२०८१ साउन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यपेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? यस्ता देखिन्छन् लक्षण

पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? यस्ता देखिन्छन् लक्षण


इरिटेबल बोवेल सिन्ड्रोम (IBS)  पेटलाई असर गर्ने र अनि लामो समयसम्म असर गरिरहने ( क्रोनिक) रोग हो । यसका मुख्य लक्षण भनेका पेटको दुखाइ र दिशामा गडबडी हुने हुन् । कहिले पातलो दिशा जाने, कहिले सारो दिशा गएर समस्या हुने अनि कहिलेकाहीँ केही नभएको जस्तो गरी नर्मल अनुभव हुने लक्षण यो रोगमा देखिन्छ। अन्य समस्याहरू जस्तै फूल्ने, ग्यास वा धेरै पटक दिशा गर्न चाहना हुने पनि हुन सक्छ।

इरिटेबल बावेल सिन्ड्रोमले धेरैलाई असर गर्दछ । कुनै पनि ठाउँको जनसंख्याको लगभग १० देखि २० प्रतिशतलाई यो समस्या हुने गर्दछ । आईबीएस महिलाहरूमा बढी हुन्छ । पुरुषहरूभन्दा झन्डै दोब्बर महिलाहरूलाई यो रोगले असर गर्दछ।

आईबीएस (IBS) किन हुन्छ?

वैज्ञानिक परीक्षणले देखाउँछ कि आईबीएस स्नायु र मांसपेशीहरुमा परिवर्तनको कारण हो । जसले आन्द्राको संवेदना र गतिशीलताको नियन्त्रण गर्दछ । आईबीएस कुनै मानसिक रोग होइन तर यो तनाव र चिन्ताले बल्झिन सक्छ । आईबीएस एक रोग भएपनि यसको कारणले मृत्यु हुँदैन र अन्य गम्भीर रोगहरू ( क्यान्सर आदि) निम्त्याउँदैन्।

कोही-कोही आईबीएस का बिरामीलाई साधारण झाडापखाला लागेपछि यो रोगको सुरुवात हुन्छ । जसलाई हामी पोस्ट इन्फेक सियस आईबीएस भन्छौं।

केही आईबीएसका बिरामीलाई कुनै कुनै खाने कुराहरुले लक्षण बढाउँछन्। यस्तो समस्यालाई फुड इन्टोलेरन्स भनिन्छ । कुन खाने कुरा खाएपछि यो समस्या उत्पन्न हुन्छ भनी बिरामी स्वयं सचेत हुनु पर्छ । आईबीएस जस्तै लक्षण गराउन सक्ने अनि पेटमा ग्यासको मात्रा बढाउने केही खाने कुरा जस्तैः दूधले बनेका परिकारहरु, दाल, फुलगोभीको सेवन कम गर्नाले पनि केही बिरामीलाई लक्षणहरु कम हुन सक्छन् ।

केही बिरामीको पेट र आन्द्रा अरुको भन्दा संवेदनशील (sensitive) हुने पनि केही अध्ययनले देखाएका छन् । यस्ता बिरामीलाई अलिकति ग्यास हुँदा पनि पेट धेरै फुलिएको जस्तो लाग्ने अनि आन्द्राको सामान्य चाल पनि धेरै भएजस्तो लाग्ने हुन सक्छ।

आईबीएसले गराउने समस्या

आईबीएसले वास्तवमा मानिसहरूलाई राम्रो जीवन बिताउन समस्याहरू ल्याउन सक्छ । आईबीएसका लक्षणहरू धेरै बढेको खण्डमा उनीहरूलाई स्कुल वा काम छोड्न वा सामाजिक गतिविधिहरू कम गर्न पर्ने हुन सक्छ । कसै-कसैले खाना छोड्न सक्छन् वा आहार र पोषणमा अन्य परिवर्तनहरू गर्न सक्छन् ।

अनुसन्धानकाअनुसार आईबीएस भएका व्यक्तिहरूले आफ्ना डाक्टरहरूकहाँ बढी भेटघाट गर्छन् र थप परीक्षणहरू गराउँछन् । उनीहरू सञ्चो हुनका लागि धेरै औषधीहरू सेवन गर्छन्, धेरै कामका दिनहरू मिस गर्छन् र काममा कम प्रभावकारी हुन्छन् । तिनीहरू धेरै पटक अस्पताल जान्छन् र उपचारका लागि आईबीएस नभएका बिरामीहरूभन्दा बढी पैसा खर्च गर्छन्।

आईबीएसका प्रकारहरु

लक्षणका आधारमा आईबीएस चार प्रकारको हुन्छ । कब्जियत भएको आईबीएस (IBS-C), पखाला भएको आईबीएस (IBS-D),  मिश्रित लक्षणहरू भएको आईबीएस (IBS-M) वा लक्षणका आधारमा वर्गीकरण गर्न नसकिने आईबीएस (IBS-U) ।

पेट दुखाइ सबै समूहहरूमा देखिन्छ। यी प्रत्येक समूहमा समान संख्यामा मानिसहरू छन् । बिरामीलाई सम्बन्धित आईबीएस समूह निर्धारण गरेर  सही उपचार गर्न सकिन्छ। त्यसैले चिकित्सककोमा जाँदा आफ्ना सबै लक्षणहरु प्रष्टसँग बताउनुपर्ने हुन्छ।

आईबीएसको निदान

आईबीएस भएका धेरैजसो व्यक्तिहरूमा चिकित्सकले तपाईंसँग कुरा गरेर, तपाईंको जाँच गरेर र केही रगत परीक्षण गरेर यो रोग पत्ता लगाउन सक्छन् । कहिलेकाहीँ अरु जोखिमपूर्ण रोगहरू हेर्नको लागि थप परीक्षण आवश्यक हुन्छ । ४५ वर्षभन्दा माथिका मानिसहरूले कोलोन क्यान्सरको लागि स्क्रिनिङ टेस्ट (कोलोनोस्कोपी)गराउनुपर्छ।

आईबीएसको उपचार

आईबीएसको उपचार जीवनशैली परिवर्तन,  खाने खानाको प्रकार मा परिवर्तन र तनावको स्तर घटाउनमा केन्द्रित हुन्छ । आहारमा केही परिवर्तनहरूले लक्षण कम गर्न मद्दत गर्न सक्छन्। तपाईले के खानु हुन्छ र तपाईंमा कस्ता लक्षणहरू छन् भन्ने डायरी राख्नाले के रोक्ने भनेर पत्ता लगाउन मद्दत गर्न सक्छ।

  • धेरै पेट फुल्ने रोगका बिरामीहरूले खाना खाँदा विस्तारै राम्रोसँग चपाएर खाने र एक पटकमा थोरै थोरै खाने प्रयास गर्नुहोस् ।
  • धेरै गुलिया पदार्थको सेवनबाट बच्नुहोस् किनकि यसले कहिलेकाहीं धेरै ग्यास, ब्लोटिंग, क्र्याम्पिंग र पखाला निम्त्याउन सक्छ ।
  • सिमी, प्याज, ब्रोकाउली, ब्रसेल स्प्राउट्स वा बन्दागोभीजस्ता ग्यास बढाउन सक्ने खानाहरू नखाने प्रयास गर्नुहोस् ।
  • कसै-कसैलाई गहुँ, दुग्धजन्य पदार्थ र केरा, स्याउ,  आरु, नासपाती र प्लमजस्ता केही फलफूलहरु खाँदा पनि समस्या हुन्छ।
  • अन्य कुनै खाने कुराले लक्षण बढेको अनुभव भएमा तिनको पनि सेवन कम गरेर हेर्न सकिन्छ।
  • कब्जियतको लक्षण भएकाले आफ्नो आहार अधिक घुलनशील फाइबर लिनुले  लक्षणहरूलाई मद्दत गर्न सक्छ । तपाईंले आफ्नो आहारमा फाइबर थप्नुअघि पर्याप्त पानी पिउन सुनिश्चित गर्नुपर्छ । पर्याप्त तरल पदार्थ बिना फाइबरले तपाईंको कब्जियतलाई अझ खराब बनाउन सक्छ। सानो मात्रा बाट सुरु गर्नुहोस् र विस्तारै बढाउनुहोस्।
  • तनाव लिनाले कुनै पनि शारीरिक अवस्थालाई जटिल बनाउन सक्छन् । आईबीएस र यसको लक्षणहरू कुनै अपवाद छैनन् । केही व्यक्तिहरूले विश्राम प्रविधिहरू र नियमित व्यायामले राम्रो महसुस गर्नेछन्।

उपचार

आईबीएसको कुनै सटिक उपचार छैन । आईबीएसका लक्षणहरु सुधार गर्न र दैनिक जीवनयापन सहज बनाउन औषधीहरु प्रयोग गरिन्छ।उदाहरणका लागि साइलियम फाइबर कब्जियतको लागि उपयोगी हुन सक्छ । पेट दुखाइ वा क्र्याम्पिङलाई पुदिनाको तेल वा आन्द्रालाई आराम गर्ने औषधीले (anti-spasmodic) मद्दत गर्न सक्छ।

पखाला रोक्ने औषधीहरूले पखाला हुने आईबीएस भएका मानिसहरूमा धेरै चोटी दिशा गर्न जाने प्रवृत्तिलाई कम गर्छ।

लैक्सेटिभले कब्जियतको साथ आईबीएसमा दिशाको मात्रालाई बढाउँछ।

Rifaximin एक एन्टिबायोटिक हो, जुन पखाला भएका केही आईबीएस बिरामीहरूमा लक्षणहरू कम गर्न देखाइएको छ।

अन्य औषधीहरू उपलब्ध छन्, जसले या त तपाईंको आन्द्राको चाललाई ढिलो वा छिटो गराउँछन्  र पेट दुखाइ कम गर्न मद्दत गर्दछ।

एन्टी-डिप्रेसन्टहरूले आईबीएस बिरामीहरूको पीडालाई कम गर्न मद्दत गर्ने देखिन्छ। यी औषधीहरू आईबीएस मा दुखाइ कम सानो डोज मा प्रयोग गरिन्छ।

आईबीएस लामो समयसम्म रहने बिमारी हुनाले कुनै पेट रोग विशषज्ञको परामर्श लिई आफ्ना सबै समस्याहरु बताउनाले र नियमित उपचार गर्नाले धेरै हदसम्म यो रोगबाट मुक्ति पाउन सकिन्छ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ