२०८१ असार ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यबाँझोपन र वशांणुगत गुणको सम्बन्धः कस्ता व्यक्तिले गराउने डिएनए परीक्षण ?

बाँझोपन र वशांणुगत गुणको सम्बन्धः कस्ता व्यक्तिले गराउने डिएनए परीक्षण ?


सामान्यतयाः कुनै पनि दम्पत्तिले आफ्नो स्व—इच्छाका साथ सन्तानको निम्ति प्रयास गर्दागर्दै पनि गर्भ नरहने प्रक्रियालाई निःसन्तान समस्या अर्थात् ‘इन्फर्टिलिटी’ भनिन्छ । यसरी गर्भको निम्ति प्रयास गरिरहँदा पनि गर्भ नहुनु पछाडि दम्पत्तिका विभिन्न कारणहरु रहेका हुन्छन् । त्यसमध्ये वशांणुगत गुण पनि एक हो । वर्तमान परिवेशमा निःसन्तान दम्पत्तिहरुले प्रायजसो विकल्पको रुपमा आइभिएफ (टेस्ट्युब बेबी) प्रणाली नै अपनाएको देखिन्छ ।

तर, गर्भ नबस्नु पछाडिका विभिन्न कारणमध्ये अधिकांश व्यक्तिहरुले वशांणुगत गुणको पक्षलाई भने बेवास्ता गरेको पाइन्छ । तर, प्रत्येक महिला वा पुरुष दुवैले यसरी गर्भ नबस्ने समस्याको समाधान गर्ने क्रममा विभिन्न उपचार विधिअन्तर्गत जानुुअघि एक पटक वशांणुगत गुण अर्थात् डिएनको परीक्षण भने अनिवार्य रुपमा गराउनु आवश्यक रहेको देखिन्छ ।

कारण

गर्भमा बन्ने प्रत्येक भ्रुण आफ्नो आमा र बाबुको क्रोमोजमको सम्मिश्रणबाट बन्ने हुँदा उक्त शिशु जन्मदा उनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफ्नो आमाबाबु दुवै तर्फको गुणहरु मिसिएर जन्मिन्छन् । प्राकृतिक रहेको वशांणुगत अवस्थालाई हामीले कुनै पनि प्रविधिद्धारा रोक्न सकिदैन । तसर्थ यसलाई प्राकृतिक कारण पनि मानिन्छ । तर, गर्भ नबस्ने विभिन्न वशांणुगत कारणअन्तर्गत भने निम्न कारणहरु रहेका हुन्छन्ः

  • बढ्दो उमेर
  • अण्डाशय र शुक्रकीटको मिलन नहुँदा
  • फ्लालोपिन ट्युब बन्द भएमा
  • अण्डाशयमा भएको ट्युमर
  • शुक्रकीटको कमी
  • अण्डाशयको क्रोमोजमको संरचनामा देखा परेको गडबडी वा डिसअर्डर

सामान्यतयाः हाम्रो समाजमा कुनै पनि महिलाको गर्भ नबस्नुु पछाडिको कारण महिलामा रहेको शारीरिक कमजोरीलाई मानिन्छ । तर, पुरुषमा रहेको विभिन्न समस्याहरु (जस्तैः शुक्रकीट कम वा हुनु हँुदै नहुने र शुक्रकीट भएतापनि त्यो क्रियाशील नरहने) हुँदा पनि महिलामा गर्भ नबस्ने हुन्छ । पुरुषको यस्तो अवस्थालाई मेडिकल टममा ‘अजस्पर्मिया’ पनि भनिन्छ ।

तसर्थ ‘अजस्पर्मिया’ भएको प्रायजसो पुरुषमा वशांणुगत गुण हुने भएकोले पनि महिलामा गर्भ नबस्ने हुन्छ । त्यसैले महिलामा गर्भ नबस्नुको कारण पछाडि महिलाको मात्र नभई पुरुषको पनि उत्तिकै समान भुमिका रहन्छ । यस्तै कुनै पनि दम्पत्तिको गर्भ नबस्नु पछाडि उपचार गरेपश्चात् पनि कुनै पनि कारण देखा परेको छैन वा शारीरिक हिसाबले सक्षम हुँदाहुँदै पनि गर्भ नबसेका दम्पत्तिहरुले पनि एकपटक अनिवार्य रुपमा आफ्नो डिएनए परीक्षण गराउनु पर्दछ ।

रोकथाम तथा उपचार

माथि उल्लेख गरेजस्तै के ख्याल राख्नुपर्छ भने कस्ता व्यक्तिमा कस्तो प्रकारको र कति मात्रामा वशांणुगत गुण देखा पर्छ भन्ने कुरा निश्चित हुँदैन । प्राकृतिक रुपमा नै यो निश्चित हुने भएकोले यसको उपचार कुनै किसिमको उपचार पनि हुँदैन । तर, कुनै एक महिलाको गर्भ नबसेको अवस्थामा वशांणुगत अवस्थाको परीक्षण गराउँदा, आइभिएफ उपचार पद्धति अपनाउन लागेका दम्पत्ति कुन तरिकामार्फत अगाडि बढ्दा उचित रहन्छ भन्ने कुराको जानकारी भने प्राप्त गर्न सक्छौ ।

अर्थात्, यसरी इन्फर्टिलिटी समस्या भएको व्यक्तिहरुमा वशांणुगत अवस्था परीक्षण गर्दा विशेषगरी उक्त महिलाको गर्भ रहने वा नरहने र आइभिएफ प्रणालीको कुन प्रक्रियाबाट जाँदा उचित रहन्छ भन्ने कुराको जानकारी प्राप्त हुन्छ । जसकारण यसले अन्य उपचार प्रविधिलाई समेत सहज बनाउनमा मद्दत गर्दछ ।

तसर्थ, यस्तो परीक्षणबाट व्यक्तिमा भएको समस्या निर्मुल पार्न नसकिएता पनि परीक्षणद्वारा जानकारी समयमै प्राप्त हुने भएकोले यसबाट हामीले केहि हदसम्म त्यस्ता समस्याहरुबाट पर्ने प्रभावबाट भने जोगिन सक्छौ । अर्थात्, यदि कुनै पनि महिलाको महिनावारी छिटो रोकिएको छ भने, सोही गुण उनको छोरीमा पनि देखा पर्न सक्ने हुन्छ । तसर्थ यसको निम्ति छोरीले आफ्नो योजनाभन्दा अगाडि नै गर्भधारणा गरेर निःसन्तान हुनबाट जोगिन सकिन्छ ।

यसैगरी, नजिकका सम्बन्धमा विवाह गर्ने परम्परा भएको समुदायमा पनि यो समस्या देखिन्छ । तर, वशांणुगत समस्या प्रायजसोः रक्तसम्बन्ध वा नजिकका सम्बन्ध भएका ब्यक्तिहरुको माध्यमबाट नै सो गुण एकबाट अर्काेमा सर्ने हुदा स्वास्थ्यको दृष्टिकोणले चिकित्सा क्षेत्र अन्र्तगत कम्तिमा पनि ४ अथवा ५ पुस्ताभन्दा अगाडि रहेका नजिकका सम्बन्धमा विवाह गर्नु उचित मानिदैन । र, यो पनि यस्ता वशांणुगत गुणबाट जोगिन सकिने सम्भावित उपायमध्ये एक हो ।

प्रस्तुतीः सृजना मगर


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ