२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २पर्सामा आइसोलेसन वार्ड र हेल्थ डेक्सलाई व्यवस्थित बनाइने

पर्सामा आइसोलेसन वार्ड र हेल्थ डेक्सलाई व्यवस्थित बनाइने


जनकपुरधाम—कोरानो भाइरस (कोभिड-१९) रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका लागि वीरगञ्जमा सञ्चालित हेल्थ डेस्क र नारायणी उपक्षेत्रीय अस्पतालमा बनाइएको आइसोलेसन वार्डलाई व्यवस्थित बनाइने भएको छ ।

तर, हेल्थ डेस्कमा आवश्यक सामाग्री र जनशक्तिको अभाव छ भने आइसोलेसन वार्ड औपचारिकता पूरा गर्नका लागि मात्रै स्थापना गरिएको जस्तो अवस्थामा छ । आइसोलेसन वार्डमा वेड र अक्सिजनबाहेकका अन्य बन्दोबस्ती नरहेको मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए ।

विश्वव्यापी रुपमा महामारीको रुपमा फैलँदै गएको कोरोना भाइरस भारतका विभिन्न राज्यमा पनि फैलिरहेको छ । भारतको बिहार राज्यसँग १ सय ७ किलोमिटर खुल्ला सीमा रहेको र देशकै प्रमुख भन्सार नाका वीरगञ्ज भएका कारण पर्सा जिल्ला उच्च जोखिममा रहेको अधिकारीहरुले बताएका छन् ।

भारतका विभिन्न राज्यमा अध्ययन र कामका लागि नेपाली पुगेका छन् । भारतमा कोरोनाको संक्रमण फैलँदै गएपछि रोजगारीका लागि त्यहाँ पुगेका उनीहरु नेपाल फर्किरहेका छन् । स्थलमार्ग हुँदै आउनेहरुबाट कोरोना संक्रमण आउने जोखिम बढी रहेकोले सतर्क हुनुपर्ने विद्यार्थी नेता दिलिपराज कार्कीको भनाइ छ ।

तर जिल्ला प्रशासनलगायत सरोकारवाला निकायले भने कोरोना संक्रमण रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका लागि आवश्यक तयारी भइरहेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको कार्यालय प्रमुखको बैठक र बुधबार बसेको टाक्स फोर्सको बैठकमा कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण एवं व्यवस्थापनमै केन्द्रित रहेको टाक्स फोर्सका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

कार्यालय प्रमुखहरुको बैठकमा हेल्थ डेस्क, आइसोलेसन वार्ड सञ्चालनको लागि आवश्यक उपकरण, सामाग्री तथा स्वास्थ्यकर्मीहरुको लागि व्यक्तिगत सुरक्षा उपकरणको व्यवस्था मिलाउन नेपाल सरकार तथा प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

बुधबार बसेको टाक्स फोर्सको बैठकले त्यसका लागि आवश्यक सामाग्रीको लागतसहितको सूची तयार गरी भोलिसम्म पेश गर्न कार्यदल गठन गरेको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट संयोजकत्वमा गठित कार्यदलमा नेशनल मेडिकल कलेजका डाइरेक्टर, वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सदस्य छन् ।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की समेतको उपस्थितमा बसेको टाक्स फोर्सको बैठकले खाना पकाउने ग्यास एवं अन्य पेट्रोलियम पदार्थको कृत्रिम अभाव एवं कालोबजारी भए नभएको अध्ययन एवं अनुगमन गर्ने निर्णय गरेको छ । त्यसको अध्ययन अनुगमन गरी बिहीबार प्रतिवेदन पेश गर्न नेपाल आयल निगम शाखा कार्यालय वीरगञ्जलाई दिइएको छ ।

यसअघि मंगलबार बसेको कार्यालय प्रमुखको बैठकमा भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका शंकराचार्य गेट नजिकै महानगरपालिकाले स्थापना गरेको हेल्थ डेस्कको प्रगति, समस्या एवं चुनौतीका बारेमा समिक्षा गरेको थियो ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ