गर्मी मौसममा बालबालिकामा एक्कासि ज्वरो आउने समस्या हुन्छ । जसले गर्दा शरीरको तापक्रम १०२ देखि १०४ डिग्रीसम्म पुग्ने गर्छ ।
भाइरल ज्वरो एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने भएकाले यो निकै खतरनाक हुन्छ । सामान्यतया, पाँच वर्षमुनिका बालबालिकामा बेहोस हुने, कमजोर देखिने, चिसो लाग्ने तथा एक्कासि खोकी बढ्नेजस्ता लक्षण देखिन्छन् ।
यस्तो अवस्थामा सकेसम्म छिटो अस्पताल लानुपर्छ । ज्वरो आएको समयमा बच्चाको लुगा खोलेर पानीपट्टि गर्न सकिन्छ । नरम कपडालाई पानीमा भिजाएर पूरै शरीर पुछ्नुपर्छ । यसरी बच्चालाई सहज अवस्थामा ल्याउन सकिन्छ । तर, जथाभावी एन्टिबायोटिक औषधि खान दिनुहुँदैन ।
झाडापखाला
झाडापखाला गर्मी मौसममा अधिकांशमा देखिने समस्या हो । यो भाइरस र ब्याक्टेरियाको संक्रमणका कारण हुने गर्छ । झाडापखालाको समयमै रोकथाम गर्न सकिएन भने बच्चाको ज्यानै पनि जान सक्छ ।
झाडापखाला भएमा आमाको दूध साविकभन्दा धेरै खुवाउनुपर्छ ।
त्यस्तै, सफा पानी र जीवनजल प्रशस्त मात्रामा खुवाउनुपर्छ । त्यसैगरी, झोलिलो खानेकुरा, गेडागुडीको झोल आदि खुवाएर झाडापखाला नियन्त्रण गर्न सकिन्छ । कतिपय अवस्थामा बच्चा दूध चुस्न नसक्ने अवस्थाको हुन सक्छ । यस्तो अवस्थामा तुरुन्त चिकित्सक कहाँ लैजानुपर्छ ।
भाइरल इन्फेक्सन
गर्मीबाट बच्ने नाममा चिसो खानेकुरा खाँदा घाँटीमा संक्रमण हुने सम्भावना बढेर जान्छ ।जसले गर्दा बच्चामा ब्रोंकाइटिस हुने तथा श्वासप्रश्वासमा समस्या देखिने हुन सक्छ । अन्यको तुलनामा बालबालिकामा प्रतिरोधी क्षमता कम हुन्छ, गर्मी मौसममा अझ नाजुक हुने भएकाले भाइरल इन्फेक्सनले बढी सताउने गर्छ ।
गर्मी मौसममा बालबालिकामा रुघाखोकीको जोखिम बढी हुने गर्छ । त्यस्तै, बान्ता हुने, रिंगटा लाग्ने, छालामा विभिन्न समस्या देखा पर्ने आदी समस्या देखिन्छन् ।
जोगाउने तरिका
गर्मी मौसममा संक्रमण चाँडो फैलने भएकाले बालबालिकाको उचित हेरचाह गर्नुपर्छ । भीडभाडमा जाँदा मास्क लगाउन लगाउने, घाममा धेरै खेल्न नदिने, फोहर पानीको सम्पर्कबाट टाढा राख्ने र खानपानमा ध्यान दिने हो भने बालबालिकामा आउनसक्ने स्वास्थ्य समस्याबाट जोगाउन सकिन्छ ।
यतिखेर तापक्रम उकालो लागेको लाग्या छ । गर्मीमा घाँटी खराब हुनु, रुघा, ज्वरो आउनु सामान्यजस्तै हो । तर उचित सावधानी राखियो भने रोगबाट बच्न सकिन्छ। गर्मीका बेला लाग्ने रोगबाट बचाउन बाबुआमाले विशेष ध्यान दिनुपर्छ। तर यो बेला भरपुर पानी पिउने, पोषणयुक्त आहारा दिने, धेरै समय बाहिर ननिस्कने र आराम गर्ने गर्नुपर्छ ।
गर्मीको मौसममा यस्ता समस्याबाट बच्नुपर्छ
सनस्ट्रोक
गर्मीमा सनस्ट्रोकको समस्या हुन्छ । यो मौसममा शरीरले आफैँलाई चिसो राख्ने क्षमता कमजोर हुन्छ । यसैले सनस्ट्रोकबाट बच्नका लागि भरपुर मात्रामा पानी पिउनुपर्छ । हिटस्ट्रोकबाट पीडित हुँदा धेरै ज्वरो आउने र कमजोरी महसुस हुन्छ ।
डाबर आउनु
गर्मीका कारण शरीरका विभिन्न भागमा डाबर या घमौरा आउँछ । यसको समाधानका लागि डाक्टरलाई देखाउनुपर्छ ।
एलर्जी
धूलो र गर्मीका कारण एलर्जी हुने समस्या आम विषय हो । यसका लागि धेरै घाममा बाहिर निस्कनुहुन्न ।
हैजा, टाइफाइड र जन्डिस यी सबै पानीका कारण हुने रोग हुन्। यसबाट बच्न सकेसम्म बाहिर खानुहुन्न । बाहिरको खाना गर्मीका कारण चाँडै नै बिग्रन्छ । गर्मीमा पानीको माग बढ्ने भएकाले प्रदूषित पानीको प्रयोगका कारण पनि यस्ता समस्या फैलन्छन् । ब्याक्टेरिया तातो र नुनिलो पानीको माहौलमा पैदा हुन्छन् ब्याक्टेरियायुक्त खाना खानाले विभिन्न समस्या निम्तिन्छन् ।
लामखुट्टेका कारण हुने समस्या र घर वरिपरि जम्मा हुने पानी लामखुट्टेको वासस्थान बन्छन्, लामखुट्टेको टोकाइका कारण डेंगु, मलेरियाजस्ता रोग लाग्छन्।
कसरी सतर्कता अपनाउने ?
सडकमा बेच्न राखिएका काटेका फलफूल र अन्य खालका खानेकुरा बालबालिकालाई नखुवाउनुहोस्। यस्तो मौसममा बच्चाहरूलाई मसालेदार र तारेका खानेकुरा पनि खुवाउनु हुँदैन ।
यस्ता खानेकुरा सजिलोसँग पच्न सक्दैनन्। यसकारण उनीहरूलाई ताजा फल, हरिया तरकारी, जुसजस्ता स्वस्थकर खानेकुरा र हल्का खाना खुवाउनुहोस्। बच्चाहरूलाई तिर्खा नलागे पनि पानी पिइरहन प्रेरित गर्नुहोस्, यसले शरीर सुख्खा रहन दिँदैन ।
उनीहरूलाई कागती पानी, नरिवलको पानी र अन्य प्राकृतिक तरल पदार्थ दिनुपर्छ । बालबालिकालाई हल्का र खुला कपडा लगाउन दिनुहोस्। तन्दुरुस्तीका लागि आफूसँगै बच्चालाई पनि बिहान बेलुकी कसरत गराउनुहोस्।