२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १सरकारले भुक्तानी नदिएपछि पूर्वका तीन ठूला अस्पतालले बन्द गरे स्वास्थ्य बिमा

सरकारले भुक्तानी नदिएपछि पूर्वका तीन ठूला अस्पतालले बन्द गरे स्वास्थ्य बिमा


विराटनगर—स्वास्थ्य बिमामार्फत बिरामीको उपचार गरेबापत सरकारले अस्पतालहरुलाई भुक्तानी गर्नुपर्ने रकम महिनौंसम्म नदिएपछि पूर्वी नेपालका ठूला निजी अस्पतालहरुले स्वास्थ्य बिमामार्फत हुने उपचार सेवा बन्द गर्ने भएका छन् । सोमबारबाट विराटनगरस्थित नोबेल शिक्षण अस्पताल, मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेज र झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालले एकैसाथ स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने निर्णय गरेका हुन् ।

आइतबारबाट तीन वटै अस्पतालले बिमा कार्यक्रम बन्द गर्ने भन्दै सूचना जारी गरेका छन् । आइतबार राति १२ बजेबाट बिमामार्फतको उपचार सेवा बन्द गरिने अस्पतालहरुले जनाएका छन् । स्वास्थ्य बिमा कार्यक्रममार्फत बिरामीको निःशुल्क उपचार गरेबापत स्वास्थ्य बिमा बोर्डले यी तीन अस्पताललाई १ अर्ब ४५ करोड रकम भुक्तानी गर्न बाँकी छ । नोबेलको ५५ करोड, विराटको ४६ करोड र बीएण्डसीको ४४ करोड रकम स्वास्थ्य बिमा बोर्डले भुक्तानी गरेको छैन ।

सरकारले अस्पतालहरुलाई बिमामार्फत उपचार गर्न लगाएर करोडौं रकम भुक्तानी नदिएपछि बाध्य भएर स्वास्थ्य बिमाको उपचार सेवा बन्द गर्नु परेको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले बताए । ‘सरकारले करोडौं रकम महिनौंसम्म भुक्तानी नदिदा अस्पतालहरु धरासायी बन्दै गएका छन् । कर्मचारीहरुलाई समयमै तलब खुवाउँन सकिएको छैन्,’ डा. शर्माले भने, ‘अन्य भुक्तानीहरु रोकिएका छन् । उपचार सेवा नै प्रभावित हुने अवस्था बनिसकेको छ । सरकार यो विषयमा गम्भीर बनेन । अरु उपाय नलागेपछि हामीले बाध्य भएर बिमा कार्यक्रममार्फत हुने उपचार रोक्ने निर्णय लिएका छौं ।’

आर्थिक बर्ष २०७९/८० को बजेट वक्तब्यमा २०७९ साउन १ गतेबाट सरकारी तथा सामुदायिक स्वास्थ्य प्रदायक संस्थाबाट मात्रै स्वास्थ्य बिमा कार्यक्रम उपलब्ध गराउने भनिएको थियो । तर, त्यसपछि अस्पतालहरुलाई कुनै आधिकारिक कुरा नआएकाले अब स्वास्थ्य बिमा बापत उपचार गर्दा त्यसको भुक्तानी प्राप्त हुने वा नहुने अन्योल भएकाले पनि बिमा कार्यक्रम बन्द गर्नु परेको डा. शर्मा बताउँछन् ।

सर्वसाधारण जनताको उपचारमा सरकार लापरबाह बन्दा निजी अस्पतालहरुले भटाभट स्वास्थ्य बिमाको उपचार सेवा बन्द गर्ने स्थिती बनेको विराट मेडिकल कलेजका सञ्चालक डा.ज्ञानेन्द्रमानसिंह कार्की बताउँछन् । ‘स्वास्थ्य बिमाले सर्वसाधरण जनताहरुलाई उपचारमा धेरै सजिलो भएको थियो । तर, सरकार जनताको मामिलामा गम्भीर नबन्दा अस्पतालहरुले उपचार रोक्नुपर्ने अवस्था बनेको छ,’ डा. कार्की भन्छन्, ‘सरकारले बिमाको भुक्तानी नदिँदा कर्मचारीहरुलाई तलब खुवाउन सकिएको छैन । कर्मचारीहरुले जागिर छोड्न थालिसके । हामीले बाध्य भएर बिमा उपचार रोक्नु परेको छ ।’

यता, बिएण्डसीका सञ्चालक दुर्गा प्रसाई जनताको उपचार सेवा प्रभावित नगरौं भन्दा भन्दै पनि केही उपाय नलागेपछि स्वास्थ्य बिमा कार्यक्रमको उपचार बन्द गर्नुपर्ने अवस्था बनेको तर्क गर्छन् । निजी क्षेत्रबाट सञ्चालित पूर्वका तीन ठूला अस्पताल, नोबेल, विराट र बिएण्डसीमा दैनिक हजारौं बिरामीले स्वास्थ्य बिमा बापत निःशुल्क उपचार गराउँदै आएका थिए । अब, यो सेवा प्रभावित बन्ने भएको हो ।

सरकारले प्रति परिवार वार्षिक ३ हजार ५ सय रुपैयाँ लिएर स्वास्थ्य बिमा गरी परिवारका पाँच जना सदस्यलाई वार्षिक १ लाख बराबरको निःशुल्क उपचारको व्यवस्था मिलाउँदै आएको छ । यसबाट सर्वसाधारणले स्वास्थ्य उपचारमा ठूलो राहत महसुस गरेका छन् । स्वास्थ्य विमा बापतको उपचारका लागि सरकारले देशभरका ४५० स्वास्थ्य संस्थासँग सम्झौता गरेको छ । तर, उपचार गरेबापत सरकारले स्वास्थ्य संस्थाहरुलाई दिनुपर्ने भुक्तानी समयमै नदिँदा यो सेवा प्रभावित बन्दै गएको हो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ