२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलयुवापुस्ताकी इन्डोक्राइनोलोजिष्ट डा. सुकान्ती

युवापुस्ताकी इन्डोक्राइनोलोजिष्ट डा. सुकान्ती


डा. सुकान्ती शाह युवापुस्ताकी व्यस्त इन्डोक्राइनोलोजिष्ट हुन् । सानेपास्थित स्टार अस्पतालबाट बिरामीलाई सेवा दिदैं आएकी उनी युवापुस्ताकी अब्बल विशेषज्ञ चिकित्सक हुन् । अहिलेको पुस्ता विदेश ताकिरहेका बेला डा. सुकान्तीलाई भने आफ्नै माटो र परिवेशमा रमाउन मन छ । चीनबाट एमबीबीएस र बंगलादेशबाट विशेषज्ञता हासिल गरेकी उनी स्वदेशमै हर्मोनल रोगका बिरामीहरुको सेवा गर्ने र हर्मोनल रोगबारे जनचेतना जगाउने सोचमा छिन् ।

हर्मोनल रोगका बिरामीहरुको उपचारमा सक्रिय उनले दर्जनौं नेपालीहरुको उपचारमा गरिसकेकी छन् । बिरामी सेवामा तल्लीन रहने यी युवा इन्डोक्राइनोलोजिष्टलाई आफूले उपचार गर्दा बिरामीमा चेहरामा देखिने खुसीले आनन्द दिन्छ । ‘बिरामीको उपचारपछि निको भएर जब अनुहारमा हाँसो आउँछ, स्टाटिसफ्याक्स अनुहारमा देखिन्छ । त्यसले मलाई एकदमै खुसी लाग्छ,’ यी युवा इन्डोक्राइनोलोजिष्ट खुसीको कारण खोल्छिन्, ‘त्यसबाहेक काम सकेर घरमा गएपछि बच्चा र परिवारले खुसी दिन्छन् ।’

डा. सुकान्तीको जन्म ललितपुरको पाटन अस्पतालमा वि.सं. २०४४ सालमा भएको हो । बुवा सुदीपचन्द्र शाह र मीरा शाहका तीन सन्तानमध्ये उनी माइली हुन् । बुवा सरकारी जागिरे थिए भने आमा हाउस वाइफ थिइन् । संयुक्त परिवारमा बस्ने भएकाले उनको बाल्यकाल रमाइलोसँग बितेको हो । ‘हजुरबुवा, अंकलहरु, कजन दिदीबहिनी दाजुभाइहरु हामीसँगै हुर्कियौं,’ उनले भनिन्, ‘राम्रैसँग बाल्यकाल बित्यो ।’

पढेलेखेको परिवारमा जन्मिएकाले उनको शिक्षादीक्षामा परिवारमा विशेष रेखदेख रह्यो । उनको स्कुलिङ कक्षा तीनसम्म लिटिल एन्जल स्कुलमा भएको हो । त्यसपछिको थप स्कुलिङका लागि उनी भारत गइन् । नैनीतालस्थित अल सेन्ट कलेजमा उनको थप स्कुलिङ अगाडि बढ्यो । ‘पढाइका क्रममा होस्टेलमा बसे, होस्टेलमा पनि धेरै साथीहरु थिए । त्यहाँ पनि एकदमै रमाइलो भयो,’ उनले नैनीताल पढ्दाका अनुभवहरु साटिन् ।

होस्टेल लाइफ भएकाले उनका लागि साथीहरु नै परिवार भए । ‘साथीहरुसँगै हुर्किए, बढे, खेले,’ उनले सुनाइन्, ‘दशैं र जाडोमा विदाजस्ता बेलामा कहिलेकाहीँ घर आउनु त स्वभाविक हो । तर, सबै समय होस्टेलमै बित्यो ।’ स्कुल जीवनमा उनी स्पोर्टमा पनि उतिकै सक्रिय थिइन् । डा. सुकान्तीलाई बाँस्केटबल, ज्याभलिन, सटफुट, लमजम्प, ट्रिपल जम्प, जिम्न्यास्टिकलगायतका सबैजसो खेलकूद उनलाई मन पर्थे । कयौं खेलकूदका विधामा त उनले कलेजको टिमबाट समेत प्रतिनिधित्व गरेर प्रतियोगिताहरुमा सहभागी भइन् ।

खेलकूदसँगसँगै पढाइमा पनि उनी उत्तिकै अब्बल थिइन् । उनलाई स्कुलमा बायोलोजी विषय खुबै मन पथ्र्यो । सुकान्तीले अल सेन्ट कलेजबाट कक्षा १० उत्तीर्ण गरिन् । लामो समय स्कुलिङ नैनीतालमा भएपछि उनले उच्च शिक्षाका लागि नेपाल नै रोजिन् । नेपालकै मोर्डन इन्डियन स्कुलबाट उनको प्लस टुको पढाइ अगाडि बढ्यो । त्यहाँबाट विज्ञानमा प्लस टु उत्तीर्ण गरिन् ।

डा. सुकान्तीका बुवा सुदीपचन्द्र सानैदेखि छोरीलाई डाक्टरी पढाउन चाहन्थे । ‘मेरो रुचिभन्दा पनि बुवाको मोटिभेसनले म डाक्टर पढ्न गएकी हुँ, बुवाले नै मलाई गाइड गर्नुभयो,’ उनले भनिन्, ‘बुवाले पुस गरेर नै म डाक्टर पढ्न गएकी हुँ ।’ बुवाको प्रेरणाले डोरिदैं प्लस टुको अध्ययन सकिएपछि डा. सुकान्ती एमबीबीएस पढ्नका लागि चीन गइन् । सन यात्सेन युनिभर्सिटीमा उनको डाक्टरीको पढाइ अगाडि बढ्यो । उनलाई एमबीबीएसमा मेडिसिन सबैभन्दा मनपर्ने विषय थियो । चीनबाट एमबीबीएस सकेर फर्किएपछि उनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्टर्न गरिन् । इन्टर्नपछिको झण्डै तीन वर्ष पाटनमै बिरामीको सेवामा पनि बिताइन् । सुकान्ती बुवाकै प्रेरणाले आफू डाक्टर भएको बताउँछिन् ।

मेडिसिन विषयमा गहिरो रुचि भएकी डा. सुकान्ती त्यसकै सब स्पेसियालिटी इन्डोक्राइनोलोजीमा विशेषज्ञता हासिल गर्न चाहन्थिन् । तीन वर्ष पाटन अस्पतालमा सेवा गरेपछि उनी माष्टर्स पढ्न बंगलादेशको बंगबन्धु शेख मुजिब मेडिकल युनिभर्सिटी गइन् । ‘डाइबटिज, इन्डोक्राइन, हर्मोन सम्बन्धी पढ्न मन लागेर बंगलादेशमा एमडी गर्न गए,’ उनले भनिन् । जीवनशैलीमा परिवर्तन आएसँगै हर्मोन सम्बन्धी समस्या बढेकाले आफूले इन्डोक्राइन रोजेको डा. सुकान्ती बताउँछन् । पाँच वर्ष त्यहाँ अध्ययन गरेपछि उनी विशेषता हासिल गरेर सन् २०१९ मा उनी नेपाल फर्किइन् ।

लामो समय परिवारभन्दा बाहिर रहेकाले उनी बाँकी समय नेपालमै सेवा दिने सोचका साथ स्वदेश फर्किएकी हुन् । ‘जति हुन्छ आफ्नै देशमा बिरामीको उपचार गर्ने हो,’ उनले भनिन्, ‘आफ्नाहरुको उपचार गरेजस्तो कहाँ हुन्छ ।’ नेपाल फर्केपछि उनले केही समय ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा काम गरिन् । सँगसँगै  विपी स्मृती अस्पतालमा पनि बिरामीको उपचारमा संलग्न रहिन् ।

डा. सन्जीवभक्त विष्टसँग विवाह भएपछि उनको बसोवास ललितपुरमा हुन थाल्यो । त्यसपछि उनले ललितपुरको स्टार अस्पतालमा बिरामीलाई उपचार सेवा दिन थालिन् । यससँगै आरुष लाइफ हस्पिटलमा पनि उनले बिरामी हेर्छिन् ।

डाइबटिज, थाइराइड र हर्मोन रोग सम्बन्धि विषय इन्डोक्राइनोलोजीमा विशेषज्ञता हासिल गरेकी डा. सुकान्ती भविष्यमा यो रोगबारे जनचेतना अभिवृद्धिमा लाग्ने बताउँछिन् । ‘बिरामीको उपचार, अवारनेसका कामहरुमा सक्रिय रहन्छु,’ उनले भनिन्, ‘इन्डोक्राइनोलोजी हर्मोन सम्बन्धी विषय हो । तर, धेरैले सुगर, थाइराइडलाई मात्रै इन्डोक्राइनका रुपमा बुझेका छन् । त्योभन्दा यो धेरै वृहत विषय हो, जसबारेमा खासै चर्चा हुँदैन् ।’ डा. सुकान्तीकाअनुसार बच्चाको हाइट नबढ्ने, धेरै बढ्ने, बाँझोपन, रक्तचाप, महिलाहरुको अनुहारमा कपाल आउनेलगायतका अन्य धेरै स्वास्थ्य समस्यामा हर्मोनल कारण हुन्छन् ।

फुर्सदको अधिकांश समय बिरामी र घरपरिवारसँगै बिताउने उनी अक्सर घुमघाममा निस्किन्छन् । ट्रेकिङ, मुभी उनका थप रुचीका विषय हुन् । डा. सुकान्तीको जिन्स टिसर्ट कन्फर्टेबल पहिरन हो भने सारी मनपर्ने पहिरनमा पर्छ । नेपाली खाना मन पराउने उनलाई त्यसबाहेक चाइनिज डिसमा पनि खुब रमाउँछिन् । ‘नेपाली दाल, भात र तरकारी त प्रिय नै भइहाल्यो,’ उनले भनिन्, ‘त्यसबाहेक चाइनाको सिचुवान खाना मलाई मन पर्छ ।’ मेडिकल किताबबाहेक उनलाई उपन्यासलगायतका साहित्यका किताब पनि मन पर्छन् ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #इन्डोक्राइनोलोजिष्ट, #डा. सन्जीवभक्त विष्ट, #डा. सुकान्ती शाह, #स्टार अस्पताल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ