२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहिला/बाल स्वास्थ्यडा. अरुणा उप्रेतीको सल्लाह : जाडोमा बालवालिकाको हेरचाह यसरी गर्ने

डा. अरुणा उप्रेतीको सल्लाह : जाडोमा बालवालिकाको हेरचाह यसरी गर्ने


कुनै पनि व्यक्ति स्वस्थ्य हुनको निम्ति सर्वप्रथम उसको बाल्यकालको जीवनशैली स्वस्थ्य हुनु नितान्त आवश्यक हुन्छ । बाल्यावस्था नै अस्वस्थ्यकर भएको अवस्थामा सोही समस्याले उनीहरुलाई दीर्घकालीन अवस्थासम्म सताइरहने हुन्छ । तसर्थ, आफ्ना बालवालिका भविष्यमा समेत निरोगी रहिरहोस् भन्नका लागि हामीले उनीहरुको खानपिन तथा स्याहार सुसारमा उचित ध्यान दिनुपर्दछ ।

बालवालिकाको उमेरलाई संवेदनशील उमेर पनि मानिन्छ । वयस्कहरुको तुलनामा उनीहरुलाई कुनै पनि रोगले छिट्टै नै समाती हाल्ने हुन्छ । अझ चिसो मौसमका कारण अधिकांश बालवालिकाहरु प्रायजसोः जाडोमा बढी बिरामी पर्छन् । यो संवेदनशीलतालार्ई मध्यनजर गर्दै हामीले जाडोमा अझ उनीहरुको उचित ख्याल राख्नुपर्दछ ।

जाडोमा बालवालिकामा देखापर्न सक्ने समस्याहरुः

  • रुघाखोकी
  • ज्वरो
  • घ्यारघ्यार हुने
  • हातगोडा फुट्ने
  • र, टाउको दुख्ने समस्या

जाडोमा बालबालिकाको हेरचाह गर्ने तरिका

बालवालिकाहरु कुनैपनि कामको निम्ति सदैव आफ्ना अभिभावकहरुप्रति आश्रित रहने गर्दछ । हामीले उनीहरुको स्वास्थ्यको उचित ख्याल राख्नुपर्दछ । अझ जाडो महिनामा उनीहरुलाई विशेष स्याहार सुसारको आवश्यकता पर्ने हुँदा यस समयमा उनीहरुलाई हाम्रो अझ धेरै स्याहार सुसारको आवश्यकता पर्दछ ।

बालवालिकामा चिसो मौसमका कारण कुनैपनि किसिमका शारीरिक समस्याहरु देखा नपरोस भन्नका निमित्त हामीले उनीहरुले लगाउने कपडादेखि खाने खानाहरुमा समेत विशेष ध्यान दिन आवश्यक पर्दछ । यसको निमित्त शरीर न्यायो भइराखोस भन्नको निमित्त उनीहरुलाई तातो खानाहरु मात्र खान दिनुपर्दछ । यस्तै घ्यु, चाकु तथा तिलले शरीरमा ऊर्जा प्रदान गर्ने भएकोले आफ्ना बालवालिकाको खानामा यस्ता आहाराहरुको समावेश अनिवार्य रुपमा गराउनुपर्दछ ।

र, बालवालिकालाई चियाभन्दा पनि विशेष रुपमा तातोपानी र बेसार, अदुवा, ज्वानो मिश्रित सुप खुवाउनु पर्दछ । बालवालिकालाई आवश्यक भिटामिन डि घामबाटै मिल्ने भएकोले साना बालबालिकालार्ई घाममा राखेर तेल लगाइदिने र खेल्न दिनुपर्दछ ।

केही अभिभावकले आफ्नो बालवालिकालाई चिसो नहोस् भन्नको निमित्त आवश्यक भन्दा बढी कपडा शरीर नै गुम्सिने गरी लगाइ दिने गरेको पनि पाइएको छ । तर, शरीरलाई तातो बनाउने नाममा ज्यान नै गुम्सिने गरी कपडा लगाइ दिनुपर्छ भन्ने मान्यता विल्कुल गलत हो । तर, भोटो लगाउँदा यसले विशेषगरी बालवालिकाको छातीमा सिधै हावा पस्न रोक्ने भएकोले यस समयमा बालवालिकालाई सकेसम्म भोटो लगाइदिन एकदमै उपयुक्त मानिन्छ ।

आफ्ना बालवालिकामा घ्यार—घ्यार हुने तथा ज्वरो आउनेजस्ता समस्या देखापरेको खण्डमा कतिपय अभिभावकहरु डराएर तुरुन्त आफ्ना बालवालिकालाई एन्टिबायोटिक औषधी समेत खुवाइहाल्ने गर्छन् । तर, यसो गर्नुहुँदैन । यसले गर्दा उनीहरुलाई पछि गएर विभिन्न किसिमका समस्याहरु समेत देखापर्न सक्ने भएकोले हामीले सकेसम्म उनीहरुलाई चिसो नलागोस् भन्नेमा ध्यान दिनुपर्छ । त्यसका लागि विशेषगरी उनीहरुको टाउको र खुट्टालाई न्यायो बनाइ राख्नुपर्दछ ।

यस्तै, रुघाखोकी लागेको समयमा बालबालिकालार्ई मह र अदुवाको रसले पनि फाइदा गर्ने भएकोले उक्त घरेलु औषधीको पनि प्रयोग गर्न सकिन्छ । तर, यदि बालवालिकामा कुनैपनि समस्या लगातार रुपमा देखा परेको छ भने त्यस्तो अवस्थामा पनि कुनैपनि औषधिको सेवन गराउनुपूर्व सम्बन्धित चिकित्सकसँग परामर्श लिनुपर्दछ ।

सृजना मगरसँगको कुराकानीमा आधारित


क्याटेगोरी : महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ