२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलसरकारी स्कुल पढेका डा. मनिष पिजीका इन्ट्रान्स टपर, भन्छन्, ‘मेडिसिनमा पिजी गर्छु’

सरकारी स्कुल पढेका डा. मनिष पिजीका इन्ट्रान्स टपर, भन्छन्, ‘मेडिसिनमा पिजी गर्छु’


चिकित्सा शिक्षाको पोष्ट ग्राजुयसन (पिजी)अन्तर्गत एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छ । चिकित्सा शिक्षा आयोगले बुधबार राति प्रकाशित गरेको नतिजाअनुसार पिजीअन्तर्गत एमडी/एमएस/एनबीएमएस इन्ट्रान्स बाराका २९ वर्षीय डा. मनिष तिमल्सिनाले टप गरेका छन् । २ हजार ६ सय ६४ जना उत्तीर्ण विद्यार्थीमध्ये पहिलो नम्बरमा नाम निकालेका सरकारी स्कुलका उत्पादन डा. मनिषको यो सफलता लोभलाग्दो छ । उनले आयोगको एकीकृत प्रवेश परीक्षामा २०० पूर्णांकमा १६४ स्कोर ल्याएर टप गरेका हुन् । उनले एमबीबीएस पनि पूर्ण छात्रवृत्तिमै पढेका हुन् ।

बुधबार राति ९—१० बजेतिर डा. मनिष सिनेमा हेरिरहेका थिए । उनका साथी डा. विपिन सापकोटाले फोन गरे । फोन उठाए, उताबाट आवाज आयो, ‘माने (मनिषलाई उनका साथीले बोलाउने नाम) बधाई छ, इन्ट्रान्स टप गरिछस् ।’ उनलाई पत्यार लागेन, पत्यार लागोस पनि कसरी उनको टपरले गर्नेजस्तो तयारी नै थिएन् । जवाफ फर्काए, ‘मैले होइन् होला ?’ डा. विपिनले विश्वस्त तुल्याउँदैं जवाफ फर्काए, ‘अरे यार, मैले भनेपछि विश्वास गर न ।’

तर, डा. मनिषलाई अझै विश्वास लागेन् । हतपत्त मोबाइलमा रिजल्ट चेक गर्न थाले । नाम उनकै थियो । कन्फर्म गर्न रोल नं. चेक गरे । त्यो पनि मिलेपछि बल्ल कन्फर्म भए । इन्ट्रान्स टपर भएको कन्फर्म भएपछि उनलाई के गरौं—गरौं भयो । बुवाआमा अमेरिका थिए, सानी दिदीलाई फोन गरेर सुनाए । त्यसपछि बुवाआमालाई फोन गरे । ‘आमा नाच्न थाल्नुभयो, बुवा नम्बर सोधेर खुुसी हुनुभयो,’ उनले भने, ‘ठूली दिदीलाई सुनाएको उहाँ त रुन थाल्नुभयो । त्यसपछि केही एचिभमेन्ट भयो जस्तो लाग्यो ।’

मध्यवर्गीय परिवारका यी इन्ट्रान्स टपरको जन्म वि.सं. २०५१ सालमा बाराको औराहमा मध्यमवर्गीय परिवारमा भएको हो । बुवा डिल्लीराम तिमल्सिना र आमा होमदेवीका तीन सन्तानमध्ये उनी कान्छा हुन् । उनको जन्म त्यस्तो उतार—चढावपूर्ण समयमा भएको थियो, जतिबेला गाउँ—गाउँमा माओवादी सशस्त्र द्वन्द्वका झिल्का फैलिएरहेका थिए । त्यही कारण एभरेष्ट होटलमा कुक रहेका उनका बुवाले उनलाई काठमाडौं ल्याए ।

आमाबुवासँग डा. मनिष

ललितपुरको ग्वार्कोमा उनी बुवाआमा र दिदीहरुसँग बस्न थाले । ट्यागलको प्रभात उच्च माविबाट उनको प्रारम्भिक शिक्षा अगाडि बढ्यो । त्यहाँ कक्षा १ को पहिलो त्रैमासिक टप गरेपछि उनको कक्षा दुईमा बढुवा भयो । ‘पहिलो त्रैमासिकमै राम्रो अंक ल्याएपछि कक्षा दुईमा बढुवा भए,’ उनले सुनाए । साथीभाइसँग खेल्ने, पढ्ने गर्दै स्कुल जीवन बितेको उनी सुनाउँछन् । सानैदेखि पढाइमा अब्बल डा. मनिषलाई विज्ञान सबैभन्दा मनपर्ने विषय थियो । पढाइबाहेक उनी टिटी र भलिबल खेल्न खुबै रुचाउँथे । त्यसबाहेक उनी बाल क्लब, जुनियर रेडक्रस, इको क्लबमा पनि सक्रिय थिए ।

डा. मनिषले प्रभात उच्च माविबाटैं वि.सं. २०६७ सालमा डिस्टिङसनमा एलएलसी उत्तीर्ण गरेका हुन् । त्यसपछि उनी थप उच्च शिक्षाका लागि ललितपुरस्थित मुनलाइन एकेडेमी (मोलिस)मा भर्ना । त्यहाँ बायोलोजी लिएर प्लस टु अध्ययन गर्न थाले  । ‘सरकारी स्कुलबाट प्राइभेट गएकाले सुरुका दिनहरुमा अलि गाह्रो थियो,’ उनले प्लस टुका सुरुवाती दिनहरु सम्झे, ‘त्यसकारण पढाइमा अलि बढी केन्द्रीत हुनुपर्ने भयो । अतिरिक्त क्रियाकलापमा सहभागी हुन पाइएन् ।’

मोलिसमै विज्ञान पढ्न कक्षाकोठा छिरेको पहिलो दिन नै आफ्नो भविष्यको लक्ष्य भेट्टाइसकेका थिए ।  ‘पहिलो दिनमा कलेजमा जुलोजी पढाउने सरले एमबीबीएस अध्ययनका बारेमा धेरै कुरा भन्नुभएको थियो,’ डा. मनिष स्मरण गर्छन्, ‘डा. उपेन्द्र देवकोटाको उदाहरण दिएर डाक्टर बनेपछिको नाम र दामका विषयमा पनि सुनाउनुभएको थियो । त्यही कारण मैले डाक्टर बन्ने लक्ष्य बनाए ।’

प्लस टुका ती जुलोजीका गुरुले एमबीबीएस छात्रवृत्ति र पेइङमा लाग्ने शुल्कहरुमा विषयमा पनि पहिलो क्लासमै स्पष्ट पारेका थिए । त्यही कारण उनले प्लस टु पढ्दैं गर्दा नै एमबीबीएस छात्रवृत्तिमा नाम निकाल्ने गरी तयारी सुरु गरिसकेका थिए । वि.सं. २०६९ मा उनले प्लस टु उत्तीर्ण गरे । आफ्नो एमबीबीएस तयारीलाई थप सुदृढ गर्नतिर लागे । त्यही क्रममा केही दिन भाइब्रेन्टमा गएर कक्षा लिए । ‘१०—१५ दिन त्यहाँ पढेपछि घरमै बसेर फुलटाइम तयारीमा लागे,’ उनले भने, ‘शनिबार हुने तयारी परीक्षाहरु भने दिन जान्थे ।’ त्यो बेला डा. मनिषले इन्ट्रान्सको तयारीमा दैनिक १० घण्टासम्म खर्चेका थिए ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा उनले एमबीबीएसका लागि इन्ट्रान्स दिए । त्यहाँ उनी केही नम्बरले मात्रै छात्रवृत्तिबाट चुके । त्यसपछि उनले शिक्षा मन्त्रालयअन्तर्गको छात्रवृत्तिका लागि परीक्षा दिए । एमबीबीएस पढ्नका लागि शिक्षा मन्त्रालयको छात्रवृत्तिमा उनको नाम निस्कियो । त्यसपछि उनले एमबीबीएस पढ्नका लागि पहिलो रोजाइमा नेपाल मेडिकल कलेज अत्तरखेल र दोस्रो रोजाइमा मणिपाल शिक्षण अस्पताल पोखरा पाएका थिए ।

डा. मनिष एमबीबीएस पढ्नका लागि सन् २०१४ मा मणिपाल गए । मणिपालले उनलाई एमबीबीएस पढेर डाक्टरको सर्टिफिकेटमात्रै दिएन, उनको बलियो क्लिनिकल धरातल पनि खडा गरिदियो । भन्छन्, ‘मणिपाल धेरै कुराले उत्कृष्ट थियो । विदेशी विद्यार्थीसँग अनुभव आदान—प्रदान गर्ने अवसर, क्याम्पसको उत्कृष्ट वातावरणसँगै राम्रो क्लिनिकल अभ्यास गराइन्थ्यो ।’ त्यसबाहेक त्यहाँ गुरुहरुले पनि आफूहरुलाई उत्कृष्ट शिक्षा दिएको अनुभव उनी बाँड्छन् । मेडिसिन पढाउने डा. अभिषेक मास्केलाई त उनी अहिले पनि उतिकै मिस गर्छन् ।

सन् २०२० मा उनको डाक्टरी सपना पूरा भयो । उनले एमबीबीएस पास गरेर मणिपालबाटै इन्टर्न सके । त्यसपछि सरकारसँगको छात्रवृत्ति करारअनुसार उनको पोष्टिङ झापाको सुरुङ्गा प्राथमिक स्वास्थ्य चौकी (हाल कन्काई नगर हस्पिटल)मा भयो । दुई वर्ष उनले त्यही काम गरे । हमेशा नयाँ कुरा सिक्न रुचाउने डा. मनिषले सुरुङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत रहँदा धेरै कुरा सिके ।

तीन महिनापछि उनले सुरुङ्गा प्राथमिक स्वास्थ्य केन्द्रको प्रमुख भएर काम गर्ने अवसर पाए । त्यसपछि उनलाई सरकारी स्वास्थ्य प्रणाली, वातावरण, सेवा सुविधा, कर्मचारीतन्त्रलगायतका विषयमा पनि जान्ने मौका मिल्यो । स्वास्थ्य चौकीमा दैनिक ४—५ सय बिरामी हुन्थे । डा. मनिष एक्लैले प्रशासनिक कामका अलावा दैनिक ७०—८० जना बिरामी हेर्नुपर्थ्यो । ‘त्यसले झन काम गर्न उत्साहित पार्थ्यो,’ उनले भने, ‘सुरुङ्गा स्वास्थ्य चौकीका कर्मचारीको टिम उत्कृष्ट थियो ।’

चिकित्सा शिक्षा आयोगको वि.सं. २०७९ को पिजीको एकीकृत प्रवेश परीक्षामा उनी सहभागी हुन पाएनन् । कारण, केही दिनले मात्रै उनको दुई वर्षे छात्रवृत्ति करारको समायावधि सकिएको थिएन् । त्यसकारण झापाको छात्रवृत्ति करारको अवधि सकिएपछि उनी काठमाडौं फर्किए । डा. मनिष करार सेवामा दोलखाको तामाकोशीमा काम गर्न गए । त्यहाँ ६ महिना काम गरे, उनले पिजीको इन्ट्रान्सका लागि तयारी गर्दै थिए ।

यहीबेला डा. मनिषले एमबीबीएस पढेको मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि कुटपिटको घटना सार्वजनिक भयो । डा. मनिषलाई यो घटनाले हतोत्साहित बनायो । नेपालमै बसेर बिरामीको सेवा गर्ने सोच बनाएका उनी डाक्टरको सुरक्षा, अस्पतालमा स्वास्थ्यकर्मीमाथि हुने हिंसा, सबैतिर भइरहेको चरम राजनीतिकरणजस्ता कुराहरुले चिन्तित बने । त्यसपछि उनले युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ एक्जामिनेस (युएसएमएलई)को तयारी थाले ।

डा. मनिषका युएसएमएलईको स्टेप वान तयारी गरिरहेका थिए । यही बेला युएसएमएलईको नेपालबाट हुने परीक्षाका कार्यक्रम रद्ध भए । उनले बंगलादेशबाट परीक्षाका लागि समय पाए । ३० जनवरी २०२४ मा उनी बंगलादेश पुगेर युएसएमएलईको परीक्षा दिए । २ फ्रेब्रुअरीमा नेपाल फर्के । ‘इमीग्रेसनमा यति लामो लाइन थियो,’ उनले भने, ‘ढाकामा कति व्यवस्थित तर हाम्रो एयरपोर्टका यति लामो लाइन एक पटक त निकै नरमाइलो महसुस भयो ।’ एयरपोर्टबाट फर्केर थकालीमा पुगेर खाना खाएर घर फर्केर सुते । भोलिपल्ट हुने चिकित्सा शिक्षा आयोगको परीक्षाको उनलाई मतलब थिएन् ।

युएसएमएलईको तयारी गरिरहेका डा. मनिषका भोलिपल्ट चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षा दिन गए । परीक्षा दिएर फर्के । तर, बुधबार राति प्रकाशित रिजल्टमा बिना तयारी नै उनले आयोगको एमडी/एमएसको एकीकृत प्रवेश परीक्षा टप गरे । त्यसो भए टप गर्ने फर्मुला के हो त ? ‘मेहनत गर्नुपर्छ, कन्सेप्ट वाइज पढ्नुपर्छ र बुझेर पढ्दा राम्रो नतिजा ल्याउन सकिन्छ,’ डा. मनिष आफ्नो पढाइको फर्मुला सुनाउँछन्, ‘मलाई युएसएमएलईको फष्ट एड पढेका कारण पनि निकै सहयोग भयो ।’ त्यसबाहेक एमबीबीएसमा मणिपालले दिएको उत्कृष्ट शिक्षा र त्यहाँ १५—१५ दिनमा लिइने परीक्षाले पनि यो उत्कृष्टताका लागि आफूलाई तयार पारेको उनी बताउँछन् ।

डा. मनिष अब मेडिसिनमा एमडी गर्ने तयारीमा छन् । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) उनको रोजाइ हो । ‘मेडिसिन पढ्ने रहछ छ, यो विषयमा पढेमा बिरामीसँग प्रत्यक्ष जोडिन पाइन्छ,’ उनी मेडिसिन रोज्नुको कारण खोल्छन्, ‘नेपालमा अहिले रेडियोलोजीमा सजिलो, बढी कमाइ हुने र सेफ मानिन्छ । तर, रेडियोलोजी पढ्दा बिरामीसँग प्रत्यक्ष जोडिन पाइदैंन् ।’ उनका लागि गुरु डा. अभिषेक रोलमोडल हुन्, त्यही कारण पनि आफूले मेडिसिन पढ्न चाहेको उनले सुनाए ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #चिकित्सा शिक्षा आयोग, #डा. उपेन्द्र देवकोटा, #डा. मनिष तिमल्सिना, #डा. विपिन सापकोटा, #त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, #पिजीका इन्ट्रान्स टपर, #मुनलाइन एकेडेमी (मोलिस)


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ