२०८१ कात्तिक २१, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. अस्मिता भन्छिन्, ‘स्तन क्यान्सर पत्ता लगाउन हरेक युवतीले स्वयं परीक्षण गर्नुपर्छ’

डा. अस्मिता भन्छिन्, ‘स्तन क्यान्सर पत्ता लगाउन हरेक युवतीले स्वयं परीक्षण गर्नुपर्छ’


क्यान्सर के हो ?  कसरी हुन्छ ?  यसका लक्षणहरु के-के हुन् र यसबाट कसरी बच्न सकिन्छ ? यी हुन् स्तन क्यान्सरका सम्बन्धमा महिलाको मनमा उब्जिइ रहने प्रश्नहरु । विश्वव्यापी रुपमा स्तन क्यान्सर प्रमुख रोगमध्ये पहिलो नम्बरमा छ।

तर, नेपालमा भने पहिलो नम्बरमा पाठेघरको क्यान्सर र दोस्रोमा स्तन क्यान्सर। केही वर्षयता नेपालको अस्पतालको तथ्यांक हेर्दा स्तन क्यान्सरका बिरामीको संख्या तीव्र गतिमा बढेको छ । जसकारण पनि यो भविष्यमा पहिलो नम्बरमा आउन सक्ने अनुमान गर्न सकिन्छ ।

के हो त स्तन क्यान्सर?

स्तन शरीरको महत्वपूर्ण अंग हो । स्तनको काम भनेको आफ्नै तन्तुबाट दूध बनाउनु हो। यी तन्तुहरू सूक्ष्म वाहिनीद्वारा निप्पलसँग जोडिएका हुन्छन्। जब स्तन क्यान्सरको नलीमा सानो कडा कण जम्मा हुन थाल्छ वा स्तनको तन्तुमा सानो गाँठो बन्न थाल्छ । तब क्यान्सर बढ्न थाल्छ।  यो रोग महिलालाई मात्र नभई पुरुषलाई पनि हुन सक्छ । तर, पुरुषमा यो रोग निकै कम लाग्ने गरेको छ ।

स्तन क्यान्सरका कारण

  • स्तन क्यान्सर वंशाणुगत, हार्मोन घटबढ, मद्यपान, निष्क्रिय जीवन शैली र मोटोपना प्रमुख जोखिम कारक हुन्।

पारिवारिक इतिहास :  पुरुषको सन्दर्भमा बुबा, काका, हजुरबुबामा प्रोस्टेट वा प्यानक्रियाज क्यान्सर देखिएको छ भने पनि स्तन क्यान्सरको जोखिम हुनसक्छ।

त्यस्तै, काकी, आमा, सानिमा, हजुरआमा, दिदीमा स्तन वा अन्डाकोषको क्यान्सर भएको छ भने वंशाणुगत रुपमा देखिन सक्छ।

परिवारमा अन्य कुनै पनि क्यान्सरः परिवारमा स्तन क्यान्सर मात्र होइन, कसैलाई कुनै पनि प्रकारको क्यान्सर भएमा पनि परिवारका सदस्यले सावधानी अपनाउनुपर्छ, किनभने यो सम्पूर्ण शरीरका कोषिका  र कोषहरूको खेल हो । परिवारका सदस्यहरूको कोषिका र रगत मिल्न सक्छ।

हर्मोनको स्तर बढ्नाले :– शिशुलाई स्तनपान नगराउंदा, मोटोपना हुँदा पनि हर्मोनको स्तर बढ्ने हुन्छ जसकारण स्तन क्यान्सरको जोखिम बढ्छ।

  • मदिरा, चुरोट वा लागूऔषधको सेवनले पनि महिलामा स्तन क्यान्सर हुन सक्ने सम्भावना बढ्ने हुन्छ । अत्याधिक मद्यपानले  सेवनले हर्मोनको स्तर बढाउँछ। साथै, धुम्रपानको प्रयोग गर्नाले  क्यान्सर हुनबाट  रोकिएको जिन प्रभावित भएर क्यान्सर हुन सक्छ ।

यसको लक्षण

  • स्तन वा काखीमुनि गिर्खा वा डल्लो मासु देखिन सक्छ,
  • स्तनको निप्पल निचार्दा पानी, दुध वा पिप बग्ने हुन्छ,
  • छाला बाहिर सुन्तालाको बाहिर बोक्रा जस्तो रङको हुँदै जानु,
  • निप्पल भित्रपट्टि छिर्दै जान्छ,
  • घाउहरु हुने,
  • सानो गिर्खा हुँदा नदुखे हुन्छ,

स्तन क्यान्सरबाट बच्न आत्म-परीक्षण आवश्यक अनिवार्य

हरेक महिलाले आफ्नो स्तनको आकार, रंग, उचाइ र उनीहरूको दृढताबारे सचेत हुनुपर्छ। यदि तपाइँ स्तनमा कुनै परिवर्तनहरू देख्नुहुन्छ भने विशेष ख्याल राख्नुहोस् जस्तै पट्टी, दाग वा छाला र निप्पलहरूमा सुन्निने हुन्छ। प्रत्येक महिलाले उभिएर वा सीधा सुतेर आफ्नो स्तन परीक्षण गर्नुपर्छ। अहिले यससम्बन्धि जनचेतना  कार्यक्रमसमेत हुन थालेका छन्। आफ्नो स्तनको जाँच आफैले गर्न पर्छ भनेर जनचेतना नाफैलिएको कारण पनि यसको समस्या हुन्छ।

आफ्नो डाक्टर आफै कसरी बन्ने त ?

हरेक युवतीहरुलाई महिनावारीको ६/७ दिन वितिसकेपछि नुहाउँदा साबुन लगाएपछि हातले वरिपरी घुमाएर गिर्खा छ वा छैन चेक गर्ने, अर्को, भनेको सुत्दा हातले स्तनको वरपर छामेर    जाँच गर्न सकिन्छ ।

 त्यस्तै, ऐना अगाडी उभिएर हात माथि लगेर ऐनामा हेर्दा आफ्ना दुईवटै स्तन बराबरी भए/नभएको राम्रोसँग निरीक्षण गर्नुपर्छ । स्तनमा सामान्य फरक भने सबैको हुन सक्छ । तर, दुईवटा स्तनको आकारमा धेरै नै फरक छ भने क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

स्तनको आकार परीक्षण गरिसकेपछि दुवै हात माथि उठाएर काखीमा हेर्ने गर्नुपर्छ । धेरैजसो क्यान्सर शरीरमा गिर्खाबाट सुरु हुन्छ । दुवै हात माथि उठाएर हेर्दा काखीमा गिर्खा भए/नभएको थाहा पाउन सजिलो हुन्छ । यदि गिर्खाजस्तो डल्लो देखिएमा क्यान्सको जोखिम रहन्छ ।

काखी मुनि वा स्तनको वरपर कुनै पनि गिर्खा छ भने तुरुत्न जाँच गराउन पर्ने हुन्छ । यसले केहि हदसम्म यसको जोखिम रोक्न सक्छ।

हरेक महिलाले ४५ उमेर काटेपछि मेमोग्राम गर्न पने हुन्छ वर्षको ३ पटक यसबाट हातले छाम्दा पनि थाहाँ नपाउने हुन्छ र मोटो मान्छेको बाक्लो मासु लागेको छ भिडियो एक्स-रेले पनि थाहाँ पाउन सकिन्छ ।

यदि परिवारमा कसैलाई भएको छ भने ४०वर्षदेखि नै स्क्रिनिङ गराउनु आवश्यक छ

त्यस्तै, ४० वर्ष पुगेपछि महिलाले मेमोग्राम जाँच गराउनु अनिवार्य हुन्छ ।

स्तन क्यान्सरको चरण

पहिलो चरण : स्तनमा २ सेमी भन्दा सानो गिर्खा देखिन सक्छ ।

दोस्रो चरण:

  • यो श्रेणीमा लिम्फ़ ग्रन्थीमा गएको तर २ सेमी भन्दा सानो ।
  • लिम्फ़ ग्रन्थीमा नगएको तर, ५ सेमीभन्दा सानो गिर्खा भएमा ।

तेस्रो चरण : 

  • ५ सेमीभन्दा ठुलो र लिम्फ़ ग्रन्थीमा पुगिसकेको ।
  • छातिको मांसपेशी वा छालामा गिर्खाले छोएको ।

चौथो चरण  :  कुनै पनि अङ्ग जस्तो फोक्सो, कलेजो, हड्डी वा मस्तिष्कमा पुगिसकेको ।

यसको उपचार:-

स्तनमा गिर्खा देखिएपछि मासुको जाँच गर्नुपर्छ । कतै फैलिएको छ वा छैन भनेर पत्ता लगाउन सिटीस्क्यान वा छातीको एक्स-रे वा भिडियो एक्स-रे गर्न सकिन्छ । यी जाँच गरेपछि क्यान्सर भएमा कुन चरणमा छ भन्ने कुरा निर्धारण हुन्छ। परीक्षण पछि शल्यक्रिया, किमोथेरापी, किमो रेडियोथेरापी  र हार्मोनल थेरापी गर्ने भनेर निर्णय लिइन्छ ।

स्तन क्यान्सरमा एउटामा मात्र उपचारको भूमिका हुँदैन ।रोग फर्केर पुन: नदेखियोस र अरु अंगमा नफैलियोस भनेर दुई वा तीनवटै उपचारको भूमिका हुन्छ । उपचार एकैपटक हुँदैन क्रमबद्ध रुपले सुरु हुने हुन्छ ।

नेपालको सन्दर्भमा

हाम्रो देशभित्रै स्तन क्यान्सरको सम्पुर्ण उपचार विधिहरु उपलब्ध भएकोले डरलाग्दो रोग भए पनि उपचार गरी निको पार्न सकिन्छ। विगतको ६ वर्ष देखि नै उपचार विधिमा धेरै परिवर्तन आएको छ।

नेपालमा विदेशमा हुने सबै उपचार विधिहरु उपलब्ध भएकोले  जटिल बिरामीलाई पनि उपचार गरी निको पार्न सकिन्छ प्रविधिका साथै स्तन क्यान्सरकै मात्र उपचार गर्ने विशेषज्ञ डाक्टरहरु नेपालमा छन् । हाल  प्लास्टिक सर्जरी गर्ने देखि आधुनिक मेसिनहरु नेपालमा नै छ विगतको ६ वर्ष देखि नै उपचार विधिमा धेरै परिवर्तन आएको छ।

४५ पछिका महिलालाई स्तन क्यान्सरको जोखिम बढी हुन्छ  भनिए पनि नेपालको सन्दर्भमा ओपिडीमा ४०/३० उमेरको महिलामा देखिएको छ। २०/२५ वर्षको युवतीहरुमा पनि गिर्खाको परीक्षण गराउँदा क्यान्सर देखिएको छ । यसको कारण हालैको जीवनशैली नै हो भन्न पनि सकिन्छ मोटोपना र हार्मोन बढी हुँदा यस्तो समस्या देखिएको हो ।

अधिकांश महिलाहरु स्तन देखाउन लाज मानेर रोग लुकाएर राख्ने र अन्तिम चरणमा मात्र अस्पताल आउने हुँदा यसले जटिल रुप लिने गर्छ। तर, सुरुमै गाँठागुठीहरु आउनेबित्तिकै चिकित्सकको सल्लाहअनुसार स्तन क्यान्सरलाई निको पार्न, अन्य अंगहरुमा सर्नबाट रोकथाम तथा नियन्त्रण गर्न सकिन्छ।

गिर्खा देखिदैमा क्यान्सर हुँदैन

स्तनको गिर्खामा भएको मासुको जाँच गर्दा त्यसमा भएको पानीबाट नराम्रो कोषिकाहरु छ वा छैन भनेर हेरिन्छ । गिर्खा देखें बित्तिकै अप्रेशन नै गराउनुपर्छ भन्ने हुँदैन तर, क्यान्सरको पहिचान हुन छ छैन भन्नको लागि गिर्खा निकालेर जाँच गरिन्छ।

स्तन क्यान्सरबाट बच्न के गर्ने ?

  • धेरै मोटाउदा हार्मोन वृद्धि हुने हुँदा तौल सन्तुलनमा राख्ने,
  • व्यायाम र योगा ध्यान गर्ने,
  • स्वस्थ खानेकुरा खाने,
  • मद्यपान र धुम्रपान नगर्ने,
  • हर्मोन गढ़बढ गराउने औषधी सकेसम्म कम खाने,
  • अस्थायी साधन प्रयोग गर्ने जोडीले हार्मोन स्तरको कति घटबढलाई ख्याल गर्ने
  • जीवनस्तरलाई परिवर्तन गर्ने,
  • आफ्नो उमेर पुगेपछि स्क्रिनिङ गराउने,
  • दैनिक आफै जाँच गर्ने,

स्तन क्यान्सर पछिको यौन जीवन

स्तन क्यान्सर पछिको यौन जीवन कस्तो हुन्छ ? भन्ने अधिकांशको जिज्ञासा हुनसक्छ । यसका लागि हामीले के बुझ्नुपर्छ भने, स्तन क्यान्सरको उपचारपश्चात् बिरामीको हार्मोन सामान्य अवस्थामा पुगेपछि चाहानाअनुरुप गर्भधारण पनि गर्न सकिन्छ । तर, व्यक्तिमा पैदा हुने तनावका कारण यसले यौन जीवनमा पनि आंशिक परिवर्तन पार्ने भएकाले यस्तो अवस्थामा जीवनसाथीले उनीहरुलाई हौसला दिनु पर्छ । र, मानसिक रुपमा बलियो भएपछि यौन जीवन स्वतः सहज हुन जान्छ ।

पहिलाको अवस्थामा  स्तन क्यान्सर पछि यौन जीवनमा धेरै फरक आउने हुन्थ्यो किनभने  शरीरको एउटा अंग नहुँदा अलि कति फरक हुने हुन्छ । तर,  अहिले क्यान्सर हुने बित्तिकै छाति नै काटेर फ्याक्न पर्छ भन्ने छैन । किमो थेरापीबाट क्यान्सर भएको भागलाई सुकाएर निकाल्न सकिन्छ  । वर्तमान अवस्थामा जहाँ क्यान्सरको कोषिका छ त्यहिको सानो भाग मात्र काटेर  जस्ताको तस्तै आकार बनाउन सम्भव भैसकेको छ । त्यसैले पहिला जत्तिको यौन जीवनमा असर भने कम नै हुन्छ । चिकित्सकहरुले पनि उपचार पछि परामर्श दिने गरिन्छ ।

-क्यान्सर रोग विशेषज्ञ डा. अस्मिता रायमाझीसँग हेल्थआवाजका लागि मनिषा थापाले गरेको कुराकानीमा आधारित


क्याटेगोरी : जनस्वास्थ्य, महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ