२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशडोजर लगाएर खाली गर्ने तयारीमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको सटर विवाद अदालतमा

डोजर लगाएर खाली गर्ने तयारीमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको सटर विवाद अदालतमा


बुटवल—प्रदेश ५ कै ठूलो अस्पतालका रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको सटर विवाद ‘अदालत’ पुगेको छ । करार सम्झौंता परिपालनाको माग गर्दै व्यवसायीले जिल्ला अदालत रुपन्देहीमार्फत अस्पतालविरुद्ध रिट निवेदन दिएपछि अबको निकास अदालतले दिने भएको हो ।

पाँच वर्षका लागि करार सम्झौता गरेका व्यवसायीहरुले सम्झौता भएको तीन महिना मै सटर भत्काउन लागिएको भन्दै अदालतमा निवेदन दर्ता गराएका छन् । केही दिनअघि मात्र प्रदेश सरकारको निर्देशनअनुसार अस्पतालले सटर खाली गर्न व्यवसायीलाई पत्राचार गरेको थियो । अस्पतालले पत्राचार गरेपछि सटरमा व्यवसाय संचालन गरिरहेका ३५ जना व्यवसायीले शुक्रबार जिल्ला अदालत रुपन्देहीमा रिट निवेदन दिएको बताएका छन् ।

व्यवसायीहरुले सम्झौता अनुरुप पाँच वर्ष व्यवसाय निर्वाध रुपमा संचालन गर्न पाउनुपर्ने मागसहित अदालतमा निवेदन दिएका छन् । निवेदनमा लुम्बिनी प्रादेशिक अस्पताल, मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण खनाल र अस्पताल विकास समितिलाई विपक्षी बनाइएको छ । यसअघि अस्पतालको सटरमा विभिन्न व्यवसाय संचालन गर्दै आएका ५१ जना व्यवसायीले प्रदेश सरकारको निर्णय खारेजीको माग गर्दै ज्ञापनपत्र समेत बुझाएका थिए ।

गत कार्तिक १८ गते प्रदेश मन्त्रिपरिषद् बैठकले अस्पतालका सटर मंसिर मसान्तसम्म खाली नगरे डोजर लगाएर खाली गर्ने निर्णय गरेको थियो । सटर हटाएर आकर्षक पर्खाल बनाउने र विशिष्टीकृत सेवासहितको अस्पताल बनाउने प्रदेश सरकारको लक्ष्य रहेको बताउँदैं आएको छ । ७३ वटा सटरबाट अस्पताललाई वार्षिक करिब नौ करोड रुपैयाँ आम्दानी हुँदै आएको थियो ।

अदालतमा परेको रिट निवेदनमाथि मंसिर ६ गतेका लागि पेशी तोकिएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ