२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखरामा खोप लगाउन छुटेका बच्चा पत्ता लगाउने स्वास्थ्यकर्मी र स्वयंसेविकालाई २ हजार नगद दिइने

पोखरामा खोप लगाउन छुटेका बच्चा पत्ता लगाउने स्वास्थ्यकर्मी र स्वयंसेविकालाई २ हजार नगद दिइने

पोखरा पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा


पोखरा—पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । महानगरका जन्मेदेखि ५९ महिनासम्मका २९ हजार ३११ बालबालिकालाई पूर्ण खोप लगाइएपछि मंगलबार नगरप्रमुख धनराज आचार्यले सो घोषणा गरेका हुन् ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीको तथ्यांकअनुसार पोखरा महानगरपालिकाभित्रका जन्मदेखि ११ महिनासम्ममा ५ हजार ९ सय १३ बालबालिकाहरूलाई पेन्टा पहिलो र ९५ प्रतिशत बालबालिकाले दादुरा रुबेला दोस्रो खोप प्राप्त गरेका छन् । जन्मदेखि ५९ महिनासम्मका २९ हजार ३११ बालबालिकालाई घरमै पुगेर पूर्ण खोप लगाएर सुनिश्चित गरिएको छ ।

खोपको कुनै पनि मात्रा प्राप्त नगरेका ४ जना र आंशिक खोप प्राप्त गरेका १३२ जना बालबालिकाहरू समेत नियमित खोप सेसन र आकस्मिक खोप सेसनमा समावेस गरी पूर्ण खोप प्रदान गरिएको छ । पोखरा महानगरपालिकालाई पूर्ण खोप घोषणा गर्नुअघि ३३ वटै वडामा पूर्ण खोप सुनिश्चितता गरिएको थियो ।

८ सय ९० जना स्वास्थ्यकर्मी र ६ सय ५२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन गरिएको स्वास्थ्य महाशाखाले जनाएको छ ।

घोषणा सभामा नगर प्रमुख आचार्यले बालबालिकाहरूको स्वास्थ्यका लागि खोप आवश्यक रहेको तथ्यलाई मनन गर्न जरुरी रहेको बताए । खोपले बालबालिकाहरूलाई शारीरिक र मानसिक रूपमा तन्दुरुस्ती प्रदान गर्ने र भविष्यमा आउन सक्ने स्वास्थ्य जटिलताबाट जोगाउने उनले बताए । उनका अनुसार १ जना बालबालिकालाई १३ प्रकारका खोपहरू प्रदान गर्दा ६० हजार बराबर लगानी हुने गरेको छ । खोप लगाउन छुटेका बालबालिकाहरूलाई पत्ता लगाउने स्वास्थ्यकर्मी र स्वयंसेविकाहरुलाई प्रति बच्चा २ हजार पुरस्कार दिने घोषणासमेत गरे ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले पूर्वाधार जत्तिकै गुणस्तरीय शिक्षा र स्वास्थ्यको विकास पनि वास्तविक विकास हुने उल्लेख गरे । घोषणा कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना, पोखरा २ का अध्यक्ष दिवसमान प्रधानाङ्ग, स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खिमबहादुर खड्का, स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपाली, महिला स्वास्थ्य स्वयंसेविका सञ्जाल पोखराकी संयोजक भीमा पौडेल, महानगरपालिकाका जनस्वास्थ्य अधिकृत फुलदेव तिमिल्सिना र जनस्वास्थ्य निरीक्षक एवं खोप अधिकृत तेजाखर लम्साल लगायतले बाल स्वास्थ्य र खोपको प्रभावकारिताबारे चर्चा गरे ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ