२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलकोशी अस्पतालका युवा कमाण्डर डा. यज्ञराज, भन्छन्, ‘२४ सैं घण्टा इमर्जेन्सी सेवा दिनेछौं’

कोशी अस्पतालका युवा कमाण्डर डा. यज्ञराज, भन्छन्, ‘२४ सैं घण्टा इमर्जेन्सी सेवा दिनेछौं’


पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल हो–विराटनगरस्थित कोशी अस्पताल । तीब्र गतिमा भौतिक पूर्वाधार र सेवा विस्तारमा फड्को मारिरहेको कोशी अस्पतालको कमाण्ड हालैमात्र डा. यज्ञराज खरेलले पाएका छन् ।

३ फागुनमा स्वास्थ्य तथा जनसंख्या  मन्त्रीस्तरको निर्णयअनुसार डा. खरेलले कोशी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु)को जिम्मेवारी पाएका हुन् । १० औं तहका उनी वरिष्ठ कन्सलल्टेण्ट अर्थोपेडिक सर्जन हुन् । डा. खरेल एक दशकदेखि कोशी अस्पतालमा सेवारत छन् ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाटबाट एमबीबीएस र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल कठमाडौंबाट अर्थोपेडिक सर्जरीमा एमएस गरेका उनी कोशी अस्पताल पुगेपछि हाडजोर्नीका बिरामीको उपचारमा गति पाएको हो । उर्जाशील युवा चिकित्सक डा. खरेल मेसुको जिम्मेवारी पाएपछि अस्पतालको स्वास्थ्य सेवालाई गुणस्तरीय एवं प्रभावकारी बनाउने बताएका छन् ।

वि.सं. २०६३ सालमा लोकसेवाबाट उनी सरकारी सेवामा प्रवेश गरेका हुन् । सरकारी सेवा प्रवेशपछिको पहिलो पोस्टिङ इलामको फिक्कलस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भएको थियो । डेढ वर्ष त्यहाँ काम गरेपछि इलाम जिल्ला अस्पतालमा काम गरेका थिए । त्यसपछि वीर अस्पतालमा तीन वर्ष बिरामीको सेवा गरे ।

वीर तीन वर्ष बिताएपछि उनले तत्कालीन कोशी अञ्चल अस्पताल अहिलेको कोशी अस्पतालमा सेवा सुरु गरेका थिए । कोशीमा उनले बिरामीलाई सेवा दिदैं आएको १० वर्ष भएको छ । यस अवधिमा प्रदेश १ का पहाडी जिल्लादेखि तराईका धेरै बालबालिका, युवा र वृद्धवृद्धाका भाँच्चिएका हात, खुट्टा जोडिदिने चिकित्सकका रुपमा ख्याति कमाएका छन् ।

एक दशक बढी समय विराटनगरलाई कर्मथलो बनाएर अनवरत सेवा दिइरहेका उनले हजारौं—हजारलाई चल्ने, हिड्ने बनाएका छन् । यी अर्थोपेडिक सर्जनले एक दशक प्रदेश १ को सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा सर्जरीमा बिताए । अहिले पनि प्रदेश १, मधेश प्रदेश र भारतदेखि बिरामी उपचारका लागि कोशी अस्पतालमा आउने गरेका छन् । उनको हातको कुशलता र उनले आर्जन गरेको सीपले पूर्वी नेपालका हजारौं मानिसको जीवनलाई सहज बनाएको छ ।

डा. खरेल अस्पतालको हाडजोर्नी विभागको प्रमुखको रुपमा विगत पाँच वर्षदेखि सक्रिय थिए । उनले हाडजोर्नी विभागको जिम्मेवारी सम्हाल्नुअघि स्व. डा. मुकुन्द दाहाल विभागका प्रमुख थिए । ‘हाडजोर्नी विभागमा १६ शैय्यालाई बढाएर ३३ शैय्याको पु¥याउने डा. मुकुन्दको योजना अहिले हामीले पूरा गरेका छौं,’ डा. खरेल भन्छन् ।

अहिले कोशीमा अर्थोपेडिकमा एमडी र एमएसको पढाइ पनि सुरु भएको छ । डा. खरेलले कोशी अस्पतालमा हप्तामा ३ दिन ओपिडी र २ दिन शल्यक्रिया गर्दछन् । ओपिडीमा मात्रै दैनिक औसत २० देखि २५ जनासम्म बिरामी चेक जाँच गर्ने गर्छन् । हप्ता दुई पटक शल्यक्रिया हुने गरेको छ । डा. खरेल सोमबार र बिहिबार शल्यक्रियामा व्यस्त रहन्छन् । ‘बिहान १० बजेदेखि साँझसम्मै कोशीमा शल्यक्रिया हुन्थ्यो । एकदिनमै २/३ जनाको शल्यक्रिया हुन्छ,’ उनले सुनाए । उनले कोशीमा यसअवधिमा ३ देखि ४ हजार जनासम्मको शल्यक्रिया गरिसकेका छन् ।

एक दशक लामो अनवरत सेवापछि डा. खरेललाई सिंगो अस्पताल हाँक्ने महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको हो । मेसुको जिम्मेवारी सम्हालेपछि उनको पहिलो योजना कोशी अस्पतालको सेवा गुणस्तरीय र प्रभावकारी बनाउने रहेको छ ।

झापामा बुवा कृष्णप्रसाद र आमा धर्मकुमारी खरेलको कोखबाट वि.सं. २०३६ सालमा जन्मिएका खरेल एक्ला छोरा हुन् । उनले झापाको मेची क्याम्पसबाट आईएस्सी उत्तीर्ण गरेका हुन् । उनका दुई छोरी र श्रीमती छन् ।

कोशीमा २४ घण्टा इमर्जेन्सी सेवा दिनेछौं

कोशी अस्पतालको मेसुको पदभार ग्रहण गरेपछि हामीले सोधेका थियौ । ‘तपाईको पहिलो प्राथामिकता के रहन्छ ?’ उनले भने, ‘मेरो पहिलो प्राथामिकता कोशी अस्पतालको आकस्मिक कक्ष सुधार गर्ने । मैले कोशी अस्पताललाई विगत १० वर्षदेखि देखेको छु । यहाँको समस्या र सबल पक्ष थाहा छ । तत्काल सुधार गरिनुपर्ने आकस्मिक सेवाहरु रहेको छ । जुन अति आवश्यक सेवा हो ।’ आकस्मिक सेवा सुधार भएपछि हस्पिटल सुधार हुने अपेक्षा उनको छ ।

‘आकस्मिक सेवाको डियुटीलाई चुस्त, दुरुस्त बनाएर लैजानेछौं । इमर्जेन्सीलाई विस्तार गरिनेछ,’ उनले थपे । यसबाहेक पर्याप्त उपकरण, सरसफाइमा विशेष ध्यान दिने उनले योजना बनाएका छन् । आकस्मिक सेवामा सुधार गरिएपछि क्रमसः अन्य सेवाहरु सुधार गर्दै लैजाने उनले बताए ।

‘राति बिरामी परेर कोशी अस्पतालको अकस्मिक कक्षमा आउँदा डाक्टर भेटिने र सेवा दिने प्राणालीको विकास गर्नेछौं,’ डा. खरेल भन्छन्, ‘पहिला कोशीको आकिस्मक कक्षबाट हुने सेवा यहाँका कुनै निजी अस्पतालले दिने भन्दा कम थिएन । निजी अस्पतालको आकस्मिक कक्षमा विशेषज्ञ चिकत्सक नहुँदा कोशीमा भेटिने गरेको थियो ।’ तर, अहिले बिरामीमा नकारात्मक प्रभाव परेको बताउँदैं उनले त्यसलाई हटाउन लागि पर्ने उल्लेख गरे । त्यसका लागि उनी आकस्मिक कक्षबाट २४ सैं घण्टा सेवा प्रवाह गर्ने तयारीमा छन् ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #कोशी अस्पताल, #चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), #डा. यज्ञराज खरेल, #विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #वीर अस्पताल, #स्वास्थ्य तथा जनसंख्या


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ