२०७८ मंसीर १३, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलसधैं फष्ट हुने मनकारी डा. सविना

सधैं फष्ट हुने मनकारी डा. सविना


सधैं अब्बल, सधैं छात्रवृत्ति । प्रा.डा. सविना भट्टराईको विशेषता नै हो । सेन्ट मेरिजको प्रारम्भिक पढाइ, कलकत्ता मेडिकल कलेजबाट एमबीबीएस हुँदै धरानबाट डर्माटोलोजीमा विशेषज्ञता हासिल उनले छात्रवृत्तिमै गरिन् । काठमाडौंमा जन्मे हुर्केकी यी मनकारी चिकित्सक अहिलेकी व्यस्त डर्माटोलोजिष्ट हुन् । रमाइलो त के भने डा. सविना कलकत्तामा पढ्दा उनको परिचय नै ‘गोरी केटी’ थियो ।

वि.सं. २०३० कात्तिकमा काठमाडौंको प्रसुति गृहमा जन्मिएकी हुन्, उनी । बुवाआमा दुवै सरकारी जागिरे थिए । बुवा स्व. सुशील भट्टराई बबरमहलस्थित वन कार्यलयमा कार्यरत थिए भने आमा शान्ति भट्टराई खुमलटारस्थित नास्टमा कृषि वैज्ञानिक थिइन् । उनका दुई सन्तानमध्ये सविना जेठी हुन् ।

राम्रो पारिवारिक वातावरण हुर्किएका कारण उनको शिक्षादीक्षा कुनै कमी रहेन् । सुरुमा डा. सविना जावलाखेलस्थित सेन्टमेरिज स्कुल पढिन् । उनका बुवा माष्टर्स गर्न अमेरिका गएपछि उनीपनि परिवारसँगै अमेरिका पुगिन् । त्यसैले उनको दुई—तीन वर्षको पढाइ अमेरिकामै भयो । नेपाल फर्केपछि उनले फेरि नेपाली सिक्नुप¥यो । फेरि पुरानै स्कुल सेन्ट मेरिजमा भर्ना भइन् ।

उनको बाल्यकाल बानेश्वरमा बितेको हो । ‘त्यो बेलाको काठमाडौं खाली थियो । हामी विहान—विहान रिङरोडमा स्कर्टिङ गथ्र्यौ । साइकल चलाउँथ्यौं । चंगा उडाउँथ्यौं,’ उनले त्यो बेलाको काठमाडौंका स्मरणीय अनुभव साटिन् ‘टोलका साथीहरु धेरै थिए । फुटबल खेल्ने, चंगा उडाउने सबै कुरा बाल्यकालमै सिके ।’ उनलाई विशेषगरी साइकल चलाउन मन पथ्र्यो । कहिले एक्लै त कहिले कसैलाई बोकेर उनी साइकलमा बानेश्वरका गल्ली—गल्ली चहार्थिन् ।

डा. सविना पढाइमा बाल्यकालदेखि नै तीक्ष्ण दिइन् । सानैदेखि उनलाई भविष्यमा डाक्टर बन्ने सपना थियो । त्यो बेला कसरी डाक्टरीप्रति आकर्षण पैदा भयो ? भन्छिन्, ‘मैले त्यो बेलाका डायरीहरुमा डाक्टर बन्छु भनेर लेखेको रहेछु । त्यो बेला हाम्रो भट्टराई परिवारमा महिला डाक्टर थिएनन् । काकाहरु डाक्टर हुनुहुन्थ्यो ।’ उनलाई मन भित्रैदेखि डाक्टर बन्ने रहर थियो । स्कुलमा हुँदा उनी लेखन र सम्पादनमा पनि उतिकै रुचि राख्थिन् । उनलाई सबैभन्दा मनपर्ने विषय विज्ञान थियो ।

सेन्ट मेरिजबाटै उनले वि.सं. २०४६ सालमा एसएलसी फष्ट डिभिजन ल्याएर स्कुल नै टप गरिन् । त्यसपछि उनी सानेपास्थित मोर्डन इन्डियन स्कुलमा प्लस टु पढ्न थालिन् । त्यहाँबाट प्लस टु सकेपछि उनले एमबीबीएका लागि जगदम्बा छात्रवृत्तिमा आवेदन दिइन् र छानिइन् पनि । त्यसपछि उनी वि.सं. २०४९ सालमा एमबीबीएस पढ्न भारतको कलकत्ता मेडिकल कलेज गइन् । ‘त्यो बेलामा भारतमा नेपालबाट छात्रवृत्तिमा पढ्न जान पाउने २ वटा कोटा थियो,’ उनले भनिन्, ‘एउटा कलकत्ता मेडिकल कलेजमा र एउटा आर.जी.कार मेडिकल कलेजमा ।’

सधैं आमाबुवाका सानिध्यमा रहेर हुर्किएकी उनी एमबीबीएस पढ्न जाँदा पहिलो पटक घरपरिवारबाट टाढा भएकी थिइन् । ‘एक्कासी नयाँ माहोलमा पुग्दाखेरि डरसँगै एक्साइटमेन्ट पनि थियो,’ उनी एमबीबीएस जर्नीबारे नोल्टाजिक सुनिइन्, ‘टेलिभिजनजस्ता सञ्चार माध्यमहरु थिएनन्, कलकत्ता गइसकेपछि मलाई नयाँ भाषा बंगाली पनि सिक्नुप¥यो ।’ सुखसयलमा हुर्किएकी उनका लागि नयाँ भाषा, नयाँ ठाउँ, नयाँ साथीभाइ र नयाँ वातावरणमा एडजस्ट हुन सुरुमा गाह्रो भयो । त्यहाँ उनले एकजना नेपालीलाई भेटिन्, जसले उनलाई स्थानीय अभिभावकका रुपमा निकै सहयोग गरे । त्यो परिवारको दिएको न्यायोपनले उनी सम्झिरहन्छिन् ।

कलकत्ता मेडिकल कलेजका १ सय ५० जना विद्यार्थीहरुमा पनि उनी एक्ली विदेशी विद्यार्थी थिइन् । कक्षामा उनी सबैको नोटिसमा थिइन् । ‘जुन टिचर क्लासमा आएपनि नेपालबाट आएको ‘गोरी केटी’ भनेर मलाई खोज्थे,’ उनी भन्छिन्, ‘सबैको नजरमा पर्ने भएकाले कुनै क्लास बंक गर्नेजस्ता रमाइला कुराहरु अनुभव गर्न पाइन् । प्रत्येक टिचरले गोरी केटी कहाँ गइ भनेर खोजिहाल्थे ।’ सन् १९९९ मा उनले एमबीबीएस सकिन् । एमबीबीएसपछि इन्टर्न पनि त्यही गरिन् । इन्टर्नमा पनि राम्रो पैसा हुन्थ्यो । ‘छात्रवृत्तिमै पढेका कारणले मैले मेरो विवाहबाहेक परिवारबाट अरु खर्चका लागि कहिल्यै पैसा माग्नुपरेन्,’ उनले सुनाइन्, ‘छात्रवृत्तिमै पढे । आत्मनिर्भर नै भएकाले अहिलेसम्म जे जति गरे, आफै गरे ।’

कलकत्ता एमबीबीएस पढाइकै बेला उनले श्रीमान डा. सुबोधसागर ढकाललाई भेटेकी हुन् । ‘म एमबीबीएस दोस्रो वर्ष पढ्दै थिए । त्यस समयमा उहाँ पनि डाक्टर पढ्न जानुभएको थियो,’ डा. सविना भन्छिन्, ‘तर, उहाँ आर.जी.कार मेडिकल कलेजमा पढ्न जानुभएको थियो ।’ साथीभाइमार्फत नै उनको डा. सुबोधसागरसँग सहचार्य सुरु भएको हो । भिन्दै कलेज भएकाले त्यति भेट भने हुँदैनथ्यो । कलकत्तामा एमबीबीएस र इन्टर्न सकिएपछि डा. सविना र डा. सुबोधसागर दुवै नेपाल फर्किए । उनका एक जना अर्को साथी पनि उनीहरुसँगै नेपाल फर्किएका थिए ।

‘त्यही बेला त्रिवि शिक्षण अस्पतालमा चिकित्सक आवश्कता रहेछ,’ उनी भन्छिन्, ‘हामी ३ जनाले नै त्यही जागिर सुरु ग¥यौं ।’ त्यतिबेला जागिरका लागि अहिलेजस्तो प्रतिस्पर्धा गर्नुपर्दैन्थ्यो । त्यतिबेला डा. सुबोधसागरको घर विशालबजारमा थियो भने डा. सविनाको बाँसबारी । नजिक भएकाले पनि त्रिवि शिक्षणमा जागिर गरेको उनी सुनाउँछिन् । एक वर्ष त्रिवि शिक्षण अस्पतालमा काम गरेपछि पिजीका लागि तयारी गर्न थालिन् । त्यही क्रममा सन् २००० मा डा. सविना डा. सुवोधसागरसँग विवाह बन्धनमा बाँधिइन् ।

पिजीको तयारी गर्दै डा. सविना ओम अस्पतालमा काम गर्न थालिन् भने डा. सुवोधसागर काठमाडौं मेडिकल कलेजमा काम गर्न थाले । दुवैजनाका परिवारका सदस्य अमेरिकामा भएकाले अमेरिकामै पिजी गर्ने सल्लाह घरमा भइरहेको थियो । सन् २००२ मा डा. सुबोधसागरका साथीहरुले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिजी भर्ना खुलेको खबर सुनाए । श्रीमान र साथीसहित डा. सविना पनि पिजीको इन्ट्रान्स दिन धरान गइन् ।

‘हामीले जाँच दियौं । १३—१४ नम्बरमा नाम निस्कियो,’ उनले भनिन्, ‘त्यो बेला मलाई छाला सम्बन्धि डाक्टर बन्छु भन्ने थियो । किनकी नाइट ड्युटी पर्दैन्, घरमा पनि समय दिन मिल्छ भन्ने थियो,’ उनले थपिन् । डा. सुवोधसागरको इच्छा भने मेडिसिन र रेडियोलोजीमा थियो । दुवै जनाले छात्रवृत्तिमा स्वदेशमै पिजी पढ्ने अवसर पाएपछि घरपरिवारले पनि विपीमै पिजी पढ्न प्रेरित गरे । सन् २००५ मा दुवैले पिजीको अध्ययन सके । उनको पहिलो सन्तान सुभान सन् २००५ मा जन्मिए भने सन् २००७ मा दोस्रो सन्तान शुशादको जन्म भयो । बुवाआमा दुवै विपीमै काम गर्ने भएकाले उनीहरु धरानमै हुर्किए ।

डा. सविना त्यहाँ अध्यापन पनि गराउन थालिन् । पछि विपीमा सह—प्राध्यापक पनि भइन् । निरन्तर घरबाहिरको बसाइँले परिवारसँग सामीप्यतामा गाह्रो हुन थालेपछि सन् २०१२ मा उनी परिवारसहित काठमाडौं फर्किइन् । काठमाडौं फर्केपछि डा. सविना काठमाडौं मेडिकल कलेजमा काम गर्न थालिन् भने उनका श्रीमान नेपाल मेडिकल कलेजमा काम गर्न थाले । ‘केएमसीमा ९ वर्ष जति काम गरे । प्रशासनिक र अध्यापनको काम पनि गरे,’ उनले सुनाइन्, ‘प्राध्यापक भएर पढाए पनि ।’

गत वैशाखदेखि भने उनले काठमाडौं मेडिकल कलेजको जागिर छोडिन् । अहिले उनी दरबारको पूर्वी ढोका नागपोखरी मार्गमा रहेको आफ्नो ‘लभना स्कीन एण्ड हेयर क्लिनिक’ र स्वयंमसेवी काममै व्यस्त छन् । डा. सविनाले क्लिनिकल रिसर्चमा बेल्जियमबाट फेलोसिप गरेकी छिन् । उनी छाला रोगका चिकित्सकहरुको संस्था नेपाल चर्म यौन तथा कुष्ठरोग समाजकी अध्यक्ष पनि हुन् । आफू पढेको स्कुल सेन्ट मेरिजका भूतपूर्व विद्यार्थी संगठन सञ्चालक समितिमा पनि छन् ।

मनकारी डा. सविना

फरासिली चिकित्सकको छवि भएकी डा. सविना मनकारी छन् । फोन, मोबाइल र एसएमसमै उनी आपत परेका बिरामीलाई सरसल्लाह दिन कन्जुसाईं गर्दिनन् । दुःख परेका बिरामीको सेवा गर्नु पनि उनको रोजाइमा पर्छ । यस्तै—यस्तै मनकारी चिकित्सकहरु मिलेर गरिब र उपचार नपाएका ग्रामीण क्षेत्रका मानिसहरुलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन ‘एक एक पाइला’ अभियान सुरु गरेका छन् ।

‘सन् २०१५ सालमा महाभूकम्प आउँदा मेरो श्रीमान र उहाँका साथीहरु मिलेर स्वास्थ्य सेवा दिन लागौं भनेर एक—एक पाइला अभियान संचालन गरेका हौं,’ डा. सविना भन्छिन्, ‘हामीले प्रत्येक महिनामा एकपटक भूकम्प प्रभावित ग्रामीण वस्ती गएर सेवा दिने निर्णय ग¥यौं ।’ सुरुमा चनौतेमा विशेषज्ञ स्वास्थ्य सेवा क्याम्पबाट यो अभियानले सुरु भएको थियो । भूकम्पको इपीसेन्टर वारपाकसहित १२ वटा भूकम्पन प्रभावित ठाउँमा विशेषज्ञ स्वास्थ्य क्याम्पहरु यो अभियानले सञ्चालन ग¥यो । त्यसपछि मनाङ, सुदूरपश्चिमलगायतका ठाउँमा गरी गत बैशाखमा २० वटा विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भए । ‘हाम्रो उद्देश्य भनेको स्वास्थ्य सेवाको पहुँच नपुगेको ठाउँमा पुगेर सेवा दिनु थियो,’ डा. सविना भन्छिन्, ‘हामी पहिला आफ्नै खर्चमा गएको थियौं पछि जिल्ला अस्पताल, स्थानीय सरकारसँग समन्वय गरेर जाँदा सजिलो भयो ।’

गत बैशाखबाट अभियानको अग्रसरतामा थापाथलीमा विपन्न र गरिबहरुलाई स्वास्थ्य सेवा दिने उद्देश्यले ‘एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र’ स्थापना भएको छ । एक—एक पाइला सामुदायिक स्वास्थ्य केन्द्रमा सबैजसो विशेषज्ञ सेवा उपलब्ध छन् । केन्द्रले मुटु, बाल, आँखा, दाँत, कलेजो, छाला, छाती, नाक, कान, घाँटी, स्त्री, छाला, क्यान्सर, फोक्सो, हड्डी विशेषज्ञ सेवा न्यून शुल्कमा उपलब्ध गराइरहेको छ । २८ जना जति विशेषज्ञ चिकित्सकहरु यी सेवाहरु दिइरहेका छन् ।

सस्तो र सुलभ उपचार सेवा निजी अस्पतालकै स्तरमा दिने र उपचारबाट कुनै पनि मानिस बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ यो केन्द्र सञ्चालनमा ल्याइएको उनी बताउँछिन् । केही समयमै थप दुई वटा यस्तै अस्पतालहरु सञ्चालनमा ल्याउने तयारी पनि छ । स्थानीय सरकार, स्वीडेन—नेपालको सहयोगमा एउटा सिन्धुपाल्चोकको ठोर्कपा र जाजरकोटमा विशेषज्ञ सुविधासहितको अस्पताल संचालन गर्न तयारी छ । डा. सविना यो अस्पतालमा पनि सेवा दिइरहेकी छन् ।

स—साना कुरामा खुशी हुने डाक्टर

डा. सविनाको सरल दैनिकी छ । उनी बिहान ६ बजे उठ्छिन् । झण्डै दुई घण्टा योगा र मेडिसिन गर्छिन् । त्यसपछि बालबच्चाका लागि खाना बनाएर क्लिनिक जान्छन् । क्लिनिकमा बिरामी हेर्छिन् । ५—६ बजेसम्म घर फर्किसक्ने कोसिस गर्छिन् ।

घर फर्केपछि खाना पकाउँछिन् । ‘मलाई कुकिङमा निकै रुची छ,’ यी हँसिली चिकित्सकले भनिन्, ‘त्यसले पनि मलाई आराम दिन्छ । खाना खाएपछि चाडै सुत्ने प्रयास गर्छु ।’ बेकरी आइटम बनाउन मन पराउने उनलाई दाल, भात भने पकाउन आउँदैन् । डा. सविना फुर्सदको समयमा एकान्तमा बस्ने, गीत सुन्ने गर्छिन् । बगैचाको हेरचाह गर्ने र फुलेका फुलहरु अवलोकन गर्न पनि उनी मन पराउँछिन् ।

पहिरनमा पनि उनी उति चुजी छैनन् ।  पाइन्टहरु नै उनी बढी मन पराउँछिन् । ‘साडी म विरलै लाउँछु, बिहे र भोजमा मात्रै लगाउँछु । कुर्ता सुरुवाल पनि लाउँछु,’ उनले भनिन् । खानेकुरामा उनलाई चकलेट औधी मनपर्छ । ‘मलाई चकलेटको नशा छ भन्दा पनि फरक पर्दैन्,’ उनले आफ्नो चलकेट प्रेमबारे भनिन्, ‘दिनमा कुनै न कुनै चकलेट खानै पर्छ ।’

बुवा र आमा दुवै सरकारी जागिरे भएकाले अध्ययनमा नै केन्द्रित हुन्थे । अझ आमा त बढी अनुसन्धानमा सक्रिय रहन्थिन् । त्यो गुण डा. सविनामा पनि सरेको छ । उनी पनि लेखन र अनुसन्धान मन पराउँछिन् । सानो—सानो कुरामा पनि खुसी हुने भएकाले उनलाई खुसी बनाउन सहज छ । ‘मलाई कुकुर धेरै मनपर्छ । दुईवटा कुकुर छन्,’ उनी सुनाउँछिन्, ‘म घर फर्किंदा उनीहरुले पुच्छरलाई हल्लाउँदा पनि खुसी हुन्छु ।’ उपचारपश्चात ठिक भएपछि बिरामीमा देखिने खुसी उनको जीवनसम्म आइपुग्छ र उनी पनि आनन्दित हुन्छिन् । ‘बिरामीलाई केही गर्न नसक्दा दुःख लाग्छ,’ कुराको बिट मार्दै उनले सुनाइन् ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र, #कलकत्ता मेडिकल कलेज, #डा. सुबोधसागर ढकाल, #प्रा.डा. सविना भट्टराई, #लभना स्कीन एण्ड हेयर क्लिनिक, #सेन्ट मेरिज


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)