२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यपाइल्स, फिस्टुला र फिसरमा आयुर्वेद उपचार पद्धतिको प्रभावकारिता

पाइल्स, फिस्टुला र फिसरमा आयुर्वेद उपचार पद्धतिको प्रभावकारिता


‘आयु’ र ‘वेद’ शब्दहरू मिलेर बनेको आयुर्वेदको अर्थ जीवनको विज्ञान हो । आयुर्वेद पूर्वीय सभ्यतामा आधारित चिकित्सा पद्धति हो । जसको मूल उद्धेश्य स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु र रोगी व्यक्तिको रोग निवारण गर्नु हो । मानव सृष्टिको आदि कालदेखि स्वास्थ्यको रक्षा हेतु आयुर्वेदशास्त्रको प्रयोग भइरहेको विभिन्न अभिलेखद्वारा प्रष्ट हुन्छ ।

विभिन्न औषधीको प्रयोग गरेर र शल्यक्रिया दुवै उपायबाट आयुर्वेदमा रोगको निवारण गरिन्छ । शल्य विभागमा अधिक संख्यामा देखिने रोगमा मलद्वार सम्बन्धि रोगहरू जस्तै पाइल्स (अर्श), फिस्टुला (भगन्दर) र फिसर (परीकर्तिका) पर्छन् । अस्वस्थ खानपान र अव्यवस्थित जीवनशैली नै यी रोगहरूको मुख्य कारण हो ।

मलद्वारस्थित रगत संचार हुने शिराहरूमा लगातारको चापले गर्दा शिराहरू तन्किएर मांस अंकुरजस्तो आकृति मलद्वारबाट बाहिर आउने समस्यालाई अर्श अर्थात पाइल्स भनिन्छ । लामो समयसम्म उपचार नगर्दा तन्किएको रक्तनली चापले गर्दा फुटेर अधिक रक्तस्राव पनि हुनसक्छ । त्यसैले पाइल्स रोगको बिरामीले कब्जियत हुन दिनु हुँदैन र लामो समयसम्म शौचालयमा बसिरहन हुँदैन ।

आयुर्वेद चिकित्सा पद्धतिमा अर्शको प्रकृति हेरेर उपचार गरिन्छ । सामान्य लक्षण भएका रोगीलाई औषधी सेवनले नै रोग निको हुन्छ । गम्भीर लक्षण भएका रोगीलाई क्षारसुत्र विधिद्वारा मांसांकुरलाई निकालिन्छ र पूर्णरूपमा रोगको निवारण गरिन्छ ।

भगन्दर अर्थात एनल फिस्टुला किटाणुको संक्रमणले बनेको घाउ फैलिएर बनेको कृत्रिम नली हो । जुन एकतर्फ मलद्वार भित्र र अर्कोतर्फ मलद्वार बाहिरको छालामा खुल्छ । फिस्टुलामा रोगीलाई मलद्वारमा चिलाउने, दुखाइ हुने, घाउ पाकेर पिप जम्मा हुने आदि लक्षण देखिन्छ । औषधी र ड्रेसिङले घाउ निको भएपनि केहि सयमपछि यो पुनः देखापर्छ ।

त्यसैले फिस्टुलाको उपचारमा शल्यविधि नै प्रभावकारी मानिन्छ । आयुर्वेद चिकित्सा पद्धतिमा प्रचलित क्षारसुत्र फिस्टुलामा अत्यन्त प्रभावकारी छ । यो विधिद्वारा गरिएको उपचारमा रोग बल्झने सम्भावना ३.५५ भन्दा कम रहेको र क्षारसुत्र प्रयोग नगरी गरिएको शल्यक्रियामा यो रोग बल्झने सम्भावना १८५ सम्म रहेको अध्ययनहरूले देखाएको छ ।

परिकर्तिका अर्थात एनल फिसर भनेको मलद्वारको बाहिरी भागको छाला च्यातिने समस्या हो । यो रोगको लक्षणहरूमा तीव्र बेदना र रक्तस्राव प्रमुख हुन् । लामो समयदेखि कब्जियत हुने व्यक्तिहरूमा फिसर देखिने सम्भावना धेरै हुन्छ । दिशा गर्ने समयमा धेरै बल गर्दा मलद्वारको छाला च्यातिएर रक्तस्राव हुन्छ र रोगीलाई असह्य पीडासँगै मलद्वार पोल्ने समस्या पनि हुन्छ ।

फिस्टुलाको उपचार भनेको कब्जियत हुन नदिनु नै हो । यसको लागि आयुर्वेद चिकित्सा पद्धतिमा विभिन्न औषधीहरू छन् जसले कब्जियत हटाउँछ र बनेको घाउलाई निको हुन मद्दत गर्छ । औषधी सेवन र खानपानमा ध्यान दिन सकेमा यो रोग पूर्णरूपमा निको हुन्छ ।

मलद्वार सम्बन्धि माथि उल्लेखित रोगहरूको मुल कारण अव्यवस्थित खानपान र जीवनशैली हो । त्यसैले रोगको उपचारमा खानपानको विशेष भूमिका हुन्छ । रोगीले खान नहुने खानेकुराहरू यसप्रकार छन्ः

—मैदाबाट परिकारहरू जस्तै मःमः, चाउमिन, नान, चाउचाउ आदि ।

—मासु, अण्डा र तारेको खानेकुरा

—केरा, अनार, भण्टा, अम्बा आदि कब्जियत बढाउने फल

—मरिच, अदुवा र खुर्सानी

—चियाकफी

—चुरोट, सुर्ती, रक्सी आदि ।

खानेकुरामा ध्यान दिने र चिकित्सकको सल्लाहमा औषधी सेवन वा क्षारसुत्र विधिद्वारा उपचार गरेमा पाइल्स, फिस्टुला र फिसर रोगको पूर्णरूपमा निवारण सम्भव छ ।


क्याटेगोरी : जनस्वास्थ्य, वैकल्पिक चिकित्सा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ