सामान्यतयाः आँखाको सुख्खापन, धेरै उज्यालो तथा आँखामा आएको कुनै अवरोध हटाउनको निम्ति आँखा झिम्किने गर्छ । आँखाको सतह सफा राख्नको लागि आँशु बगाउनको निम्ति पनि आँखा झिम्किने गर्छ । भर्खरै जन्मेको शिशुको सन्दर्भमा प्रतिमिनेट २ पटक मात्रै उनीहरुको आँखा झिम्किने गर्छ ।
तर, क्रमिक रुपमा यो प्रक्रिया बढी वयस्कमा प्रतिमिनेट १४ देखि १७ पटकसम्म झिम्किने गर्छ । यसले आँखाको पीडा, अधिकतम् उज्यालो तथा आद्रताको तापक्रम परिवर्तन गर्न तथा कुराकानीको प्रतिक्रिया जनाउनमा मद्धत गर्दछ ।
अझ भन्ने हो भन्ने महिलाको आँखा पुरुषको तुलनामा बढी झिम्किने गर्छ । ठूलो आँखा तथा इभ्यापोरेशन (आँखामा आँशु वा तरल पदार्थ ठोस वस्तुमा परिवर्तन हुने प्रक्रिया) को महिलाको आँखा धेरै झिम्किने गर्छ । यसबाहेक केही व्यक्तिहरुको आँखा सामान्य रुपमा भन्दा धेरै झिम्किने गर्छ । आखिर किन आवश्यकभन्दा धेरै झिम्किन्छन् त आँखा ? यस्ता छन् यसका कारणहरुः
- आँखाको सुख्खापन
- इरिटेशन (आँखा चिलाए र बिझेजस्तो हुने)
- आँखामा मासु पलाएमा
- बाहिरी वातावरण
- इन्फेक्शन
- तनाव/चिन्ता
- थकान
- अनिन्द्रा
- अधिकतम उज्यालो
- धुम्रपान, मद्यपान तथा मादक पदार्थको सेवन
- क्याफिन ।
रोकथाम तथा बच्ने उपाय
व्यक्तिको आँखा आवश्यक भन्दा बढी झिम्किएमा त्यसले व्यक्तिमा दृष्टिमा मधुरता ल्याउँछ । यसका साथै यसै समस्याको कारण व्यक्ति उज्यालोमा धेरै समय बस्न नसक्ने हुन्छ । फलस्वरुपः फेसियल स्पाजम (अनुहारको एक भाग खुम्चिने) को समस्या देखा पर्दछ । तसर्थ यी सबै समस्या देखा नपरोस् भन्नका लागि सर्वप्रथम हामीले आँखा झिम्किने समस्या के कारणबाट हुन्छ भन्ने तथ्यबारे जानकारी हासिल गर्नुपर्छ । र, कुनै पनि रोग तथा समस्याबाट बच्ने भरपर्दाे उपाय भनेको नै त्यसका कारणबाट जोगिनु हो ।
आँखा हाम्रो शरीरको संवेदनशील अंग हो । यसको तन्तु नरम हुने भएकोले यसलाई बाहिरी वातावरण तथा वस्तुले सजिलै प्रभाव पार्न सक्छ । त्यसैले पनि हामीले यस सम्बन्धि कुनै पनि समस्या देखा नपरोस् भन्नका लागि विविध पक्षमा ध्यान दिनुपर्छ । र, ती निम्न अनुसार रहेका छन्ः
- क्याफिनको कम प्रयोग
- अल्कोहल, धुम्रपान तथा अन्य मादक पदार्थको प्रयोग नगर्ने
- पर्याप्त सुत्ने
- आँखा सुख्खा हुन नदिन चिकित्सकको सल्लाहमा औषधि सेवन गर्ने
- स्पाजम देखिएमा हातले विस्तारै आँखाको भाग वरपर मालिस गर्ने
- घाम, धुलोधुँवा तथा धेरै उज्यालोबाट बच्न चश्माको प्रयोग गर्ने
- आँखा सम्बन्धि केही समस्या परेमा चिकित्सकको सल्लाह लिने ।