२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १सेनाद्वारा मोरङ, झापा र उदयपुरमा ४ सय ४० बेडको क्वारेन्टाइन तयार

सेनाद्वारा मोरङ, झापा र उदयपुरमा ४ सय ४० बेडको क्वारेन्टाइन तयार


विराटनगर—विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमणलाई रोक्न प्रदेश १ को तीन जिल्लामा ४ सय ४० बेडको क्वारेन्टाइन निर्माण भएको छ । मोरङ, सुनसरी र झापाको विभिन्न तीन स्थानमा ४ सय ४० बेडको क्वारेन्टाइन तयार भएको हो ।

प्रदेश सरकारको गत फागुन २९ गते मन्त्रिपरिषद् बैठकबाट पारित कोरोना भाइरसको संक्रमण विरुद्धको कार्ययोजनामा मिक्लाजुङ र सुनसरीको श्रीलंका टापुमा क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो । प्रदेश सरकारले गरेको निर्णयअनुसार मिक्लाजुङ्ग गाउँपालिका– ५ टाँडीमा २ सय बेडको क्वारेन्टाइन बिहीबार निर्माण भएको नेपाली सेना पूर्वी पृतना इटहरीले जनाएको छ । यसअघि उदयपुरको कटारीमा २ सय र झापाको भद्रपुर नगरपालिका १० कलवलगुढीमा ४० बेडको क्वारेन्टाइन तयार भइसकेको छ ।

सेनाले टाढीमा १ सय वटा टेन्ट राखेर २ सय बेडको क्वारेन्टाइन बनाएको जनाएको छ । नेपाली सेना पूर्वी पृतना इटहरीकाअनुसार तत्कालको लागि २ सय बेड रहने छन् र आवश्यकताअनुसार थप गरिनेछ । डब्लुएचओको मापदण्डअनुसार क्वारेन्टाइनस्थल बनाएको जानकारी दिँदै सेनाले त्यसमा प्राविधिक र अन्य जनशक्ति व्यवस्थापन प्रदेश सरकारले गर्ने जनाएको छ ।

क्वारेन्टाइनमा बनाइएका प्रत्येक पालभित्र २/ २ जना अट्ने वेड राखिएको छ । पालको दूरी ५ मिटरको फरकमा छ । क्वारेन्टाइनबाहिर २५ वटा शौचालय र वाथरुम रहेको नेपाली सेनाको २ नम्वर बाहिनी धनकुटाका सहायक रथी यमप्रसाद ढकालले जानकारी दिए । सेनाले आफूसँग रहेको टेण्ट, वेडलगायतका सामग्री प्रयोग गरी टाढीमा क्वारेन्टाइनस्थल तयार पारेको हो । टाँडीस्थित नेपाली सेनाको सुर्यदल गणको परिसरभित्र करिव ४ विघा क्षेत्रफलमा यो क्वारेन्टाइनस्थल निर्माण भएको हो । त्यसैगरी मोवाइल चार्ज, वत्ती, पंखालगायतका आवश्यक सामाग्री पनि छुट्टाछुट्टै प्रयोग गर्ने व्यवस्था मिलाइएको छ ।

आवश्यक परेको खण्डमा सोही स्थानमा २ सय र सुनसरीको श्रीलंका टाप्पुमा थप २ सय क्षमताका क्वारेन्टाइनस्थल बनाउने सहायक रथी ढकालले बताए । ‘कोरोना संक्रमित आशंका गरिएका कुनै पनि व्यक्ति राख्न क्वारेन्टाइनस्थल तयारी अवस्थामा छ,’ सहायक रथी ढकालले भने । नेपाली सेनाले तयार पारेको चिकित्सकको टोली कोरोना आशंका गरिएका संक्रमितको स्वास्थ्य परीक्षण र उपचारमा परिचालन हुने पूर्वी पृतना सैनिक अस्पतालकी सेनानी डा. सरिता केसीले बताइन् । क्वारेन्टाइन स्थलमा खटिने दक्ष चिकित्सकको अभाव भएकाले प्रदेश सरकारसँग समन्वय गरिने उनले बताइन् ।

प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता कमल थापाले सरकारको निर्णयअनुसार क्वारेन्टाइन निर्माण भएको बताए । क्वारेन्टाइनमा अब औषधि, अन्य प्राविधिक सामान र स्वास्थ्यकर्मी खटाउन भने बाँकी रहेको छ । प्रदेश सरकारले संक्रमणको सूचना तत्काल प्राप्त गर्नेदेखि परीक्षण गर्ने, क्वारेन्टाइनमा राख्ने, आइसोलेसनमा राख्ने र औषधोपचार गर्नेसम्मका सबै र व्यवस्थापनको योजना तयार पारेको थियो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ