२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशनेपालगन्ज उपमहानगरपालिकाद्वारा नगरवासीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु

नेपालगन्ज उपमहानगरपालिकाद्वारा नगरवासीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु


नेपालगन्ज—नेपालगन्ज उपमहानगरपालिकाले नगरवासीका लागि निःशुल्क एम्बुलेन्स सेवा दिन सुरु गरेको छ । समयमै अस्पताल जान नपाएर अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले नेपालगन्ज उपमहानगरपालिकाले वासिन्दाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा दिन सुरु गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका २३ वटा वडामध्ये १० वटा वडा मुख्य सहरी क्षेत्रभन्दा अलि टाढा छन् । ती क्षेत्रमा अझै पनि स्वास्थ्य सचेतनाको अवस्था नाजुक छ । ती क्षेत्रमा बसोवास गर्ने गर्भवती, अपांग, अशक्त, जेष्ठ नागरिकलगायत एम्बुलेन्स सेवाबाट लाभान्वित हुनेछन् ।

नगरवासीलाई निःशुल्क एम्बुलेन्स सेवा दिन उपमहानगरपालिकाले तीनदेखि पाँच वटा एम्बुलेन्स २४ घण्टा उपलब्ध गराउनेछ । निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न नेपालगन्ज उपमहानगरपालिकाले एम्बुलेन्स सेवा प्रदायकहरुलाई मासिक एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

संविधानले नागरिकलाई आधारभूत तहको स्वास्थ्य सेवा प्रत्याभूति गरेकाले त्यही व्यवस्थाअनुरुप एम्बुलेन्स सेवा निःशुल्क गर्न लागिएको हो । निःशुल्क संचालन हुने एम्बुलेन्समा अक्सिजनलगायत अत्यावश्यक स्वास्थ्य सामाग्री र तालिम प्राप्त चालकहरुको ब्यवस्था छ ।

निःशुल्क एम्बुलेन्स सेवाले प्रसुति व्यथा लागेपनि समयमै अस्पताल पुग्न नसक्दा गर्भवती र नवजात शिशुको मृत्यु हुने बिडम्बनापूर्ण अवस्थामा सुधार ल्याउने नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले बताए ।

एम्बुलेन्स सेवा संचालन भएपछि आपत्तकालीन अवस्थामा उपचारका लागि अस्पताल पुग्नुपर्ने गर्भवती, सुत्केरी, गरिब, विपन्न, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरु लाभान्वित हुने नेपालगन्ज उप महानगरपालिकाका मेयर प्रशान्त विष्टले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ