२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यजाडो मौसममा छालाको सुरक्षा कसरी गर्ने ?

जाडो मौसममा छालाको सुरक्षा कसरी गर्ने ?


चाडो मौसममा हाम्रो वरपरको वातावरण सबै सुख्खा भैरहेको हुन्छ । जसकारण हाम्रो शरीरको छाला पनि सुख्खा भैरहेको हुन्छ । शरीरको सुख्खापनको कारण नै छालामा धेरै समस्याहरु आउने गर्छ ।

हाम्रो शरीरको बाहिरी सतहलाई एपिडर्मिस भनिन्छ, जसले हाम्रो शरीरको पानीलाई रोक्ने काम गर्छ । जाडो महिनामा त्यो इपिडर्मिस ब्रेक डाउन हुन्छ, जसले गर्दा छाला फुस्रो हुने गर्छ । छालामा अरु समस्याहरु आउन थाल्छन् ।

छालालाई सुरक्षित राख्न के गर्ने ?

जाडो मौसममा हाम्रो शरीरलाई चाहिने भनेको पानी हो । त्यसैले यो मौसममा २ लिटर जति पानी त पिउनु नै पर्छ । जाडो मौसममा सबैभन्दा पहिले छालाको समस्या छाला सुख्खा हुनुबाट सुरु हुन्छ । त्यसैले छालालाई सुख्खा हुन नदिन सबैभन्दा सजिलो यो मौसममा मोइस्चराइजरको प्रयोग गर्नुपर्छ ।

तर, त्यो एकपटक लगाएर पुग्दैन् । समय—समयमा लगाइरहनुपर्छ । यो लगाउने पनि तरिका हुन्छ । हामीले जहिले पनि छाला सुख्खा बनाएर मात्रै मोइस्चराइजर लगाउने गरेका हुन्छौं । तर, त्यो गलत हो । छालालाई सुख्खा हुन दिनु हुँदैन् । छालामा थोरै पानी हुँदाहुँदै मोइस्चराइजर लगाउनु एकदमै उपयुक्त हुन्छ ।

नुहाउँदा मनतातो पानीले नुहाउने नुहाउना साथ मोइस्चराइजर लगाउने गर्नुपर्छ । दिनहुँ नुहाउँदा पनि शरीरमा भएको राम्रो ब्याक्टेरिया पखालिन्छ र शरीर झन कमजोर हुन्छ । त्यसैले सधैँ नुहाए पनि छिटो नुहाउनुपर्छ । पानीमा धेरै बेर बस्नु हुन्न ।

छालाको बाहिरी लेयरको काम भनेको शरीरमा आउने पोलुसनबाट जोगाउने हो । हाम्रो छाला पहिले देखि नै बलियो हुन्छ । त्यसैले फोहोर छुना साथ हाम्रो शरीरमा इन्फेक्सन भइहाल्ने हुँदैन्, प्रोटेक्सन लेयर हुन्छ । जसले हामीलाई इन्फेक्सन हुनबाट बचाउँछ । तर, जब छाला सुख्खा हुन्छ, प्रोटेक्सन लेयर बिग्रिन थाल्छ र समस्या हुन्छ ।

जाडोमा छालामा कस्ता स्वास्थ्य समस्या देखिन्छ ?

सुख्खापनको कारण शरीरमा एक्जिमा हुन थाल्छ । एक्जिमा हुँदा सुरुमा साना—साना दानाहरू आउन थाल्छन् । त्यसपछि ती दानाहरू चिलाउन थाल्छन् । ठूलो हुन्छ र त्यहाँबाट ब्याक्टेरिया छिर्न थाल्छन् त्यसपछि इन्फेक्सन पनि सुरु हुन्छ । पहिले हुने समस्या भनेको एक्जिमा नै हो । त्यसपछि मानिसको उमेर र उसको शरीर कतिको स्वस्थ छ भन्ने कुराले पनि फरक पार्छ ।

जाडो मौसममा शरीर चिलाउना साथ प्रायःले फोहोर भएर चिलाएको हुन सक्छ भन्ने सोच्छन् । चिनाएको स्थानमा साबुन र पानीले अत्याधिक धुने गर्छन् । चिलायो भन्दैमा फोहोरले नै चिलाएको हुँदैन । छालामा सुख्खापनले गर्दा चिलाएको हुन सक्छ ।

सधैँ सफा भइराख्ने मान्छेलाई पनि चिलाउने समस्या भैरहेको हुन्छ । त्यसैले चिलाउनु भनेको फोहोरले नै भन्न मिल्दैन् । छालालाई चाहिनेभन्दा धेरै सफा गर्न थाल्यो भने पनि त्यसले समस्या निम्त्याउँछ । जस्तैः जाडो मौसममा शरीरको सरसफाइका लागि तातो पानीले नुहाउने गर्छन् । तातो पानीले झन ओभर ड्राई गर्छ भने साबुन धेरै प्रयोग गर्नाले पनि ड्राई गर्छ । र एक्जिमा सुरु हुन्छ ।

छालाको समस्याबाट बच्न के गर्ने ?

हाम्रो शरीरलाई चाहिने भनेको भिटामिन ए, सी र ई मुख्य हुन् । रिङकल्स नपरोस् भन्नको लागि भिटामिन सी खानुपर्छ । भिटामिन सी जुसी फ्रुड्सहरुमा पाउने गर्छ । सुन्तला, किबीजस्ता फलफूलहरूमा भिटामिन सी प्रशस्त हुन्छ । त्यसैले जुसी फलफुलहरू खानमा जोड दिनुपर्छ ।
हाम्रो शरीरलाई भित्रैबाट सुख्खा हुनबाट जोगाउन शरीरको तापक्रमलाई मेन्टेन गरिराख्नुपर्छ । जसका लागि चिसो खानेकुराहरु नखाने गर्नुपर्छ । शरीर तातो नै हुन्छ, त्यसैले पनि मनतातो पानी खान्छौं भने त्यसले हाम्रो शरीरको तापमान कायम राख्ने गर्छ ।

छालालाई भित्रैबाट डिहाइड्रेसन गर्ने चुरोट रक्सी हुन् । जसले छालालाई डिहाइडे«सन गर्छ । सुगर भएको खाने कुराहरु खानु हुँदैन् । किनभने, त्यसले शरीरको भित्र पानी होल्ड गर्ने काम गर्छ । जुन हाम्रो पिसाबबाट गइरहनुपर्ने हुन्छ । चिनी र नुन भएको खाने कुराले शरीरबाट पानी निस्किन दिदैन् । त्यसैले यस्ता पदार्थ लिनु हुन्न ।

जाडोमा कुन उमेर समूहलाई कति पीर ?

जाडो मौसममा बच्चा र बुढो मान्छेहरुलाई बढी समस्या आउने गर्छ । बुढो हुँदै गएपछि रोग प्रतिरोधात्मक क्षमताहरु घट्दै जान्छ । सबै रोगले समाउने गर्छ । बुढो हुँदै गएपछि छाला पनि सुख्खा हुँदै जान्छ ।

अरु रोगका औषधीहरूले त झनै उनीहरुको छाला सुख्खा गराइरहेको हुन्छ । त्यस्तै, बच्चाको छाला परिपक्व भएकै हुँदैन् । तर, बच्चाको छालामा के लगाउने ? के गर्ने भन्नेजस्ता कुराहरु आउँछन् । खासमा उनीहरुको छाला एकदमै कमजोर हुन्छ । त्यसैले बच्चाको छालामा सकभर केही नलगाउने, लगायौं भने दागहरु बस्ने गर्छन् । त्यसैले उनीहरुलाई नर्मल तेलहरुको प्रयोग गर्नुपर्छ । बच्चालाई हिटरमा धेरै बेर नराख्ने र धेरै बेर पानीमा पनि खेल्न दिनु हुँदैन् ।

जाडो महिनामा जुनसुकै उमेर समूहकालाई पनि नुहाएपछि मोइस्चराइजर क्रिम लगाउनु पर्छ । हाम्रो शरीरको छालाभन्दा अनुहारको छालामा केही थप ध्यान दिनुपर्छ । अनुहार धेरै खुला रहने हुँदा अनुहारबाट पनि विभिन्न समस्याहरु सुरु हुने हुन्छन् । ओठ फुट्ने, स्कीन फुस्रो हुनेजस्ता समस्याहरु आउन थाल्छन् । जाडोमा कुनैलाई वंशाणुगत गत कारणले पनि छालामा समस्या आउन थाल्छ । कुनैको रोग लागेको कारणले पनि हुन्छ भने कुनैको औषधी प्रयोग गरिरहेको छ भने त्यसको रियाक्सन पनि छालामा समस्याहरु हुन सक्छ । कुनैलाई भिटामिनको कमीले पनि हुन सक्छ ।

जाडो मौसममा छालाको समस्याबाट जोगिनका लागि भित्रैबाट आफूलाई तातो राख्न सामान्य खालका व्यायामहरू गर्नुपर्छ । जाडो मौसममा व्यायाम गर्न आवश्यक हुन्छ । त्यसपछि शरीरमा रगतको सप्लाई राम्रोसँग पुग्छ । शारीरिक अभ्यासपछि आराम गर्नुपर्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ