२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यजाडो मौसममा हात खुट्टाका औलाहरु किन सुनिन्छन् ?

जाडो मौसममा हात खुट्टाका औलाहरु किन सुनिन्छन् ?


जाडो मौसममा हात खुट्टाको औलाहरु बढी सुनिने गर्छन् । किनभने, हाम्रो शरीरको सबैभन्दा बढी बाहिर एक्सपोज हुने भागहरु भनेको हात, खुट्टाका औलाहरु नै हुन् । जाडो मौसममा बाहिर चिसो बढेको छ । तर, औलालाई प्रोटेक्सन छैन भने हिट लस हुने सम्भावना बढी हुन्छ ।

औंलामा हुने रगतका नलीहरु मसिना हुने गर्छन् । जसलाई आर्टरिज (Arteries) भनिन्छ । चिसोमा ती मसिना नसाहरू Arteries खुम्चिने समस्याहरु बढी हुन्छ । तापमान घटबढ हुँदा नसाहरू खुम्चिने र ठूलो हुने गर्छ ।

जाडो मौसममा औला चिसो हुन्छ । तातोपन औंलामा बचाइ राख्नका लागि नसाहरू खुम्चिने गर्छन् । यसरी जाडो मौसममा औलाहरु खुम्चियो भने रक्तसंचार राम्रोसँग भइरहेको हुँदैन् । साथै, अक्सिजन पनि कम हुने गर्छ र औलाहरुमा समस्या आउन थाल्छन् ।

जाडोमा औलाहरुमा हुने समस्या

  • औलाहरु सुनिने
  • औलाहरु निलो हुने
  • औलाहरु चिलाउने
  • औलाहरु रातो हुने
  • औलाहरुमा घाउ आउने

कुन उमेर समूहलाई यो समस्या हुने गर्छ

जाडो मौसममा वृद्धवृद्धाहरुमा यो समस्या बढी देखिने गर्छ । बुढेसकालमा शरीरको स्याहार नपाएर औलाहरु सुनिने समस्याहरु बढी हुन सक्ने हुन्छ । यसका साथै चिसोको कारण औलाहरुमा समस्या जुनसुकै उमेर समूहकालाई पनि हुन सक्छ । जुन व्यक्ति धेरै समय पानीमा काम गर्छ र चिसोबाट बच्न कुनै उपाय गर्दैन । ती मानिसहरुमा औलाहरुमा समस्या बढी आउने गर्छ ।

यी समस्याबाट बच्न के गर्ने ?

अहिले जाडो मौसममा बढेसँगै मानिसहरु आफूलाई न्यानो बनाउन खुट्टामा मोजा, गल्पस, न्यानो लुगा लगाउने गर्छन् । तर, यो बेला लुगा लगाएर आफूलाई न्यानो राख्नुका साथै शरीरको तापमान कायम गर्नका लागि शरीर भित्रैबाट आफूलाई न्यानो राख्न आवश्यक छ । चिसो पानीमा हातहरु नचलाउन मनतातो पानीले नुहाउने गर्नुपर्छ ।

उपचार के हो ?

सुरुमा त हातखुट्टा न्यानो राख्ने र आफनो शरीरलाई भित्रै बाट न्यानो राख्ने गर्नुपर्छ । आफूलाई न्यानो राख्दा—राख्दै पनि समस्या निको नभए अस्पताल जानुपर्छ । अस्पतालमा औंलाको समस्याहरु बढ्दै गयो भने औंलामा लगाउने औषधी दिइन्छ जसले सुनिएको समस्या कम गर्छ । र खुम्चिएको रगतको नसालाई फुलाउने काम गर्छ । रक्त संचार राम्रोसँग हुन्छ ।

लगाउने औषधीमा nitroglycerine दिइन्छ, जसले रगतको संचालन राम्रो गर्छ । त्यस्तै सुन्निएको भागलाई Steroid malam  पनि दिन सकिन्छ । यो औषधीहरु बिरामीको अवस्था हेरेर दिइन्छ । खाने औषधी सुरुमै दिइँदैन् । सुरुमा मलम नै दिइन्छ । लगाउने औषधीले कम गरेन निफीडिपीन भन्ने औषधी दिइन्छ, जुन औषधी दीर्घ रोगका बिरामीहरूलाई दिदा ध्यान पुर्याउनुपर्छ ।

छालामा समस्या आउन नदिन हिटर ताप्दा ध्यान दिने

अहिले जाडोको मौसममा धेरैले हिटरको प्रयोग गर्ने गर्छन् । जाडो मौसमा हिटर ताप्दा एकदमै सावधानी अपनाउनुपर्छ । विशेषगरी उमेर ढल्केका मानिसहरुको छाला एकदमै कम्जोर हुन्छ । जसकारण छालाको संवेदनशीलता कम हुन्छ । र, छालामा पोलेको थाहा हुदैन । पछि घाउ निस्किने पानीका फोकाहरु आउने समस्या वृद्धवृद्धालाई देखिन्छ ।

त्यसैले हिटर ताप्दा वृद्धवृद्धाले बढी ध्यान दिनुपर्छ । बच्चाहरुलाई पनि हिटरबाट टाढा नै राख्नुपर्छ । हिटर ताप्दा छाला सुख्खा हुने समस्या झन बढ्छ । छाला जब सुख्खा हुन्छ, रोगहरु त्यहीबाट सुरु हुन्छ । त्यसैले छालालाई पनि मोइस्चराइज गरिराख्नुपर्छ ।

प्रस्तुतिः भूमिका विष्ट 


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ