२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशवेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम

वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम


नेपालगन्ज—नेपालगन्जको वेष्टर्न अस्पतालले सिकिस्त बिरामीको उपचार सेवालाई प्रभावकारी बनाउन स्टाफ नर्सहरुका लागि क्रिटिकल केयर तालिम संचालन गरेको छ ।

नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेशन र क्रिटिकल केयर नर्सिङ एसोसियसन नेपालको समन्वयमा वेष्टर्न अस्पतालले उपत्यका बाहिर बेसिक फर नर्सिङ तालिम संचालन गरेको हो । तालिममा वेष्टर्न अस्पतालका २८ जना नर्सहरू सहभागी छन् ।

विश्वभरका करिब ६० देशमा एउटै ढाँचामा सञ्चालित यो तालिममा आईसीयुमा भर्ना भएका सिकिस्त बिरामीको रुटिङ केयर, भेन्टिलेटरलगायतका उपकरणहरु चलाउने तरिकादेखि सिकिस्त बिरामीको स्वास्थ्य अवस्थाका सूचकहरुको आधारमा तत्कालै दिनुपर्ने आकस्मिक सपोर्ट बारेमा सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराइन्छ ।

नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेशनका संस्थापक एवं त्रिवि शिक्षण अस्पतालको क्रिटिकल केयर विभागका प्रमुख डा. सुवासप्रसाद आचार्य, भेरी अस्पतालको क्रिटिकल केयर विभागका प्रमुख डा. पारस पाण्डेसहित त्रिवि शिक्षण, ह्याम्स, ग्रान्डीलगायतका अस्पतालको क्रिटिकल केयर विभागमा लामो समयदेखि कार्यरत १० जना प्रशिक्षकहरुले तालिम दिएका थिए ।

एक सय बेड क्षमताको वेष्टर्न अस्पतालले ६ बेडको एचडियु संचालनको गर्दै आएको छ । फागुन १५ गतेदेखि अस्पतालले ८ बेडको सुविधासम्पन्न लेभल ३ तहको आईसीयु संचालनमा ल्याउन लागेको छ । संचालन हुन लागेको आईसीयुमा भर्ना हुने हरेक बिरामीका लागि एक÷एक जना डेडिकेटेड नर्सबाट क्रिटिकल केयरसहितको उपचार सेवा दिइने अस्पतालले जनाएको छ ।

आईसीयुमा काम गर्ने नर्सहरुलाई दक्ष बनाउने उद्देश्यले तालिम संचालन गरिएको अस्पतालका प्रबन्ध निर्देशक डा. राहुल थापाले बताए । ०७९ कार्तिकको अन्तिम साता वेष्टर्न अस्पतालले अस्पतालमा कार्यरत स्टाफ नर्ससहित सम्पूर्ण कर्मचारीहरुका लागि बेसिक लाइफ सपोर्ट तालिम संचालन गरेको थियो । अस्पतालका सम्पूर्ण स्टाफहरुका लागि यस किसिमको तालिम संचालन गर्ने वेष्टर्न अस्पताल पश्चिम नेपालकै पहिलो अस्पताल हो ।

अत्याधुनिक उपकरण र दक्ष स्टाफ नर्ससहित चिकित्सकहरुको टिम बनाएर वेष्टर्न अस्पतालले नेपालगन्जमै काठमाडौं र लखनउका ठूला र सुविधासम्पन्न अस्पतालकै हाराहारीमा उपचार सेवा दिने प्रयास गरिरहेको डा. थापाले बताए ।

वेष्टर्न अस्पतालले अर्थाेपेडिक, ट्रमा, जनरल सर्जरी, प्रसुति तथा स्त्री रोग, नाक कान घाटी, जनरल मेडिसिन, म्याक्जिलो फेसियल सर्जरी र युरोलोजी सम्बन्धी उपचार सेवा प्रदान गर्दै आएको छ । अस्पतालले निकट भविष्यमा बाल रोग, मानसिक रोग, न्युरो सर्जरीका साथै डाइलासिस सेवा संचालनको तयारी गरिरहेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ