२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेश२४ घण्टासम्म अस्पतालबाट किन उठेन कोरोना संक्रमित मृतकको शव ?

२४ घण्टासम्म अस्पतालबाट किन उठेन कोरोना संक्रमित मृतकको शव ?


बुटवल-रुपन्देहीको तिलोत्तमा—५, मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गुल्मी मदानेका कोरोना संक्रमितको शब चौबिस घण्टा बितिसक्दा समेत उठ्न सकेको छैन । प्रदेश सरकार र स्थानीय प्रशासनले समयमैं हस्तक्षेपकारी भूमिका निर्वाह नगर्दा अस्पतालबाट शव उठ्न नसकेको हो ।

जेठ १ गतेदेखि अस्पतालको आईसीयुमामा उपचार गराइरहेका ती बिरामीलाई सामाजिक विकास मन्त्रालयले विज्ञप्ति जारी गर्दै बिहीबार बिहान ७ बजे मृत घोषणा गरेको थियो । तर, तत्काल शवको व्यवस्थापन गर्न प्रदेश सरकारले पहलकदमी नलिँदा परिवारले मृतकका परिवारका सदस्यले जेठ ५ गते कोरोना देखिएपछि बिरामीले उपचार नै नपाएको दाबी गर्दै छानबिन र न्यायको प्रत्याभूति नभएसम्म शब नबुझ्ने अडान लिएका छन् ।

जवकी परिवारका आफन्तले बिरामीलाई अस्पतालमा ल्याएको अर्को दिनदेखि नैं अब निको नहुने भन्दै घर फर्काउन चाहेका थिए । तर, विशेषज्ञ चिकित्सकले बिरामीमा कोरोनाको स्पष्ट लक्षण देखिएकाले पिसिआर परीक्षण गराइनुपर्ने बताएपछि आफन्तले बिरामीलाई चाहेअनुसार घर लैजान सकेनन् । पिसिआरको नतिजा पोजेटिभ आएर बिरामीको मृत्यु भएपछि आफन्तले बाहानाबाजी गर्न थालेका हुन् । तर, कोरोना महामारीको कारण उनको ज्यान गैसकेको पुष्टि भैसकेको अवस्थामा कार्यविधिअनुसार उनको सदगत हुनुपर्नेमा त्यसमा प्रदेश सरकारले हस्तक्षेपकारी भूमिका निर्वाह गर्न नसकेको हो ।

बिरामीलाई बचाउन सकिँदैन भन्ने कुरा लगभग सबैले महसुस गरेकोले उनको पुष्टि नभइसकेको मृत्युको विषयमा अस्पताल सञ्चालकहरुको गलत सूचनाले सामाजिक विकास मन्त्री सुदर्शन बराल, तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरे अनाहकमा विवादमा तानिए । बिरामीको मृत्यु हल्ला फैलिसकेको अवस्थामा प्रदेश सरकार त्यसको व्यवस्थापनमा जुटिसक्नुपर्नेमा बिहीबार दिउँसोतिर प्रदेश सरकारका मन्त्री लिला गिरीले शव उठाउने कार्यमा सहयोग गर्न तिलोत्तमालाई आग्रह गरेका थिए ।

तर, तिलोत्तमाले शव व्यवस्थापनको काम सेनाले गर्ने कार्यविधि रहेकोले यसमा आवश्यक पूर्वतयारी आफूहरुले केही नगरेको जवाफ मन्त्रीलाई दिएका थिए । यद्यपि अन्य कामको संयोजन गर्ने जानकारी तिलोत्तमाले प्रदेशका मन्त्री र प्रमुख जिल्ला अधिकारीलाई गराएको थियो ।

समय घर्किदै गएपछि परिवारका आफन्तले विभिन्न माग राख्न थालेको अस्पताल स्रोतको भनाइ छ । कोरोनाको रिपोर्ट आएपछि चिकित्सकले बिरामीलाई नहेरेकोले ज्यान गएको र यहीँ कारण बिरामीको निधन भएको विषयमा अस्पतालले बुधबार कुरा फेरिरहेको अस्पतालमैं रहेका मृतकका भाइको दावी छ । बिरामीको ढाडबाट पानी निकाल्दा पनि केका लागि हो आफूहरुलाई कुनै जानकारी नदिएको भन्दै उनले ढाडबाट पानी निकालेपछि नै बिरामी बेहोस भएको बताए । ‘कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि डरले उपचारै भएन’ उनले भने, ‘बुधबारसम्म हेर्दै नहेरी आफैहरुले मृत्युको हल्ला चलाएका हुन् ।’

मृतकको ट्राभल हिष्ट्री शंकास्पद नरहेको पाइएपछि तिलोत्तमाका स्वास्थ्यकर्मीहरुले उनको दोस्रो परीक्षणको लागि स्वाव लिएका छन् । तर, त्यसको नतिजा आइसकेको छैन । प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बिहीबार नै शव उठाएर दाहसंस्कार गर्ने भनिए पनि व्यवस्थापकीय ढिलाइको कारण समस्या भएको बताए । बिहीबार मृतकको दाहसंस्कार बुटवलको मगरघाटमा गर्ने कुरा भएपनि घाट व्यवस्थापन समितिले नदिएपछि तिलोत्तमा–१४ को तिनाउ घाटमा गर्ने भनी सबै तयारी पूरा भएपनि रातिसम्म शब नै नआएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ