२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २जनकपुरधाममा एक दिने अन्तर्राष्ट्रिय ट्रमा सम्बन्धि गोष्ठी सम्पन्न

जनकपुरधाममा एक दिने अन्तर्राष्ट्रिय ट्रमा सम्बन्धि गोष्ठी सम्पन्न


जनकपुर-नेपालमा सडक दुर्घटनामा दिनहुँ ६ देखि ७ जनाले ज्यान गुमाई रहेको तथ्यांक आइरहेको बेला दुर्घटनामा परी ज्यान गुमाउनेहरुको मृत्युदर न्यूनीकरण गर्न प्रदेश-२ को राजधानी जनकपुरमा एक दिने अन्तर्राष्ट्रिय ट्रमा सम्बन्धि गोष्ठी सम्पन्न भएको छ ।

हेल्थ टास्क प्रदेश-२ को आयोजना तथा अर्थोपेडिक एण्ड ट्रमा फाउन्डेशन नेपाल, नेपाल ट्रमा सोसाइटी, एओ एलायन्स स्वीजरल्याण्डलगायत विभिन्न स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संकायहरुको सहयोग तथा नेपाल, जर्मनी, इंग्ल्याण्ड, भारत र न्युजिल्याण्डका ट्रमा विशेषज्ञहरूको सहकार्यमा उक्त गोष्ठी आयोजना गरिएको थियो ।

गोष्ठीमा प्रदेश-२ मा दिनहुँ सडक दुर्घटनामा परेर चोटपटकबाट मृत्युको मुखमा पुगेका घाइतेहरूको जीवन कसरी रक्षा गर्ने र दुर्घटनामा
परेर मृत्यु हुनेहरुको संख्या कसरी घटाउने भन्नेबारे छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

विभिन्न स्वास्थ्य संस्थाबाट कार्यक्रमा सहभागी भएका २५ जना विशेषज्ञ डाक्टरहरुको छलफलबाट प्रदेश २ मा सडक दुर्घटनाबाट हुने मृत्यु दर घटाउन पारामेडिक र डाक्टरहरुलाई तालिम दिने, प्रहरीसँग सहकार्य गरी स्कुल तथा क्याम्पसहरुमा सडक सुरक्षा सम्बन्धि तालिम तथा क्रियाकलाप गर्ने, हरेक ६ महिना तथा वर्षपिच्छे ट्रमा सम्बन्धित वर्कसप गरेर तथ्यांक संकलन तथा विश्लेषण गरी सरकारी तवरबाट पहल र न्यूनीकरण गर्नेलगायतका निर्णयहरु गरिएको छ ।

उक्त कार्यक्रमलाई हेल्थ टास्क प्रदेश-२ नेपालका अध्यक्ष डा. रामकेवल साह तथा एओ अलाइयन्सका अध्यक्ष डा. रमेशप्रसाद सिंहले संयोजन गरेका थिए । कार्यक्रममा पालीट्रमा, हेड, नेक, पेल्विस, स्पाइन ट्रमा, तथा क्रेनीओफेसियल ट्रमा सम्बन्धी विशेष कार्यपत्रहरू प्रस्तुत भएका थिए । साथै, उक्त कार्यक्रम सम्पन्न गर्न डा. सुनिल साहको नेतृत्वमा बेलायतबाट आएका क्रेनीओफेसियल विशेषज्ञ टोलीको विशेष योगदान रहयो ।

देश तथा प्रदेश मा ट्रमाले गर्दा यति धेरै जीवनको क्षति तथा आंगभंग हुँदा पनि यसको उपचार तथा व्यवस्थापनमा कमजोरी देखिएकोले यसलाई उचित प्राथमिकतामा राख्न पनि गोष्ठीमा विशेष माग गरिएको थियो । ट्रमासम्बन्धी कार्यशालाले प्रदेश–२ मा एक प्रादेशिक ट्रमा सेन्टर तथा सबै जिल्ला अस्पतालहरूलाई समेटेर ट्रमा सम्बन्धी विशेष कार्यक्रम छिट्टै संचालन गर्न सुझाव समेत दिएको छ ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ