२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबाँकेमा आजदेखि १३ औं पटक हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइदैं

बाँकेमा आजदेखि १३ औं पटक हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइदैं


नेपालगन्ज—बाँके जिल्लामा आजदेखि १३ औं पटक हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु भएको छ । सुरुका केही दिनसम्म नजिकको स्वास्थ्य संस्था र खोप केन्द्रहरुमा औषधि खुवाइनेछ ।

र, त्यसपछि स्वास्थ्यकर्मीहरु घर—घरमा पुगेर आफ्नै निगरानीमा औषधि खुवाइने छ । बाँकेमा वि.सं. ०६७ सालदेखि निरन्तर हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान संचालन हुँदै आएको छ ।

हात्तीपाइले रोग निवारणका लागि लगातार ६ पटक औषधि खानु पर्छ । औषधि खुवाउने कार्यक्रम प्रभावकारी रुपमा संचालन हुन नसक्दा १२ पटक औषधि खुवाउँदा पनि बाँकेमा हात्तीपाइले रोग निवारण हुन सकेको छैन ।

वि.सं. ०६७ पहिलो पटक अभियान सुरु हुँदा बाँकेमा ९१ प्रतिशतले औषधि खाएका थिए । त्यसबेला नेपालगन्जमा औषधि सेवन गरेका केही ब्यक्तिको शंकास्पद मृत्यु र बिरामी भएपछि औषधिप्रति नेपालगन्जका वासिन्दाहरुमा हात्तीपाइले रोग विरुद्धको औषधि खान नमान्ने समस्या छ ।

हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेकै कारण मानिसको मृत्यु भएको होइन् भन्ने प्रष्टिकरण स्वास्थ्य कार्यालय र स्वास्थ्यकर्मीहरुले दिदैं आएपनि स्थानीय बासिन्दाहरुमा हात्तिपाइलेको औषधि खाँदा बिरामी परिने र मृत्युसमेत हुन सक्छ भन्ने भ्रम छ । त्यही कारण औषधि खानेको कभरेज बढ्न सकेको छैन । गत बर्ष बाँकेमा लक्षित जनसंख्याको ६८ प्रतिशत मात्रै औषधि खाएका थिए ।

गत वर्षको तथ्यांक अनुसार नेपालगन्ज उपमहानगरपालिकामा सबैभन्दा कम ५० प्रतिशत र जानकी गाउँपालिकामा सबैभन्दा बढी ८० प्रतिशतले औषधि लिएका थिए । नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर ३ र १६ का अधिकांश समुदायहरु औषधि खान मान्दैनन् । उक्त वडामा मधेसी तथा मुस्लिम समुदायको उल्लेख्य बसोवास रहेको छ ।

हात्तीपाइले रोग विरुद्धको औषधी खान नमान्ने सर्बसाधारण नागरिकको बानी, ब्यवहार परिवर्तन गराउन स्वास्थ्य कार्यालयले समुदायस्तरमा समूह निर्माण गरेर जनचेतनामूलक कार्यक्रम चलाइएको स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले बताइन् ।

हात्तीपाइले रोग विरुद्धको औषधि दुई वर्ष उमेर नपुगेका बच्चा, गर्भवती, ७ दिनसम्मका सुत्केरी, सिकिस्त बिरामी, मृर्गी भएका बिरामीले भने खानु हुँदैन् । बाँकेमा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानमा मुस्लिम धर्मगुरुहरुले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

स्वास्थ्य कार्यालय बाँके, नेपालगन्ज उपमहानगरपालिका र बाँके युनेस्को क्लबको समन्वय र सहकार्यमा बुधबार भएको मुस्लिम धर्मगुरु र मौलानाहरुसँग अभिमुखीकरण कार्यक्रम संचालन गरेको थियो ।

स्वास्थ्यकर्मीहरुले हात्तीपाइले रोगको अवस्था र औषधिको महत्वबारे जानकारी गराएपछि बाँकेका विभिन्न मस्जिद, मदरसा र अन्य धार्मिकस्थलमा कार्यरत सहभागी मौलाना, हाफिजलगायतका धर्मगुरुहरुले औषधि सेवन अभियानलाई सफल बनाउने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा सहभागी मौलानाहरुले बिहीबारदेखि सुरु हुने हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियानलाई सफल पार्न सबैलाई औषधि खान आग्रह गर्दै कर्मचारीसँगै मौलानाहरुले हात्तीपाइले रोग विरुद्धको औषधि खाएका थिए ।

स्वास्थ्य कार्यालयले धेरै अभिमुखीकरणहरु गरेकोले यस पटक औषधि गर्नेहरुको संख्या ८० प्रतिशत पुग्ने आशा गरिएको हात्तीपाइले रोग फोकल पर्सन दुर्गा गौतमले बताइन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ