२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १अब कोशी अस्पतालमा कम्प्युटरबाटै ल्याब रिपोर्ट

अब कोशी अस्पतालमा कम्प्युटरबाटै ल्याब रिपोर्ट


विराटनगर –  विराटनगरस्थित कोशी अस्पतलामा कम्प्युटरराइज प्रणालीमा जडान भएपछि बिरामीलाई पहिलो पटक ल्याब (प्रयोगशाला)को रिपोर्ट कम्प्युटरबाटै दिन थालेको छ ।

उपचार तथा स्वास्थ्य परीक्षणका लागि आउने बिरामीलाई कम्प्युटरबाटै ल्याबको रिपोर्ट दिने प्रणालीको विकास गरेको हो । अनलाइनमार्फत ल्याबको रिपोट कम्पयुटरबाट प्रिन्टिेड दिन थालेपछि सहज भएको अस्पतालकी प्रयोगशाला प्रमुख एवम् कन्सलटेन्ट प्याथोलोजिष्ट डा. प्रतीक्षा कार्कीले बताइन् । उनका अनुसार यसअघि हातले लेखेर रिपोर्ट दिनुपर्ने अवस्था थियो ।

हातले लेखेर परीक्षण फारम भनुपर्ने, हास्तलिखित रिपोर्टमा अक्षर नबुझ्ने, काममा ढिलो हुने, परीक्षणका लागि सङ्कलन गरिएका नमूना हेरफेर हुने, रिपोर्ट वितरणका लागि भिन्दै कर्मचारी खटाउनुपर्ने, रिपोर्ट हराउने, एउटा बिरामीको रिपोर्ट अर्कोलाई पर्ने लगायतका समस्या यसअघि थिए । रिपोर्टलाई कम्प्युटरराइज प्रणालीमा लगेपछि सबै समस्याबाट मुक्ति मिलेको डा. कार्कीको भनाइ छ ।

अहिले हातले फराम भर्न नपर्ने र बिरामीको नामको बारकोट नम्बरलाई राख्नेवित्तिकै कम्प्युटरबाट प्रिन्ट रिपोर्ट प्राप्त गर्न सकिने जानकारी उनले दिइन् । सुरुमा बिरामीको नामको बारकोट स्टिकर कम्प्युटरबाट निकालेर टिकटमा राख्ने गरिएको छ । त्यसपछि कम्प्युटरबाट प्रिन्ट गरेर रिपोर्ट बिरामीलाई दिइन्छ ।

‘ल्याबमा रहेका अनेक कमजोरीलाई कम गर्न कम्प्युटराइज प्रणालीमार्फत बिरामीलाई रिपोर्ट उपलब्ध गराउन थालिएको हो,’ उनले भनिन्, ‘कम्प्युटरबाट निकालिने भएकाले बिरामीले प्राप्त गर्ने रिपोर्टमा अहिले कुनै पनि समस्या छैन ।’ कम्प्युटरबाट काम हुन थालेपछि बिरामीले सहज रूपमा रिपोर्ट प्राप्त गर्ने अवस्था बनेको डा. कार्कीको भनाइ छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलका अनुसार बिरामीको भीडभाड अत्यधिक हुने हुँदा यसअघि फारम भर्नकै लागि ६ जनासम्म जनशक्ति खटाउनुपर्ने अवस्था थियो । ‘अस्पतालमा ल्याबको फारम हातैले भर्नुपर्ने समस्या पुरानै हो । रिपोर्ट पनि हातले लेखेर नै बिरामीलाई दिइन्थो,’ उनले भने, ‘फारम भर्नकै लागि मात्रै धेरै जनशक्ति खपत हुन्थ्यो । जनशक्ति अपर्याप्त हुँदा आकस्मिक अवस्थाका बिरामीलाई तत्काल रिपोर्ट उपलब्ध गराउन सकिँदैन थियो ।’

कम्प्युटरबाट काम हुन थालेपछि ल्याबको चुहावट नियन्त्रणमा सहयोग पुग्नुका साथै जनशक्ति पनि कम खपत हुन थालेको मेसु खरेलले बताए । उनले सरकारी अस्पतालमै अत्याधुनिक मेसिन एवं उपकरणबाट धेरै खालका ल्याब परीक्षणको सुविधा उपलब्ध रहेको र सेवालाई थप विस्तार गर्ने योजना बनाइएको पनि बताए ।

प्रदेश १ कै सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था कोसी अस्पतालको प्रयोगशालामा दिसा, पिसाबसहित रगत सम्बन्धी सबै खालका परीक्षण हुने गरेको छ । उनका अनुसार हेमोग्लोबिन, मधुमेह, मृगौलासहित एचआईभी, हेपाटाइटिस, मलेरिया, कालाजार लगायतका विभिन्न संक्रामक रोगको परीक्षण कोसी अस्पतालबाट हुन्छ ।

त्यसबाहेक हिस्टोप्याथोलोजी, साइटोप्याथोलोजी, वायोप्सी, हेपाटाइटिस ‘बी’ र ‘सी’समेतका स्पेशल परीक्षण पनि हुने उनको भनाइ छ । डा. खरेलले बोनम्यारोलगायत हड्डीसँग सम्बन्धी जाँच र महिलाको पाठेघरको मुखमा क्यान्सर गराउने जीवाणु एवं भाइरसको डिएनए परीक्षणसमेत कोसी अस्पतालबाटै हुने बताए ।

कोशीमा दैनिक छ देखि सात सय जनासम्म बिरामीको ल्याब परीक्षण हुने गरेको छ । एउटै बिरामीको धेरै खालका जाँच गर्नुपर्ने हुँदा परीक्षण भने तीन हजारभन्दा बढी हुने गरेको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ