२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशचितवन मेडिकल कलेजमा मुटुको शल्यक्रिया पुनः सुचारू

चितवन मेडिकल कलेजमा मुटुको शल्यक्रिया पुनः सुचारू


भरतपुर-चितवन मेडिकल कलेजले मुटुको शल्यक्रिया पुनः सुचारु गरेको छ । विगत केही वर्षअघि मुटुको शल्यक्रिया सुरु गरेको कलेजले केही समय बन्द गरेको थियो । सेवा सुरु गरेसँगै कलेजले एकजनाको मुटु शल्यक्रियासमेत गरिसकेको छ ।

अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिश्चन्द्र न्यौपानेकाअनुसार अब कलेजमा नियमित शल्यक्रिया हुनेछ । यस विभागको नेतृत्व प्रा.डा. अनिल आचार्यले गरेका छन् । दश वर्ष काठमाडौँको गंगालाल हृदयरोग केन्द्र र तीन वर्ष मेडिसिटी हस्पिटलमा काम गरिसकेका आचार्यको नेतृत्वमा यस कलेजमा सेवा सुरु गरिएको हो ।

डा. आचार्यसँगै कार्डियक सर्जन डा. अल्का सिंहसहितको टोली रहेको छ । टोलीले सोही अस्पतालमा कार्यरत स्टाफ नर्सको मुटुको शल्यक्रिया गरेको हो । डा. आचार्यले भने, ‘मुटुको चार कोठामध्ये माथिको दुई कोठाको बीचमा प्वाल परेको थियो ।’ जन्मजात यो समस्या भएकी २४ वर्षीया युवतीको सफल शल्यक्रिया गरिएको हो ।

अस्पतालमा शल्यक्रियाका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरण र पर्याप्त जनशक्ति भएकाले नियमित यो सेवा दिन सकिने उनको भनाइ छ । उनले भने, ‘हामी यहाँ गंगालालमा हुने खर्चमा मुटुका सबै खाले शल्यक्रिया गर्न सक्छौं ।’

यो सेवा राजधानी केन्द्रीत भएपछि मोफसलमा सेवा दिन आफूले राजधानी छाडेको भन्दै उनले अब मुटुको शल्यक्रियाका लागि राजधानी पुगेर पालो कुर्न नपर्ने बताए । उनले भने, ‘सरकारी अस्पतालमा हुने खर्चमा त्यही सरहको सेवा पालो कुर्न नपरी दिन सक्छौं ।’ मोफसलमा यस विषयमा बुझाउन केही समय लाग्ने भन्दै उनले सरकारले दिने एक लाख रुपैयाँको असहाय उपचार सहयोग र स्वास्थ्य बिमाको सेवा पनि यहाँ पाइने जानकारी दिए ।

सरकारले काठमाडाैंको गंगालाल र मनमोहन अस्पतालमा १४ वर्ष मुनि र ७५ वर्ष माथिकालाई मुटुको बाथरोगको शल्यक्रिया गर्दा निःशुल्क गरेको भन्दै डा. आचार्यले भने, ‘यो सुविधा मोफसलका अस्पताललाई पनि दिनुपर्छ ।’ मुटुको उपचार राजधानीमा मात्रै केन्द्रीत रहेको बताउँदै उनले थपे, ‘म सेवा विकेन्द्रित गर्न चितवन आएको हुँ ।’

काठमाडौंका स्थायी बासिन्दा डा आचार्यले आफ्नो श्रीमतीको जागिर छुटाएर त्यहाँको भन्दा कम सुविधा लिएर यहाँ आएको बताउँछन् । उनले भने, ‘मैले मुटु रोगको सेवा मोफसलमा पनि विस्तार गर्नुपर्छ भन्ने सोचले आएको हुँ ।’ राजधानीमा मुटुको शल्यक्रियाका लागि लामो पालो कुर्नुपर्ने बाध्यता रहेको बताउँदै उनले भने, ‘चितवनमा यो सेवा नियमित पाउँदा धेरै बिरामीले कम खर्चमा आफ्नै घर नजिकै उपचार पाउँछन् ।’

प्रा.डा. आचार्यको समूहले गंगालालमा तीन हजारभन्दा बढी मुटुको शल्यक्रिया गरिसकेको छ । उनले बङ्गलादेशबाट एमबीबीएस र एमडीपछि सिङ्गापुरबाट फेलोसिप गरेका हुन् ।

अस्पतालका अध्यक्ष न्यौपानेले यहाँ मुटुसम्बन्धी सबै खालको उपचार हुने बताए । अस्पतालमा कार्डियोलोजिसम्बन्धी प्रा. डा. श्यामराज रेग्मीसहितको टोलीले उपचार गर्ने उनले जानकारी दिए । उनले भने, ‘मुटुसम्बन्धी उपचारका लागि अब राजधानी वा विदेश जानु पर्दैन ।’ राजधानी गएर पनि उपचार गर्ने चिकित्सक र आवश्यक उपकरण यही व्यवस्थापन भएकाले राजधानी जान नपर्ने उनको भनाइ छ । अध्यक्ष न्यौपानेले भने, ‘काठमाडौँबाट पनि हामीकहाँ बिरामी आउन थालेका छन् । बाहिरबाट काठमाडौं गएकाले पनि भरतपुर ठीक छ भनेर आउने गरेका छन् ।’

अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले अस्पतालले सेवा विस्तार गर्दै आएको बताए । मुटुसँगै कलेजो प्रत्यारोपण, न्यूरो सर्जरीजस्ता जटिल उपचार सेवा पनि अस्पतालबाट दिइँदै आएको उनले जानकारी दिए । छिट्टै मिर्गाैला प्रत्यारोपण सेवा पनि सुरु गर्न लागिएको उनले बताए । राजधानीका अस्पतालमा लामो अनुभव लिएका विज्ञ चिकित्सक यहाँ आएसँगै जटिल किसिमका उपचार सहज बनेको उनको भनाइ छ ।

-रासस


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #चितवन मेडिकल कलेज, #डा. अल्का सिंह, #प्रा.डा. अनिल आचार्य, #प्रा.डा. हरिश्चन्द्र न्यौपाने, #मुटुको शल्यक्रिया


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ