२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशजेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परिक्षण

जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परिक्षण


बुटवल—जिल्लाको घोराही उप—महानगरपालिकाका जेष्ठ नागरिकहरुलाई मासिक २ पटक निःशुल्क स्वास्थ्य परिक्षण गरिने भएको छ । राप्ती आयुर्वेदिक चिकित्सालय तुलसीपुर दाङले घोराही उप—महानगरपालिका १५ उत्साह टोलमा रहेको जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा मासिक दुई पटक स्वास्थ्य परिक्षण गर्ने भएको हो ।

प्रदेश नम्बर पाँचको सामाजिक विकास मन्त्रालयअन्तर्गतको आयुर्वेदिक चिकित्सालय तुलसीपुर दाङले प्रत्येक महिनाको १३ र २८ गते जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य जाँच एक कार्यक्रमका बीच सुरुवात गरेको छ ।

दिवा सेवा केन्द्रमा आइतबार पहिलो दिन ५५ जना जेष्ठ नागरिकको स्वास्थ्य उपचार गरिएको उपचारमा संलग्न डाक्टर मदनकुमार बिसीले बताए । उपचारका क्रममा अधिकांश जेष्ठ नागरिकहरुका उच्च रक्तचाप, सुगर, ग्याष्टिक, पाइल्स, पिसाबको समस्या र कब्जियको समस्या देखिएको उनको भनाइ रहेको थियो ।

दिवा सेवा केन्द्रमा स्वास्थ्य जाँचसँगै बिरामीहरुलाई परामर्श र आयुर्वेदिक औषधी निःशुल्क रुपमा वितरण गरिएको छ । जेष्ठ नागरिकको उपचारमा डा. मदनकुमार विसी, डा. कैलाश न्यौपाने, डा. सभ्यता पन्थीलगायतको सहभागिता थियो ।

चिकित्सालयले सञ्चालन गर्ने गाउँघर सहरी क्लिनिक कार्यक्रमअन्तर्गत घोराहीमा एक वर्षसम्म यस प्रकारको स्वास्थ्य जाँचको कार्यक्रम सञ्चालन गरिएको जनाएको छ । चिकित्सालय प्रमुख डा. मदनकुमार विसीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरका नगर प्रमुख नरुलाल चौधरीले जेष्ठ नागरिकको सम्मानमा सरकार प्रतिबद्ध रहेको बताए । जेष्ठ नागरिकको स्याहार, माया, संरक्षण परिवारले मात्रै नभई सरकारले समेत गरेको भन्दै जेष्ठ नागरिकहरुलाई सम्मानका साथ बाँच्ने वातावरण बनाउन आवश्यक रहेको उनको भनाइ रहेको थियो ।

कार्यक्रममा दिवा सेवा केन्द्रका सल्लाहकार नारायणप्रसाद शर्मा, केन्द्रका अध्यक्ष पुरुषोत्तम खनालले जेष्ठ नागरिकहरु सीप, अनुभव र ज्ञानका खानी भएको भन्दै माया र संरक्षणको आशामा बसेको बताएका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ