तिको धेरै आवश्यक पर्दछ । त्यसको साटो हेपाटाइटिस बी र सीको औषधि राज्यले निःशुल्क गरिदिएमा हामीले भोलिका दिनमा हुने कलेजो क्यान्सरसहित अन्य धेरै रोग कम गर्न सकिन्छ ।

कलेजो कसरी बलियो पार्ने ?

धेरै व्यक्तिले सोध्ने प्रश्न कलेजोलाई कसरी बलियो पार्ने हो ? के खाएमा कलेजो स्वस्थ हुन्छ ? वास्तवमा कलेजोलाई दुःख नदिने र नबिगार्ने चिज खाने भनेकै कलेजोलाई स्वस्थ राख्ने भरपर्दाे उपाय हो । सुगर, उच्च रक्तचाप, उच्च कोलेस्टोर र मोटोपनका समस्या छ भने ती व्यक्ति मदिरा, रातो मासुबाट टाढा रहँदै शारीरिक व्यायाम र कसरतमा ध्यान दिनुपर्छ । अल्छीपन छोड्नुपर्छ । सामान्य व्यक्तिले खान सकिने खाना खान मिल्छ । यस्तै, घरमै बनेका खानाहरु खानुपर्छ ।

कलेजो जोगाउ अभियानको सबभन्दा महत्वपूर्ण पाटो भनेको स्वस्थ जीवनशैली हो । यसले कलेजोको रोगका साथसाथै मुटु तथा मिर्गाैला रोगबाट पनि टाढा राख्छ । स्वस्थ जीवनशैली कलेजो बलियो बनाउने पहिलो उपाय हो । कलेजोमा अलिअलि बोसो लाग्न थाल्यो भने त्यो दिनबाटै रक्सीबाट पूर्ण रुपमा छोड्नुपर्छ ।

परिवारका कुनै सदस्यमा कलेजोको दीर्घकालीन रोगका कारण मृत्यु भएको छ वा लिभर क्यान्सर वा क्रोनिक लिभर डिजिज छ भने ती व्यक्तिहरुले नियमित रुपमा ६ महिना वा १ वर्षमा कलेजोको अल्ट्रासाउण्ड वा फङशनल टेस्टहरु गराइरहनु पर्छ ।


तस्वीरः नवराज वाग्ले


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ