२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशतिलोत्तमाका लक्षित सबै बालवालिकाले लगाए दादुरा–रुबेला खोप

तिलोत्तमाका लक्षित सबै बालवालिकाले लगाए दादुरा–रुबेला खोप


बुटवल—तिलोत्तमा नगरपालिकामा ११ हजार ७ सय १६ जना बालवालिकाले दादुरा–रुबेला खोप लगाएका छन् । यो राष्ट्रिय अभियानअन्तर्गत फागुन १ देखि ९ गतेसम्म तिलोत्तमा नगरपालिकामा खोप लगाइएको थियो ।

प्रदेश नं. १, २ र ५ मा यो अभियान फागुन महिनामा चलेको छ भने बाँकी प्रदेशमा चैत १ गतेबाट सञ्चालन भैरहेको छ । स्वास्थ्य कार्यालय, रुपन्देहीले जिल्लामा तीन चरणमा खोप अभियान सञ्चालन गरेकोमा तिलोत्तमासहित बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिकामा प्रथम चरणमा यो अभियान सञ्चालन भएको छ ।

साविक गाविसको आधारमा तय गरिएका खोप केन्द्रमार्फत तिलोत्तमाको स्वास्थ्य शाखाले खोप लगाउने व्यवस्था मिलाएको थियो । स्वास्थ्यकर्मीले ९ महिनादेखि ५ वर्षसम्मका बालवालिकालाई यो खोप लगाएका हुन् । यो खोपसँगै जन्मेदेखि ५ वर्षसम्मका १३ हजार ५ सय ६३ जना बालवालिकालाई पोलियो थोपासमेत खुवाइएको शाखा प्रमुख मोतीप्रसाद पौडेलले जानकारी दिए । तिलोत्तमामा लक्ष्यभन्दा बढी बालबालिकाले खोप तथा पोलियो थोपा लिएका हुन् । यहाँ १० हजार ८ सय १६ जना बालवालिकाले खोप तथा ११ हजार ५ सय ३४ जनाले पोलियो थोपा खुवाउने लक्ष्य राखिएको थियो । लक्षित उमेर समूहका सबै बालबालिकाले खोप लिएको सिनियर अहेव ईश्वरी पौडेलले बताए । कोही नछुटुन् भन्ने उद्देश्यले खोप लगाएका बालवालिकाको हातमा चिन्हसमेत लगाइएको थियो ।

यसअघि नियमित खोप लगाएका वा छुटेका सबै बालवालिकालाई यो खोप लगाइएको हो । स्वास्थ्य शाखाले नगरका सबै बालवालिकाले दादुरा–रुबेला विरुद्धको खोप लगाइसकेको जानकारी स्वास्थ्य कार्यालय भैरहवालाई गराएको छ । नेपालबाट सन् २०२३ सम्म दादुरा–रुबेला रोग निवारण गर्ने लक्ष्यका साथ राष्ट्रव्यापी रुपमा यो अभियान सञ्चालन भएको हो । बच्चा जन्मिएको ९ र १५ महिनापछि यो खोप लगाउनुपर्छ । नेपालमा २१ प्रतिशत बालबालिकाले पूर्ण खोप नलगाएको सरकारी तथ्यांक छ भने एक प्रतिशत बालबालिका पूर्णतः खोपबाट वञ्चित छन् ।

यस पटकको अभियानमा कुनै पनि बालबालिका नछुटुन् भन्ने उद्देश्यले तीन तहका सरकारले विशेष तयारी गरेका थिए । रुपन्देहीको सन्दर्भमा १५ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित रहेको सरकारी तथ्यांक छ । तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरेले यो अभियानमा लक्षित समूहका सबै बालबालिकालाई समेट्न स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका, सरोकारवाला सबै आ–आफ्नो ठाउँबाट खटिएको बताए ।

दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाइरसको कारणबाट हुन्छ । रुबेला पनि भाइरस (रुबेला भाइरस)कै कारणबाट हुने दादुराजस्तै देखिने संक्रामक रोग हो । यी रोगहरू सामान्यतयाः ५ वर्ष मुनिका बालवालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्ने तिलोत्तमा स्वास्थ्य शाखा प्रमुख मोतीप्रसाद पौडेल बताउँछन् । बालबालिकामा दादुराको संक्रमण भएमा गम्भीर प्रकारका जटिलताहरू हुनका साथै मृत्युसमेत हुन सक्छ । रुबेला रोगको असरहरु दादुरा भन्दा सामान्य प्रकारको हुन्छ तर गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्म हुने तथा गम्भीर प्रकारको जन्मजात हुने विकलांगहरू देखा पर्न सक्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

दादुरा रुबेला रोग लागेपछि यसको खास उपचार छैन । तर, यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग्ग राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै गई लक्षणअनुसार र जटिलताकोे उपचार गर्नुपर्दछ । रोगबाट बच्न नियमित खोप मार्फत् बालवालिकालाई ९ र १५ महिनाको उमेरमा दादुरा–रुबेला खोपको दुई मात्रा लगाउनु पर्दछ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ