२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यचिसोमा रोटा भाइरसले सताउला बच्चालाई !

चिसोमा रोटा भाइरसले सताउला बच्चालाई !


नेपालका बच्चाहरूमा देखिने संक्रमणमध्ये निमोनियापछि ठूलो महामारीका रूपमा झाडापखाला पर्छ । त्यसमा पनि जाडोको समय र गर्मी सुरु हुँदाका बखत देखिने रोटा भाइरसका कारण हुने संक्रमण बढी देखिन्छ । बच्चामा देखिने झाडापखालामा ५० प्रतिशतभन्दा बढी संक्रमणको कारण सोही भाइरस हो । गर्मी महिनामा पनि रोटा भाइरसका कारण हुने झाडापखाला देखिन्छ, तर यो अत्यन्तै न्यून हुन्छ ।

कसरी सर्छ रोटा भाइरस ?
यो भाइरस फोहोरमैला, पानी वा खानामा हुन्छ । कहिलेकाहीँ मानिसको शरीरमा पनि बसिरहेको हुन्छ । सबैभन्दा बढी दिसामा हुन्छ । यो भाइरस कुनै पनि माध्यमबाट शरीरमा गयो भने झाडापखाला लाग्ने गर्छ । विशेष गरी दिसामा भएको भाइरस मुखको माध्यमबाट जाँदा झाडापखाला लाग्छ ।

त्यो प्रक्रियालाई अंग्रेजीमा ‘पिको ओरल’ भनिन्छ । सोही कारण बच्चालाई छुनुअघि र केही खुवाउनुपहिले सफा साबुन पानीले हात धुनुपर्छ ।

यदि फोहोर छोएर हात नधोई खाना खायौँ भने त्यो पेटमा जान्छ । त्यसका साथै फोहोर धेरै छ भने झिंगामार्फत पनि यो भाइरस सर्न सक्छ । घरमा हुने मुसा, झिँगा, साङ्लाको माध्यमबाट खानेकुरामा भाइरस आउन सक्छ । त्यो सेवन गर्दा झाडापखाला लाग्न सक्छ ।

झाडापखालाले जलवियोजन गराउँछ । झाडापखालाले नै बच्चाको मृत्यु भने हुँदैन । तर, यसले गराउने जलवियोजनले गर्दा बच्चाको मृत्यु हुन सक्छ । बारम्बार पखाला लाग्दा बच्चाको शरीरमा आवश्यक पर्ने पानीको मात्रा घट्न जान्छ । लगातारको पानीसहितको दिसा र बान्ताले गर्दा बच्चालाई जलवियोजन हुन्छ ।

जलवियोजन हुँदा
धेरै तिर्खा लाग्छ ।

छटपटी बढ्छ ।

हेर्दा आँखा गढेको देखिन्छ ।

पेटको छाला तानेर हेर्दा हतपत नफर्किने हुन्छ ।

कडा जलवियोजन भएमा बच्चाले झोल पदार्थ पिउन सक्दैन ।

खानेकुरा खान सक्दैन ।

सानो बच्चा छ भने आमाको दूध तान्न सक्दैन ।

बच्चा बेहोस हुन सक्छ ।

झाडापखालाको उपचार

झाडापखालाको मुख्य उपचार जलवियोजनको उपचार नै हो ।

जति जलवियोजन भएर शरीरबाट पानी बाहिर जान्छ, त्यति नै झोल पदार्थ खुवाउने गर्नुपर्छ ।

६ महिनासम्मको बच्चालाई सादा पानी र जीवनजलसँगै स्तनपान लगातार गराउनुपर्छ ।

६ महिनामाथिको बच्चा छ भने जीवनजलको साथसाथै आमाको दूध, दालको रस, गेडागुडी तरकारीको रस खुवाउने, ताजा फलफूलको रस र केरा खुवाउनुपर्छ ।

थोरै मात्रामा जाउलोसँग दही वा मोही पनि झाडापखाला लागेका वेला राम्रो हुन्छ ।

झाडापखाला लागेका वेला जंक फुड खुवाउनुहुँदैन ।

झोलपदार्थसँगै जिंक चक्की खुवाउनु राम्रो हुन्छ । यसले कहिलेकाहीँ उल्टी गराउन सक्छ, तर आफैँ ठीक हुन्छ ।
कडा जलवियोजन भएको अवस्थामा तत्काल स्वास्थ्य संस्था लानुपर्छ ।

प्रायस् झाडापखाला ३ दिनदेखि ७ दिनसम्ममा आफैँ ठीक हुन्छ । सोभन्दा लामो समय लागेमा स्वास्थ्य संस्था लैजानुपर्छ ।

रोकथाम
जाडोमा हुने झाडापखालामा रोटा भाइरसविरुद्धको खोप दिनु राम्रो हुन्छ ।
सधैँ ताजा र सफा खानेकुरा मात्र खुवाउनुपर्छ ।
शुद्ध पानी मात्र पिउन दिने ।
घरवरपरको वातावरण र चर्पी सफा राख्ने ।
केही खानुअघि र खाइसकेपछि अनिवार्य साबुनपानीले राम्ररी हात धुने ।
बाहिर गएर आएपछि सीधै बच्चालाई नसमाउने । समाउनुअघि हातखुट्टा राम्ररी धुने ।

जान्नैपर्ने कुरा
दुई हप्ताभन्दा कम समय झाडापखाला लागेको छ भने एन्टीबायोटिक खुवाउनुहुँदैन । खुवाउनुपरेमा अनिवार्य चिकित्सकको सल्लाह लिनुपर्छ ।

दुई हप्ताभन्दा लामो समय झाडापखाला लागेमा त्यसलाई दीर्घ झाडापखाला (क्रोनिक डायरिया) भनिन्छ । जसको उपचार फरक हुन्छ । त्यसमा पहिले कारण पत्ता लगाउनुपर्छ जसका लागि स्वास्थ्य संस्थामा लैजानुपर्छ ।

केरामा पोटासियमको मात्रा बढी हुन्छ । झाडापखाला भएको बच्चामा यो तत्व कम हुन्छ । त्यसले पेट फुलाउँछ, त्यसलाई नियन्त्रण गर्न फलफूल आवश्यक हुन्छ ।

झाडापखाला लागेका वेला बच्चाले कतिपटक पिसाब गर्छ त्यो हेर्नुपर्छ । सो वेला कम्तीमा एक दिनमा ७ पटक पिसाब फेरेको हुनुपर्छ । झोलपदार्थ कम खाँदा कम पिसाब हुने र त्यसले मृगौलामा असर गर्ने हुन्छ ।

झाडापखालाको उपचार गर्दा एन्टीबायोटिक खान आवश्यक छैन । त्यस्तो औषधि खुवाएमा बच्चाको रोगप्रतिरोधी क्षमता कम भई झनै समस्या हुन सक्छ ।

दिसामा रगत गएको पाइएमा आउँ हुन सक्छ यस्तो वेला तत्काल स्वास्थ्य संस्थामा लगी दिसा जाँच गराउनुपर्छ ।

समय नपुगी जन्मिएका बच्चा, रोगसँग लड्ने क्षमता कम भएको बच्चा, कुपोषण भएको बच्चालाई दीर्घ झाडापखाला लाग्ने सम्भावना हुन्छ ।

लक्षण
सबैभन्दा पहिले बान्ता सुरु हुन्छ ।

त्यसपछि दिसा पातलो हुन सक्छ ।

मन्द गतिको ज्वरो आउँछ ।

पेट दुख्छ ।

यो भाइरसले हुने झडापखालामा रगत भने देखिँदैन ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ