२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यक्यान्सरको जोखिम कम गर्ने उपायहरू

क्यान्सरको जोखिम कम गर्ने उपायहरू


विश्वमा हाल देखा परेका जटिल र भयावह रोगहरुमध्ये क्यान्सरलाई लिने गरिन्छ । यस रोगप्रति आम जनमानसमा भएको जागरुकताको कमी र सही जानकारीको अभावले गर्दा विश्वभर नै हरेक वर्ष अनेकौं मानिसले क्यान्सरको चपेटामा परेर अकालमै ज्यान गुमाउन पुग्दछन् ।

यसैले गर्दा आम जनमानसमा क्यान्सर सम्बन्धि सचेतना फैल्याउन र सबैलाई एक स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्न ४ फरवरीलाई हरेक वर्ष विश्व क्यान्सर दिवसका रूपमा मनाउने गरिन्छ । सबैमा क्यान्सरको जोखिमलाई कम गर्न सबैले अपनाउनपर्ने केही सामान्य तर महत्वपूर्ण कुराहरुलाई यस लेखमार्फत राख्न चाहन्छौं ।

सबैभन्दा महत्वपूर्ण कुरा सूर्तिजन्य पदार्थको सेवन र धुम्रपानबाट टाढा रहनुपर्छ । सूर्तिजन्य पदार्थको सेवन विश्वमा क्यान्सरको प्रमुख कारण हो र प्रायः एक तिहाइ क्यान्सरहरु सूर्तिजन्य पदार्थको सेवनबाट हुने गरेको पाइएको छ । तसर्थ, सूर्तिजन्य पदार्थबाट टाढा बस्नु भनेको आफूलाई क्यान्सरबाट टाढा राख्नु हो । साथै, सूर्ति, चुरोट सेवन गर्नेहरुले सूर्तिजन्य पदार्थको सेवन विस्तारै कम गरेमा क्यान्सरको जोखिम पनि उल्लेख्य रुपमा कम हुन जान्छ ।

अर्को, महत्वपूर्ण कुरा जाँडरक्सीको सेवनले पनि क्यान्सरको जोखिमलाई उच्च बनाउँछ । गरेतापनि न्यून मात्रामा (एकदेखि दुई स्टयान्डर्ड ड्रिंकभन्दा कम) गर्नुले क्यान्सरको जोखिम निकै हदसम्म कम गराउँदछ ।

तेस्रो, महत्वपूर्ण पक्ष क्यान्सर विरुद्धको खोप लगाएर क्यान्सरको जोखिमलाई कम गर्न सकिन्छ । कतिपय क्यान्सर जस्तैः पाठेघरको मुखको क्यान्सर (सर्वाइकल क्यान्सर) र कलेजोको क्यान्सर (हेपाटोसेलुलर क्यान्सर) (सर्वाइकल क्यान्सर) हरु सुक्ष्म जीवाणुहरुको संक्रमणबाट हुने हुनाले सो जीवाणुहरु विरुद्धको खोप लगाएमा आफ्ना चिकित्सकसँग सल्लाह गरेर हेपाटाइटिस बी र आफ्ना  नौ वर्षभन्दा माथिका नानीहरुलाई ह्युमन पेपिलोमा भाइरस विरुद्धको खोप लगाउन सकिन्छ ।

यस्तै, क्यान्सर स्क्रीनिङ अर्को महत्वपूर्ण पद्धति हो । जसबाट कुनै लक्षणहरु देखा पर्नुभन्दा अगाडि नै जोखिममा रहेका जनमानसमा केही सामान्य जाँच तथा परीक्षण गरेर सुरुवाती अवस्थामा नै क्यान्सर पत्ता लगाएर ठिक निदान र पूर्णतयाः उपचार गर्न सकिन्छ । यसअन्तर्गत एक निश्चित उमेरपछि निश्चित समय अवधिमा महिलाहरुमा गरिने पाठेघरको मुखको पानीको जाँच (प्याप स्मेयर), स्तनको जाँच म्यामोग्राफ्री, आन्द्राको क्यान्सरको उच्च जोखिममा भएका मानिसहरुमा गरिने आन्द्राको कोलोनोस्कोपी जाँच, पुरुषहरुमा हुने प्रोस्टेट ग्रन्थीको जाँच आदि पर्न जान्छन् । यसर्थ, आफू कुनै जोखिममा छ वा छैन र के कस्तो स्क्रीनिङ गर्ने भनेर आफ्नो चिकित्सकसँग सल्लाह लिनु उचित हुन्छ । जाँच र परीक्षणका साथसाथै स्वस्थ जीवनशैली, उचित खानपानमा ध्यान दिनु र आफ्नो तौलमाथि नियन्त्रण गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

खासगरी अत्याधिक मात्रामा रातो मासु, प्रशोधित खानेकुरा, निकै लामो समयसम्म र लामो समयअघि पकाइएका खानेकुराको खपत नगर्नु उचित हुन्छ । नियमित व्यायामका साथै आफ्नो  नियमित आहारमा ताजा फलफुल र हरियो सागसब्जीलाई समेट्नुपर्दछ । साथै, असुरक्षित यौन व्यवहारबाट पनि कतिपय क्यान्सरहरु सर्ने जोखिम भएकाले सुरक्षित यौन अभ्यासमा ध्यान दिनुपर्ने हुन्छ ।

अन्त्यमा सबैलाई सु–स्वास्थ्यको शुभ–कामना । आफू वा आफ्ना परिवारजनमा क्यान्सर सम्बन्धि कुनै शंका वा प्रश्न भएमा चिकित्सकसँग सल्लाह लिन ढिला नगरौँ ।

(क्यान्सर रोग विशेषज्ञ डा. घोष नयाँदिल्ली एम्समा कार्यरत छन् ।)


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ