२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यनेपाली समाजमा बढ्दैं गरेको समस्या मस्तिष्कघात : जो कोहीलाई हुन सक्छ

नेपाली समाजमा बढ्दैं गरेको समस्या मस्तिष्कघात : जो कोहीलाई हुन सक्छ


मस्तिष्कघात अर्थात् स्ट्रोक रक्त प्रवाहमा अवरोध भएपछि हुने समस्या हो । मस्तिष्कको कुनै पनि भागमा रक्तनली बन्द भएर वा रक्तनली फुट्नाले स्ट्रोक हने गर्दछ ।

यो अवस्था केही मिनेटसम्म रहिरहेमा मस्तिष्कका कोषिकाहरु मर्छन् र समयमै उपचार नपाएको खण्डमा बिरामीको ज्यानसमेत जान सक्दछ । मस्तिष्कघात भएका धेरैजसो बिरामीलाई पक्षघात पनि हुने हुँदा यस रोगलाई पक्षघात, लकुवा अथवा प्यारालाइसिसजस्ता नामले पनि सम्बोधन गर्ने गरिन्छ ।

पक्षघात भएको ४/५ घण्टाभित्र उपचार गर्न सकेमा मात्रै बिरामीको ज्यान जोगिन सक्छ साथै स्ट्रोकको जटिलताबाट पनि बचाउन सकिन्छ । त्यसैले पक्षघातको कुनै पनि लक्षण देखिएमा बिरामीलाई छिटोभन्दा छिटो अस्पताल पु¥याइ उपचार सुरु गर्नुपर्छ ।

विश्व स्वास्थ्य संगठनकाअनुसार विशवभर हरेक वर्ष करिब एक करोड पचास लाख मानिसहरू यसबाट ग्रसित हुने गर्दछन् । जसमध्ये पचास लाख मानिसले ज्यान गुमाइरहेका हुन्छन् भने पचास लाख मानिसहरु शारीरिक रुपले अशक्त बन्न पुग्दछन् । हरेक ४ जनामध्ये १ जनालाई आफ्नो जीवन अवधिमा मस्तिष्कघात देखा पर्दछ । वर्षेनी यो समस्या बढ्दै गइरहेकाले हाल यो रोग विश्वभर मृत्युको दोस्रो ठूलो कारण बन्न पुगेको छ ।

पक्षघात दुई प्रकारको हुन्छ ।

पहिलो– ‘स्केमिक स्ट्रोक’ जहाँ मस्तिष्कमा भएका रक्त नलीहरुमा अन्य कुराहरु जस्तै बोसो (कोलेस्ट्रेरोल), रगतको चोक्टा गएर जम्मा भइ रक्तनली बन्द गरिदिन्छ । यसले गर्दा मस्तिष्कमा भएका तन्तुहरु मर्न जान्छन् अनि काम गर्न छाड्छन् र त्यसैअनुसार लक्षणहरु देखा पर्दछ ।

दोस्रो– ‘हेमोरेजिक स्ट्रोक’ जहाँ रक्तनली उच्च रक्तचापले गर्दा फुट्छ । प्रायः उच्च रक्तचाप भएका व्यक्तिहरुले चिकित्सकको परामर्शअनुसार औषधी सेवन नगरेमा ‘हेमोरेजिक स्ट्रोक’ हुन्छ ।

पक्षघातका बिरामीमध्ये ८० प्रतिशतलाई ‘इस्केमिक स्ट्रोक’ हुने गर्दछ भने बाँकी २० प्रतिशतलाई ‘हेमोरेजिक स्ट्रोक’ हुने गरेको छ । पक्षघातको शल्यक्रिया पश्चात पनि बिरामीले पुरानै अवस्थाको जीवन बाँच्न नसक्ने भएकाले हृदयघातभन्दा पक्षघातलाइ अझै बढी जटिल समस्याका रुपमा लिइन्छ ।

मस्तिष्कघातका प्रमुख लक्षण

समयमै उपचार नभए ज्यान नै जाने भएकाले मस्तिष्कघात हुन लागेको वा भएको बिरामीलाई लक्षण देखिनासाथ छिट्टै अस्पताल पु¥याउन अत्यन्तै जरुरी छ । जसका लागि मस्तिष्कघातका लक्षण, कारण र बच्ने उपाय थाहा पाउन अत्यावश्यक रहन्छ ।

BE FAST

B– Balance loss (शारीरिक सन्तुलन गुमाउनु)

E– Eyes vision loss (आँखा धमिलो हुनु वा ज्योती गुमाउनु)

F– Face Unevenness (अनुहार बाँगो हुनु)

A– Arm weakness (शरीरको एक भाग झम्झमाउनु वा दुख्नु)

S– Speech slurred (बोली लर्बराउनु वा बोल्न नसक्नु)

T– Timely Intervention (समयमै उपचार गराउनु)

यी लक्षणहरुमध्ये कुनै एक लक्षण अचानक देखिएमा तुरुन्तै अस्पताल लगेर उपचार गर्नुपर्छ । समयमै उपचार भएमा बिरामीलाई प्यारालाइसीस हुनबाट र अन्य समस्याबाट बचाउन सकिन्छ ।

माथि उल्लेखित कुनै पनि लक्षणहरु अचानक देखिएमा बिरामीलाई जतिसक्दो चाडो अस्पताल पु¥याएर समयमै उपचार गराउनु पर्दछ ।स्वस्थकर खानपान र दैनिक रुपमा शारीरिक व्यायाम गर्नाले मस्तिष्कघात, हृदयघातजस्ता रोगबाट आफूलाई र आफ्नो परिवारलाई बचाउन सकिन्छ ।

मस्तिष्कघातका प्रमुख कारण

निष्क्रिय र व्यस्त जीवनशैली, मानसिक तनाव, चिन्ता, धुम्रपान, लागुपदार्थ सेवन र मदिरापान आदिलाई प्रमुख कारण मानिन्छ ।

त्यस्तै मधुमेह, मोटोपन, मुटु रोग, उच्च रक्तचाप, कोलेस्ट्रोलको मात्रा अत्याधिक बढी भएका व्यक्तिहरुमा पक्षघातको जोखिम बढी हुने गर्दछ ।

उमेर बढ्दै जाँदा उच्च रक्तचाप, मस्तिष्कघात र अन्य रोगको जोखिम बढ्दैं जान्छ । महिलामा भन्दा पुरुषमा पक्षघातको बढी जोखिम देखिन्छ ।

परिवारमा एक जनालाई पक्षघातको समस्या भएमा अन्य सदस्यलाई पनि पक्षघात हुने सम्भावना रहन्छ ।

टाइप ‘ए’ व्यक्तिहरूमा : धेरै जोखिम लिई उच्च उपलब्धि हासिल गर्ने स्वभावका व्यक्तिहरु ।

मुटु तथा रक्तनली सम्बन्धी समस्या जस्तै एथेरोस्केलेरेसिस्, डिपभेन थ्रोम्बोसिस् र एन्युरिजम भएका मानिसहरुमा मस्तिष्कघातको जोखिम धेरै हुन्छ ।

मस्तिष्कघातबाट बच्ने उपाय

दैनिक रुपमा शारीरिक व्यायाम तथा कसरत गर्ने, तौल नियन्त्रणमा राख्ने । तर, असाध्यै जोखिममा परेका व्यक्तिले कठिन कसरत गर्नु हुँदैन् ।

धुम्रपान, सूर्तिजन्य पदार्थ, जाँड रक्सीको सेवन नगर्ने

स्वस्थ जीवन जिउने, स्वस्थकर खाना खाने, धेरै गुलियो, नुनिलो, चिल्लो खाना कम गर्ने

सागसब्जी, सलाद फलफूलहरुमा प्राथमिकता दिने

धेरै चिन्ता र तनाव नलिने

दैनिक रुपमा ध्यान र योगा गर्ने

४० वर्ष उमेर कटेका व्यक्तिहरूले समय—समयमा स्वास्थ्य परीक्षण गराउने

चिसोबाट जोगिने । चिसोले रक्तनलीलाई साँघुरो बनाएर रक्तचाप बढाई मस्तिष्कघात समस्या निम्त्याउन सक्छ ।

आज २०२३ अक्टोवर २९ विश्व मस्तिष्कघात दिवसको नारा ‘टुगेदर वुई आर ३ ग्रेटर देन स्ट्रेक’ रहेको छ अर्थात सम्पूर्ण मानिसहरु एकजुट भई मस्तिष्कघात बारेमा जनचेतना फैलाउने र आफ्नो जीवनशैलीलाई राम्रो राखेमा मस्तिष्कघातमाथि विजय पाउन सकिन्छ ।

(भण्डारी एमबीबीएस चौथो वर्षमा अध्ययनरत छन् ।)


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ