२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलपूर्वको न्यूरो सेवाका अगुवा डा. विष्ट, जो बेलायतबाट फर्केर जन्मथलोमा सेवा दिन आए

पूर्वको न्यूरो सेवाका अगुवा डा. विष्ट, जो बेलायतबाट फर्केर जन्मथलोमा सेवा दिन आए


डा. विरेन्द्रकुमार विष्ट पूर्वी नेपालमा न्यूरोलोजीका अगुवाको रूपमा परिचित रहेका छन् । पूर्वी नेपालका पहाडी जिल्ला, तराई र भारतका धेरै बिरामीको उपचार गरेर ख्याति आर्जन गरेका कारण मात्रै होइन्, पूर्वमा न्यूरो उपचार सेवाको भरपर्दो विकल्प स्थापित गरेका कारण पनि डा. विष्टको यस्तो पहिचान बनेको हो ।

जन्मथलो विराटनगरलाई नै कर्मथलो बनाएर तीन दशकदेखि अनवरत स्वास्थ्य उपचार सेवा दिइरहेका उनले हजारौं-हजारलाई बचाएका छन् । उनले आर्जन गरेको सीपले प्रदेश १, मधेश प्रदेश र भारतका हजारौं मानिसको जीवनलाई सहज बनाएको छ । डा. विष्ट पूर्वाञ्चलमा पहिलोपटक न्यूरोलोली सेवा भित्र्याउने चिकित्सक हुन् ।

दैनिक औसत ८० देखि एक सय जना बिरामीलाई सेवा दिँदै आएका उनले २० वर्षको अवधिमा ५ लाखभन्दा बढी बिरामीको सफल उपचार गरिसकेका छन् । हजारौं बिरामीलाई नयाँ जीवन दिएर डा. विष्ट ती बिरामीका परिवारमा खुसीको प्रकाश छर्न सफल छन् । आफ्नै नेतृत्वमा स्थापना भएको न्यूरो अस्पतालमा काम गर्दा डा. विष्ट अस्पताललाई मन्दिर, आफूलाई त्यसको पुजारी र त्यहाँ आउने बिरामीहरुलाई देउता सम्झन्थे ।

जीवनमा पैसालाई कहिल्यै महत्व नदिएको बताउने उनी राम्रो काम र सेवा गरेमा पैसा आफै प्राप्त हुने बताउँछन् । उनले पूर्वमा न्यूरोलोजी सेवा सुरू गर्नुभन्दा अघि यहाँका बिरामी भारतको सिलिगुडी र काठमाडौं जानुपर्ने अवस्था थियो । स्थानीयस्तरमा न्यूरो सेवा सुरू भएपछि त्यो बाध्यता अन्त्य भएको छ । न्यूरो अस्पतालमा सेवा सुरु भएपछि प्रदेश १ र मधेश प्रदेशका बिरामीले न्यूरो सम्बन्धी सम्पूर्ण सेवा यहीँबाट पाउने गरेका छन् ।

बुवा गंगाप्रसाद र आमा कृष्णकुमारी विष्टको कोखबाट वि.सं. २०१४ साल माघ १७ गते डा. विष्टको विराटनगरमा जन्म भएको हो । परिवारका कान्छा छोरा उनले विराटनगरको आदर्श उच्च माविबाट एसएलसी उत्तीर्ण गरेका हुन् । उच्च शिक्षा भारतबाट पूरा गरेका उनले सन् १९८९ मा भारतको जम्मुकश्मीरबाट एमबीबीएस सकेका हुन् । मेडिकल अफिसर भएर स्वदेश आएपछि विराटनगरको कोशी अस्पताल, त्रिवि शिक्षण अस्पताल र माल्दिभ्समा पनि गएर सेवा गरे ।

त्यसपछि उनी इङल्याण्ड गए । लन्डनको युनिर्भसिटी कलेज अफ लण्डन को इन्स्टिच्युट अफ न्युरोलोजी, क्वीन स्क्वायरबाट न्यूरोलोजीमा ‘पिजी’ गरे । उनले न्यूरोलोजीमा पिजी गरेको सन् १९९९ मा हो । न्यूरोलोजिष्ट भएपछि स्वदेशमै सेवा दिने उद्देश्य विराटनगर आए र आफ्नै लगानीमा १० शैय्याबाट न्यूरो अस्पताल खोलेर सेवा सुरू गरे । त्यसपछि ५० शैय्या हुँदै अहिले १ सय ५० शैय्याको अस्पताल रहेको छ । थप विकास गरेर ३ सय शैय्याको अस्पताल बनाउने योजना रहेको उनले सुनाए ।

‘आमा मधुमेहको बिरामी हुनुहुन्थ्यो । आमा बिरामी भइराख्ने समस्याले गर्दा पनि आफूलाई डाक्टर भएर बिरामी सेवा गर्ने इच्छा थियो,’ उनले आफ्नो डाक्टरी लक्ष्यका कारण सुनाए, ‘डाक्टर भएर स्थानीयस्तरमा बिरामीको सेवा गर्ने इच्छा थियो । त्यो पूरा भएको छ ।’

बिरामीसँगको उनको सामीप्यता अझ लोभलाग्दो छ । डाक्टरले बिरामीबाट सुनेर, बिरामी छामेर र आँखाले हेरेर पनि जटिलताबारे बुझ्न सक्ने भएकाले यो प्रक्रिया डा. विष्टले अवलम्बन गर्दै आएका छन् । बिरामीका घरायसी पक्ष, रोजगारी, पारिवारिक, आर्थिक अवस्था, व्यक्तिगत तनाव, स्वास्थ्य जटिलता आदिबारे डाक्टरले सुनेपछि बिरामीमा विश्वास बढ्ने उनको बुझाइ छ । आधुनिक प्रविधिको रिपोर्टमा मात्र पूर्ण भर पर्दा बिरामीको मर्म बुझ्न नसकिने भएकाले निकटता र विश्वास नबढ्ने उनको निष्कर्ष छ ।

‘हालसालै एकजना बिरामी यहाँ आएका थिए । उनी धेरै ठाउँमा उपचार गर्न गएका रहेछन् । तर, कतै ठिक भएको थिएन । दुखाइका कारण उनको शरीरभरी पेटी बाँधेर ल्याइएको थियो । उपचारको लागि धेरै ठाउँ भौतारिएका थिए । कतै सीप नलागेपछि न्युरो अस्पताल आएका रहेछन् । तीनदिन हस्पिटलमा राखेर उपचार गरेपछि ठीक भएर गए,’ उपचार गरेको घटना सुनाउँदै डा. विष्टले सुनाए, ‘यस्ता थुप्रै बिरामीहरू निको भएर गएरका उदाहरण छन् ।’

नेपालमा न्यूरो सेवाका डाक्टर एकदमै कम छन् । डा. विष्ट न्यूरोलोजी सकेर नेपाल फर्किँदा एक जनामात्रै थिए । डा. दिनेशविक्रम शाह पछि दोस्रो न्यूरोलोजिष्ट डा. विष्ट हुन् । अहिले पनि देशभरिमा न्यूरोलोजिष्ट औलामा गन्न सकिने मात्र छन् । डेढ लाख जनसंख्यामा कम्तीमा एक जना न्यूरोलोजिष्ट र न्युरो सर्जन हुनुपर्ने हो ।

‘नेपाल सरकारको तर्फबाट न्यूरोलोजी सेवा सम्बन्धि नीतिगत सुधार हुनुपर्ने खाँचो रहेको छ । यसमा साथै न्यूरोलोजी सम्बन्धमा समय–समयमा अन्तर्राष्ट्रियस्तरमा हुने गरेको सेमिनार गोष्ठीहरू नेपालभित्र पनि आयोजना गर्न सके विज्ञहरुको सल्लाह सुझावलाई अवलम्बन गर्न सहज हुने र प्रभावकारी उपाय पद्धतिको विकास हुने थियो,’ डा. विष्टले भने, ‘न्यूरो साइन्स राज्यको प्राथामिकताको क्षेत्रमा परेको देखिँदैन् । राज्यको तर्फबाट विशेषज्ञ जनशक्ति उत्पादनमा बढावा दिनुपर्ने देखिन्छ ।’ देशमा विज्ञ जनशक्ति भएमा दिनानुदिन बढ्दै गएको न्यूरोका बिरामीहरूलाई सहज र सरल ढंगबाट उपचार सम्भव हुने उनको विश्वास छ । जनचेतामूलक कार्यक्रमहरू स्थानीयस्तरबाट गरिनुपर्नेे उनले बताए ।

पेशाले चिकित्सक भएपनि डा. विष्ट सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । उनी विभिन्न संघसंस्थाहरूमा आवद्ध रहेका छन् । उनी रोटरी क्लब अफ विराटनगर मिड टाउन पूर्वअध्यक्ष, लायन्स क्लब अफ विराटनगरका पूर्व अध्यक्ष पनि हुन् । उनले सामाजिक संघसंस्थाहरूको माध्यमबाट सामाजिक काम गर्दै आएका छन् ।

फुर्सदमा परिवारसँग रमाइलो गर्न रूचाउने डा. विष्टको छोराछोरी दुवै चिकित्सा क्षेत्रमा छन् । छोरी रोश्नी विष्ट पनि डाक्टर हुन् भने छोरा ऋतिक विष्ट एमबीबीएस गर्दैछन् । सुप्रवल जनसेवाश्री पदकबाट पनि डा. विष्ट विभूषित भइसकेका छन् । पूर्वाञ्चलमा चिकित्सा क्षेत्रबाट यो पुरस्कार पाउने डा. विष्ट पहिलो व्यक्ति हुन् ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #डा. विरेन्द्रकुमार विष्ट, #न्यूरो अस्पताल, #न्यूरोलोजी, #विराटनगर


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ