२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशफोहोरलाई मोहर बनाउँदैं भेरी अस्पताल

फोहोरलाई मोहर बनाउँदैं भेरी अस्पताल


नेपालगन्ज—अस्पतालहरुबाट निस्कने फोहोरको व्यवस्थापन चुनौतीपूर्ण हुन्छ । जसको प्रभावकारी रुपमा व्यवस्थापन नहुँदा संक्रमित फोहोरले रोगको संक्रमण फैलाउन सक्ने जोखिम हुन्छ ।

तर, पछिल्ला दिनहरुमा नेपालगन्जको भेरी अस्पतालले अस्पतालबाट निस्कने सबै किसिमका फोहोरहरुको प्रभावकारी रुपमा ब्यबस्थापन गरेर आय आर्जनसमेत गर्न थालेको छ ।

बिरामीहरुको उपचारका क्रममा अस्पतालका वार्ड, प्रयोगशाला र शल्यक्रिया कक्षमा फोहोर उत्पादन हुन्छ । उत्पादन भएको फोहोरमध्ये संक्रमित फोहोरलाई रातो र गैर संक्रमित फोहोरलाई निलो तथा हरियो बाल्टिनमा राखिन्छ । फोहर उत्पादन हुँदा साथ छुट्याएर छुट्टाछुट्टै बाल्टिनमा राख्दा व्यवस्थापन गर्न सहज हुन्छ ।

भेरी अस्पतालमा संक्रमित र गैर संक्रमित गरी दैनिक करिब २ सय ५० किलो फोहोर उत्पादन हुन्छ । उत्पादन भएको सबै फोहोरलाई अस्पताल परिसरमै रहेको स्वास्थ्यजन्य फोहोर मैला संकलन तथा प्रशोधन केन्द्रमा लगेर व्यवस्थापन गर्ने गरिएको अस्पतालकी सफाइकर्मी लक्ष्मी परियारले बताइन् ।

संक्रमित फोहोरलाई प्रशोधन केन्द्रमा रहेका अटोकेलेब मेसिनमा १ सय २१ डिग्री सेल्सियस तापक्रममा आधा घण्टासम्म पकाएर निर्मलीकरण गरिन्छ । निर्मलीकरणपछि ती फोहोरलाई छुट्टाएर अन्य फोहोरसँगै बिर्सजन गर्ने गरिएको अस्पतालको फोहोर प्रशोधन केन्द्रका प्राविधिक सल्लाहकार गंगा खत्रीले बताए ।

संक्रमणरहित प्लाष्टिक र कागजजन्य फोहोरलाई छुट्टाएर अलग्यै राखेर बिक्री गरिन्छ । सिरिन्ज, बिलेट, सिसाजन्य फोहोरका साथै शल्यक्रिया तथा प्रसुती कक्षबाट निस्कने मानव अंगलगायत बिभिन्न किसिमका फोहोरहरुलाई अस्पताल परिसर मै बनाइएका खाडलहरुमा पुरेर व्यवस्थापन गर्ने गरिएको छ ।

केहि वर्षसम्म निक्कै ठूलो समस्याका रुपमा रहेको अस्पतालजन्य फोहोर मैलाको प्रभावकारी रुपमा व्यवस्थापन गरेर अस्पताल प्रशासनले फोहोरका कारण हुने संक्रमणको जोखिम घटाउनुका साथै आय आर्जनसमेत गर्दै आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वद्री चापागाईले बताए ।

पुनः प्रयोगमा आउने प्लाष्टिक र कागजजन्य फोहरलाई बिक्री गरेर १० महिनामा करिब ३ लाख ५० हजार आम्दानी अस्पतालले गरिसकेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ